ब्रत वा उपवासको विज्ञान र फाइदाहरू
सुप्रिया मां
ब्रत वा उपवास हाम्रा लागि कुनै नयाँ कुरा होइन । यो विषय हामीले जानेको र जीवनमा प्रयोग गरिरहेको कुरा हो । ब्रत वा उपवास भन्नेबित्तिकै कुनै कुरा बार्नु, छोड्नु, प्रतिज्ञा गर्नु वा कुनै कुरा ग्रहण गर्नु भन्ने बुझिन्छ । ब्रत विभिन्न तरिकाले गर्ने चलन छ । धर्म, संस्कार, रीतिरिवाज र उद्देश्य अनुसार ब्रतका किसिम पनि आ–आफ्नै र फरक–फरक प्रकारका हुन्छन् ।
कुनै निराहार वा पानी पनि नखाने ब्रत हुन्छ । कुनै फलमात्र खाने फलाहार ब्रत हुन्छ । कुनै एक छाक खाने, कुनै नबोल्ने ब्रत, कुनै नून मात्र छोड्ने जस्ता धेरै प्रकारका ब्रतहरु हुन्छन् । त्यस्तै कुनै बाह्र घण्टाको ब्रत हुन्छ भने कुनै धेरै वर्षसम्म गर्ने ब्रतहरु पनि हुन्छन् । विषेश गरी पुरुषहरुभन्दा महिलाहरु धेरै ब्रत बसेको पाइन्छ ।
देवीदेवतालाई खुशी बनाएपछि उनीहरुले हामीलाई फल दिन्छन् भन्ने धेरै मानिसहरुको धारणा छ । जस्तै लक्ष्मीलाई खुशी बनाएपछि ऐश्वर्य प्राप्त हुन्छ, देवीलाइ खुशी बनाएपछि शक्ति प्राप्त हुन्छ र गणेशलाई खुशी बनाएपछि कार्यसिद्धि हुन्छ भन्ने धारणा छ र यसैबाट प्रेरित भएर ब्रत बस्ने गरेको पाइन्छ । तर ब्रतले के प्रभाव पर्यो, हाम्रो इच्छा र ब्रत बस्नुको उद्देश्य पूरा भयो कि भएन र ब्रत बस्नुको विज्ञान के हो भनेर त्यतातिर त्यति ध्यान दिएको पाइँदैन ।
कतिपय मानिसहरु अन्धविश्वासको रुपमा देवीदेवताले श्राप देलान् कि भन्ने डरले, अरुको देखासिकी गरेर वा अरुको करकापमा परेर पनि ब्रत बस्ने गरेको पाइन्छ । ब्रत गर्दा देवीदेवता वा ईश्वर खुशी हुन्छन् कि हुँदैनन् ? हाम्रा उद्देश्य र कामनाहरु पूरा हुन्छन् कि हुँदैनन् ? देवीदेवताले हामीलाई फल दिन्छन् कि दिँदैनन् ? ब्रत गर्नाले हामीलाई के फाइदा हुन्छ र ब्रतको विज्ञान के हो ? यो हाम्रो आजको चिन्तन्को विषय हो ।
यहाँ ब्रत बस्नुको आफ्नै विज्ञान छ । वास्तवमा ब्रत मनोविज्ञान, स्वास्थ्य विज्ञान र संकल्प शक्तिसँग सम्बन्धित् छ र ब्रतका आफ्नै किसिमका फाइदाहरु पनि छन् । हाम्रा गुरुहरु र ऋषिमुनिहरुले ब्रतलाई मनोविज्ञान, स्वास्थ्यविज्ञान र संकल्प शक्तिलाई आधार मानेर बनाएका हुन् ।
कसैले आशीर्वाद दिएर इच्छा पूरा हुने होइन, यो हामीभित्रको कुरा हो । ब्रतभित्र ठूलो विज्ञान लुकेको छ र ब्रतले हाम्रा सबै इच्छाहरु र उद्देश्यहरु पूरा हुन पनि सक्छन् । यो कुनै अन्धविश्वास होइन, यो सत्य कुरा हो । तर हाम्रा सबै इच्छाहरु पूरा हुनु र नहुनुमा सबै हाम्रो दृढ इच्छाशक्ति र हाम्रो मनस्थिति कस्तो छ त्यसमा भर पर्दछ ।
आकर्षणको नियम र मनोविज्ञान
अस्तित्वको एउटा चमत्कारी र रहस्यमय नियम छ । यसलाई आकर्षणको नियम पनि भनिन्छ । सारा ब्रह्माण्ड र अस्तित्व यही आकर्षणको नियमले सञ्चालन भएको हुन्छ । यो आकर्षणको नियमले के भन्छ भने तीब्र इच्छाशक्तिले त्यो ऐछिक वस्तुलाई आफूतिर आकर्षण गर्छ ।
