Goraksha

National Daily

एनटिभी कोहलपुरले प्रदेशका गतिविधिलाई प्राथमिक्ता दिने

कोहलपुर,३१ असार । प्रादेशीक टेलिभिजनको रुपमा रहेको एनटिभी कोहलपुरले साउन १ गतेदेखि दैनिक रुपमा समाचार प्रसारण सुरु गर्ने भएको छ । एनटिभी कोहलपुर स्टेशन प्रमुख निराजन खनालले विज्ञप्ति निकालेर साउन १ गतेदेखि दैनिक रुपमा दिउँसो ३ बजे, ५ बजे र साँझ ७ बजे समाचार बुलेटिन प्रशासरण सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

एनटिभी कोहलपुरले एक गतेदेखि नै दैनिक रुपमा बिहान ६ बजेदेखि ९ बजेसम्म विहानी शो मर्निङ मिक्स कार्यक्रम सुरु गर्न थालेको जनाएको छ । एनटिभी कोहलपुर प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको प्रादेशिक प्रसारक संस्थाको रुपमा रहेकाले तीन वटै प्रदेशका गतिबिधिलाई उच्च प्राथमिकता दिने स्टेशन प्रमुख खनालले बताए ।

त्यसैगरी जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारसंगको सहकार्यलाई समेत अघि बढाएर एनटिभी कोहलपुरलाई ३ वटा प्रदेशका जनताको सबैभन्दा नजिकको प्रसारण संस्थाको रुपमा उभ्याउने अठोट नेपाल टेलिभिजन व्यवस्थापनको रहेको विज्ञप्तीमा जनाइएको छ ।

यसैगरी समाचारमूलक कार्यक्रम, यहाँका विभिन्न भाषाभाषिका कार्यक्रमदेखि स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, बाल कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरु क्रमशः सुरु गरिने पनि एनटिभी कोहलपुरले जनाएको छ ।

अबदेखि एनटिभी कोहलपुरका प्रशासरण Mobile Apps, You Tube, Facebook लगायतका डिजिटल प्लेटफर्ममार्फत पनि हेर्न सकिने छ विज्ञप्तीमा भनिएको छ । २०५३ सालमा नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रको स्थापना भएको थियो ।

२०६१ साल फाल्गुन १३ गतेदेखि द्वन्दको कारणले रोकिएको प्रशारण २०७४ बैसाख देखि पूनः सुरु भएको हो । मुलुकको संघीय संरचना अनुसार नेपाल टेलिभिजन कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रलाई यसै महिनादेखि एनटिभी कोहलपुरको नामबाट प्रादेशिक च्यानलका रुपमा रुपान्तरण गरिएको छ ।