सिमेन्ट उद्योगको सिण्डीकेट
रोल्पा सिमेन्ट उद्योगमा चुनढुङ्गा, क्लिङकर तथा सिमेन्ट ढुवानीमा सिण्डीकेट लगाइएको छ । ढुवानीमा लगाइएको सिण्डीकेटले स्थानीयबासी मात्र आक्रोशित छैनन्, अन्य ढुवानी व्यवसायीहरु समेत रुष्ट हुन पुगेका छन् ।
जिल्लामा भएका सवै ढुवानी व्यवसायीलाई प्राथमिकता दिएर समानुपातिक रुपमा काम दिनुपर्नेमा एउटा मात्र निर्माण कम्पनीलाई बिना प्रतिस्पर्धा ढुवानीको जिम्मा दिनु उद्योगको भेदभावपूर्ण नीति हो । ढुवानीमा सिण्डीकेट मात्र नभएर उद्योगले यस अघि स्थानीयवासीरु तथा स्थानीय सरकारसँग गरेका सहमति सम्झौताहरु समेत कार्यान्वयनमा आउनसकेका छैनन् ।
जसका कारण पछिल्लो समयमा फेरि उद्योग र स्थानीयबीचको दूरी समेत बढ्न थालेको छ । स्थानीय उद्योगका विरुद्ध संघर्षमा उत्रने वातावरण समेत सिर्जना भएको छ । तर उद्योग सम्बद्ध अधिकारीहरु मौन प्रायः रहेका छन् ।
उद्योग स्थापना अघि स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिने, न्यूनतम वातावरणीय प्रदूषणका लागि उच्च प्रविधिको प्रयोग गर्ने, स्थानीयबासीले खरिद गरेका टिप्परलाई ढुवानीमा लगाइदिने, उद्योग प्रभावित क्षेत्रमा हरेक वर्ष कम्तिमा एकपटक विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गर्नेलगायतका विषयमा स्थानीयवासीसँग सम्झौता गरेको उद्योगले पछिल्लो लकडाउनकै समयमा एकपछि अर्को गर्दै स्थानीयवासीलाई रोजगारीबाट निकालिरहेको अवस्था छ ।
ध्वनि र धुलोका कारण वातावरणमा हरेक दिन नकारात्मक प्रभाव पर्दै आएको छ । मानव स्वास्थ्यमा गम्भीर असर देखिन थालेका छन् । त्यसैगरेर स्थानीय विकास करको विषयमा समेत उद्योग सम्बद्ध अधिकारीहरुले आलटाल गर्दै आएका छन् । राजधानीमा एउटा पार्टीका शक्तिशाली व्यक्तिको आडमा स्थानीयवासीसँग गरेका सहमति सम्झौताहरु लत्याउनु उपयुक्त होइन । यसले उद्योगलाई जीवन्त बनाउन असहज हुने छ ।
उल्लिखित सहमति सम्झौताको कार्यान्वयन त छँदैछ, तर पछिल्लो समयमा उद्योगका जिएमबाटै स्थानीय भान्से महिलामाथि यौन दुव्र्यवहारको प्रयास अझै घिनलाग्दो अवस्था हो । महिलामाथिको दुव्र्यवहारले उद्योगलाई थप संकटमा पारेको छ । उद्योग एक जना व्यक्तिको स्वार्थ र हठमा सञ्चालन हुनु हुँदैन । यसमा राज्यको पनि प्रशस्तै लगानी रहेको छ ।
उद्योगसम्म सहज रुपमा सडक यातायातको पहुँचसँगै विद्युत सेवाका लागि पनि राज्यले करोडौँ रुपैयाँ लगानी गरेको छ । यो अवस्थामा पनि उद्योग सरकारी नीतिनियमको पालना गर्दै सञ्चालन हुनु आवश्यक छ । उद्योग सञ्चालनका सन्दर्भमा स्थानीयवासीसँग भएका सम्झौताहरु कार्यान्वयन गर । यौन दूराचारीलाई कानुनी कारवाहीको दायरामा ल्याउ तथा उद्योगमा चुनढुङ्गा उत्खनन् एवं वितरणमा लगाइएको सिण्डीकेट तत्काल हटाऊ ।