हाम्रो ध्यान जतातिर जान्छ वा हामी जुन कुरालाई बारम्बार स्मरण गर्दछौँ त्यो कुरा हामीतिर खिचिएर आउँछ । हाम्रो दृढ इच्छाशक्ति र बारम्बार स्मरणले त्यो कुरालाई हामीतिर खिचेर ल्याउँछ । मैले ब्रत गरेको छु र मैले त्यो कुरा प्राप्त गर्छु भन्ने पूर्णविश्वासले हाम्रो इच्छाशक्तिलाई तीब्र गरिदिन्छ र त्यो कुरा पूरा हुने सम्भावना अत्यधिक बढाउँछ ।
यहाँ हामीले आकर्षणको नियम जाने पनि नजाने पनि हामीलाई आकर्षणको नियमले काम गरिरहेको हुन्छ र कुनै पनि कुरामा दृढ इच्छाशक्ति र पूर्ण विश्वास छ भने त्यो कुराहरु पूरा हुँदै जान्छ । ब्रत बस्दा पनि तीब्र इच्छा र पूर्ण विश्वासका साथ कुनै उद्देश्य राखेर हाम्रो अवचेतन मनको गहिराईसम्म पुग्ने गरी बारम्बार त्यो कुरा मलाई हुन्छ वा पुग्छ भनेका छौँ भने त्यो इच्छा पूरा हुन्छ । यहाँ आकर्षणको नियमले काम गरेको हो ।
यो हाम्रो मनको विश्वास र दृढ इच्छाशक्तिमा भर पर्छ । त्यसैले ब्रत एउटा मनोविज्ञानमा आधारित छ । यहाँ कुनै देवीदेवताहरु खुशी भएर हामीलाई फल प्राप्त हुने होइन ।
जस्तै म स्वस्थ हुन पाउँ भन्ने कामना गरेर हामीले ब्रत बसेका छौँ भने त्यो स्वस्थ हुनका लागि कस्तो खाने कुरा छोड्ने भनेर ब्रतको विधि तय गरिन्छ । कुन देवीदेवतालाई पुकारने र कसको आरधाना गर्ने भनेर देवीदेवता पनि छानिएको हुन्छ, किनकि देवी देवताको नाम लिएर मनलाई दृढ विश्वास बनाउन सजिलो हुन्छ भनेर त्यसो गरिएको हो । यो सबै मनोविज्ञानमा आधारित कुरा हो ।
स्वास्थ्यमा नराम्रो असर गरेको खानेकुरा छोड्दै जाँदा र भित्रको इच्छाशक्ति तीव्र हुँदै गयो भने आकर्षणको नियमले काम गर्न थाल्छ र व्यक्ति विस्तारै स्वस्थ हुँदै आउँछ । यहाँ शरीर, मन र भाव सबै एकैतिर लागेको हुन्छ र तीनैवटा कुराले एउटै कुरा स्वास्थ शरीरको चाहना गरिरहेको हुन्छ ।
यहाँ खाने कुरा पनि त्यस्तै छानिएको हुन्छ र विस्तारै त्यो स्वस्थ हुने इच्छा पूरा भएर आउँछ । यो नै ब्रत बस्नुको मनोविज्ञान हो ।
संकल्प शक्ति र मनोबल
ब्रतमा अर्को महत्वपूर्ण कुरा छ संकल्पको विज्ञान । संकल्पको शक्तिलाई बढाउनका लागि ब्रतका नियमहरु बनाइएका हुन् । संकल्पले हामीलाई सबैतिर सफल र समृद्ध हुन सहयोग गर्छ । सफलतामा सबैभन्दा ठूलो बाधा भनेको मन बारम्बार विकल्पमा गइरहनु पनि हो । संकल्पित् नभएको मनले हामीलाई कतै पनि पुराउँदैन ।
सफल हुनका लागि मन संकल्पित्, एकाग्र र एकीकृत हुनु अत्यन्त आवश्यक छ । एउटा काम सुरु ग¥यो त्यसलाई बीचैमा छोड्यो, फेरि अर्को काम सुरु गर्यो त्यसलाई पनि बीचमै छोड्यो, यस्तो गर्ने हो भने मानिसले जीवनमा केही पनि गर्न सक्दैन ।
ब्रतले हामीलाई संकल्पित् हुन सहयोग गर्छ । जस्तै आज म ब्रत गर्छु र यस्तो खाने कुरा बाह्र घण्टासम्म खान्न भनेर त्यसमा अडिक भएर रहन सक्यौँ भने यो कुरा पूरा भएपछि आत्मविश्वास र मनोबल बढ्छ र त्यो भन्दा ठूलो कुरा पूरा गर्नसक्ने क्षमता बन्दछ । यसरी ब्रतको समय बढाएर आफ्नो संकल्पको क्षमतालाई बढाउँदै जान सकिन्छ ।
ब्रतमा अडिक भएर तोकेको समयसम्म नखाइकन मनलाई रोक्नसक्ने मानिसले जीवनमा संकल्पित र अडिक भएर जस्तोसुकै काम पनि पूरा गर्नसक्छ । आज बाह्र घण्टासम्म अडिक भएर कुनै कुरा छोड्नसकेको व्यक्तिले भोलि चौबीस घण्टासम्म पनि छोड्नसक्छ र त्यसो गर्दै लामो समयसम्म पनि छोड्नसक्ने क्षमता बन्दछ ।
यसो गर्ने हो भने ठूला–ठूला आँटेका कामहरु पनि हामी सजिलैसँग संकल्पित् भएर गर्न सक्ने क्षमता बन्दछ । ब्रतकै नाममा भए पनि संकल्पित् हुने बानी बसाल्ने हो भने हाम्रो मनोबल र आत्मविश्वास बढ्दै जान्छ र मन दृढ एकीकृत हुन्छ । त्यस्तो दृढ र एकीकृत भएको मनले हामीलाई जीवनमा सफल र समृद्ध हुन सहयोग मिल्छ ।
ब्रतको विज्ञानलाई प्रयोग गरेर हामीले आफ्ना अवगुणहरुलाई छोड्ने र सत्गुणहरुलाई सजिलैसँग धारण गर्न पनि सकिन्छ । हाम्रो सफलता, खुशी, शान्ति र आनन्दलाई बाधा पु¥याउने सबै नराम्रा बानीहरुलाई ब्रतको प्रयोग गरेर त्याग्न सकिन्छ ।
मदिरा, चुरोट, रिसाउने बानी, नराम्रो बोल्ने बानीजस्ता कुराहरुलाई छोड्ने ब्रत पनि बस्न सकिन्छ । जस्तै आज एक दिनलाई म चुरोट खान्न भनेर संकल्पित् भएर एक दिनका लागि चुरोट छोड्ने ब्रत बस्ने र भोलिपल्ट विहान फेरि एक दिनका लागि छोड्ने ब्रतको संकल्प गर्ने हो । यसो गर्दै गएर एक्काइस दिनसम्म गर्न सकियो भने त्यो स्वभावमै परिवर्तन हुन्छ र हाम्रो त्यो चुरोट खाने बानी सधैँका लागि छुट्दछ ।
स्वस्थ रहनका लागि ब्रत
शरीर स्वस्थ रहनका लागि खाएर मात्र हुँदैन, खाएको राम्रोसँग पचेको पनि हुनुपर्छ र शरीरमा रहेको विजातीय तत्व शरीरबाट बाहिर निस्कनु पनि पर्छ । खाएको कुराहरु लामो समयसम्म शरीरमा रहन गयो भने त्यो विष बन्दछ र हामीलाई त्यसले रोगी बनाउँछ । एकदिन ब्रतकै नाममा भए पनि कुनै पनि कुरा नखाने हो भने शरीरमा रहेको विजातीय तत्व बाहिर निस्कन सहयोग गर्छ र शरीर स्वस्थ बन्दछ ।
नखाएर वा कम खाएरभन्दा पनि मानिसहरु धेरै खाएरै विरामी भएको पाइन्छ । हप्तामा एक दिन ब्रत बस्नु स्वास्थ्यका लागि लाभदायक छ । सोह्र घण्टासम्म केही पनि नखाइकन पानी मात्र पिएर ब्रत बस्ने हो भने हाम्रो शरीरमा राम्रा खालका हर्मोनको बृद्धि हुन्छ भन्ने कुरा अनुसन्धानले पनि पत्ता लगाएका छन् ।
ब्रतको विज्ञानलाई जानेर, यसको प्रयोग गर्ने हो भने स्वस्थ रहन, आफ्ना इच्छाहरु पूरा गर्न, संकल्पित् भएर सफल र समृद्ध हुन र आफ्ना अवगुणहरुलाई त्यागेर सत्गुणहरुलाई धारण गर्दै खुशी, सफल, स्वस्थ र आनन्दित् जीवन जीउन पनि सकिन्छ । आजलाई यति नै, हरि ॐ !
सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ
