नारायणप्रसाद श्रेष्ठ
मानिसको आचरण उसको व्यवहार र कर्मबाट मुखरित भएको हुन्छ । ऊ जे चाहन्छ त्यही सोच र चिन्तनमा हरहमेसा तल्लीन रहिरहन्छ । चर्मदृष्टिको सत्य नै सबै हो भन्ने मानसिकता मानवीय विशेषता नै देखिन्छ । उसले आफूले जहाँबाट जे चीज वस्तुको प्राप्ति गर्दछ, देख्दछ, भोग्दछ, प्रयोग गर्दछ त्यो नै उसका लागि सत्य मानिन्छ ।
आँखाले देखेको सत्यबाट नै आनन्दको अनुभूति हुन्छ भन्ने मान्यता उसले राखेको हुन्छ । उसले आफूले नदेखेको अन्तरसत्यलाई विश्वास राखेको हुँदैन । ऊ केवल आफूअनुकूल वातावरणमा हुर्कन, बढ्न, खेल्न र मनोरञ्जन गर्न चाहिरहेको हुन्छ । ऊ चाहन्छ उसले गरेको हरेक कर्मले प्राप्तिलाई चुमोस् । उसलाई उसको वरिपरि भएको दृष्टिकोण र परिवेशले उसको चाहना अनुकूल गन्तव्य निर्धारण गरिरहोस् ।
यति मात्र होइन, मानव आफू अनुकूलको सामाजिक वातावरण पनि बनोस् भन्ने चाहन्छ र त्यही आशक्तिमा रमाएको हुन्छ । भौतिकवादी चिन्तनभित्र प्रदर्शन भएका क्षणिक आशक्ति प्राप्ति नै उसको उद्देश्य हुन्छ । यसरी मानवीय आचरण मुखरित भइरहेको पाइन्छ ।
ऊ न त आफ्ना भावनाविपरित अन्य शक्ति छ भन्ने स्वीकार्न तयार हुन्छ न त कुनै अदृश्य शक्तिले आफू परिचालन रहेको स्वीकार्न सक्छ । ऊ जे देख्छ, सुन्छ त्यसैमा मात्र विश्वास राखेको हुन्छ । यसरी मानव सोच र चिन्तन क्षणिक स्वार्थमा लुकेको मायाको जालोमा जेलिएको छ । कुवाँमा बस्ने भ्यागुतोले कुवाँ नै सबै हो भन्ने सोच राखेझैँ मानव आफू स्वयम् विवेकशील भएर पनि क्षणिक स्वार्थमा लुटपुटिई आफ्नै स्वार्थलाई सर्वोपरी ठानेको हुन्छ ।
चर्मदृष्टि नै सबै हो भन्ने भ्रममा परेको हुन्छ । चर्मदृष्टि वाहेक अन्य कुनै केही छ भन्ने कुरातर्फ उसको सोच कमजोर भएको हुन्छ । देखेको सत्य नै यथार्थ ठान्ने सोच र मानवीय चिन्तनले वर्तमान परिवेश गुज्रिरहेको छ । अदृश्यशक्तिले आफू परिचालन भएको कुरा मानिस स्वीकार्न तयार नभइरहेको अवस्था छ । थोरै विश्वास राखे पनि भरोषा राख्न ऊ हिच्किचाउँछ ।
एउटा उदाहरण– ग्रामीण बस्तीमा बस्ने एकजना किसान आफ्नो परिवारसँग खेतीपाती र काम धन्दामा जीवन बिताइरहेका थिए । उनीमा कुनै किसिमको चिन्ता र भय पनि थिएन । खेतमा काम गर्दै गरेको अवस्थामा एक दिन उनीहरुले कुनै पुरुषलाई दुईपाङ्ग्रे वस्तुमा चढेर सररर घुमेको देखेछन् । यो दृश्य देखेपछि ती किसान दम्पत्तिमा आफू पनि सरर घुम्ने रहरको मोह बढ्न थालेछ ।
खेतबारीको काम सकी घरमा आई ती दम्पत्तिले देखेको दृश्यलाई सम्झँदै सोचेछन्– त्यो मानिस कसरी दुई पाङ्ग्रेमा चढेर घुमेको होला ? यसरी घुम्न पाए त हामी पनि धेरै आनन्दित हुने थियौँ । यसप्रकारको चिन्तन बढेपछि श्रीमतीले श्रीमानलाई भनिछन् – त्यो मानिस दुईपाङ्ग्रेमा कसरी सरर घुमेको होला ? यो त कुनै चमत्कार नै हो । यो कुरा सुनेपछि लोग्नेलाई पनि सुरुदेखि यो अचम्म लागेको रहेछ र भनेछन् – म त्यो कुरा पत्ता लगाउँछु । राति यति कुरा भएपछि भोलिपल्ट विहान लोग्ने त्यो चीजको खोजमा हिडेछन् । श्रीमती घरधन्दा काममा व्यस्त रहिन् । यसपछि दुवैको चाहना बढ्दै गयो ।
पछि त्यो वस्तुको नाम साइकल रहेछ र यो बजारमा खरिद गर्न पाइने कुरा श्रीमानले थाहा पाएछन् । वस्तुको जानकारी पश्चात त्यो प्राप्तिप्रति दुवैको चाहना बढ्न थालेछ । त्यसपछि हिजोसम्म जुन आनन्द थियो त्यो विस्तारै हट्न थाल्यो । उनीहरु छिन्–छिनमा यो कुरा सम्झँदै यो कसरी प्राप्त हुन्छ भन्नेतर्फ चिन्तित हुन थाले । यसप्रकार दुवैको आशक्ति र चिन्तनको प्रतिफल घरमा साइकल आएछ ।
जुन दिन घरमा साइकल आयो, त्यस दिन उनीहरुमा निकै आनन्दको अनुभव हुन पुग्यो । यो कसरी सञ्चालन गर्ने ? यो कुराको खोज गरी दुवै यसमा रमाउन पनि थाले । दुवैको चाहनाले भौतिक विलासी वस्तु साइकल त घरमा ल्याए, त्यसपछिका दिनहरुमा उनीहरुको चिन्ता झन बढ्न थाल्यो । साइकलपछि उनको मोह मोटरसाइकलमा गयो, त्यो पनि घर आयो तर पनि उनीहरुको चाहना पगेन । यसैक्रममा गाडी खरिद गरियो ।
मोटरमा हिड्दा समेत उनीहरुको ढाडकम्मर दुख्नथाल्ने परिस्थिति देखाप¥यो । एकदिन श्रीमतीले श्रीमानलाई भनिन् – हामीले साइकल, मोटरसाइकल र गाडीमा समेत अनुभव ग¥यौँ, अब हजाइजहाजमा पनि अनुभव गर्नुपर्छ । यति कुरा गरेपछि एक घण्टाको हवाई यात्रामा तिनी दुवै उडेछन् । दैवसंयोग त्यसदिन वर्षा भएछ ।
जहाज तलमाथि गर्दै उडेछ । यसरी तलमाथि गर्दा उनीहरु निकै डराएछन् । नसमाउने हाँगा छ न केही छ । यो खस्यो भने हामी के गरौँला ? यस्ता कुराहरुले उनीहरुको मनमा वेचैनी बढ्न थालेछ । जब जहाज जमिनमा ल्याण्डिङ ग¥यो तब बल्ल बाँचियो । यो त खतरा रहेछ भनी दुवै बुढाबूढी घर फर्किए र सल्लाहसाउती गरे । आनन्द त पसिनामा पो हुँदोरहेछ । भौतिक सुख भनेको डर, त्रास, भय, आशंका र आशक्ति रहेछ ।
वास्तवमा हामीले जुन चाहना बढाउँदै गयौँ त्यसले हामी स्वयम्लाई वेचैनी बनायो । त्यसपछि ती दम्पत्तिले भौतिक वस्तुप्रतिको मोह परित्याग गर्ने संकल्प गरेछन् । हामीसँग जे छ त्यसैमा हामी रमाउनुपर्छ भनी आफूलाई निश्चिन्त गरेछन् । हाम्रो दुःखको कारण भनेको हाम्रा असीमित चाहना रहेछन् । त्यसैले अब उप्रान्त बढी आशक्ति देखाउन उपयुक्त हुँदोरहेनछ । यति भनी यी दुवै दम्पत्ति खुशी र आनन्दले रहन थालेछन् ।
कहानी यत्ति हो । हुन त उद्देश्य के लिनु उडि छुनु चन्द्र एक भनेझै लक्ष्यबिना मानव जीवन सार्थकता हुँदैन र चाहना नराखेसम्म उपलब्धि पनि हुन सक्दैन पनि भनिन्छ । तर के यही यथार्थ हो त ? अर्को कुरा के चाहना राख्दैमा सबै पूर्ति भइरहेको छ ? के प्रत्येकले आफ्नो चाहना पूरा गरेका छन् ? त्यो पनि हुँदैन । त्यसैले बुझ्नुपर्ने विषय भनेको हाम्रो चर्मदृष्टिले देखेको सत्यलाई मात्र सत्य मान्ने हाम्रो प्रवृत्ति त कतै गलत छैन ? हामी दृष्टिदोषी त छैनौँ ? कतै हामीले हाम्रो जन्मको सार्थकता स्वयम् भुलेका त छैनौँ ?
तसर्थ हामील हाम्रो भित्री मनको दैलो उघारी मानव चोला रचनाकारको रचनाभित्र परिचालित हुने जीवसत्य हो भन्ने स्वीकार्नु पर्दछ । उसले जेजति कर्म र व्यवहार गर भनी निर्देशन हुन्छ त्यही गरिरहेको हुन्छ, त्यो केवल उसलाई दिएको पात्रको रोल मात्र हो । नाटकको रंगमञ्चमा पात्रले जसरी आफूलाई नाटकले मागेको दृश्य र आचरण अरुको लागि प्रदर्शन गरिरहेको हुन्छ । त्यसरी नै हाम्रो जीवन पनि चलिरहेको छ ।
त्यसैले हाम्रो चाहना जागृत गराउने जुन तत्व छ त्यो अदृश्य भएर पनि शक्तिशाली छैन भन्ने आधार तयार गर्न सकिँदैन । अर्को कुरा हामीलाई हाम्रो चाहनाभित्र आशक्ति जगाउने तत्व भनेकै हाम्रो चर्मदृष्टि हो । हाम्रो छालाको आँखाले जे देख्छ त्यसप्रति मनको चाह बढ्दछ र मनले विवेकलाई भन्न थाल्छ – ऊ हेर त त्यो कति सुन्दर र मनमोहक छ । ‘आँखा लोभी मन पापी बुझ्दैन यो मन’ त्यसै भनिएको होइन ।
हाम्रो जति पनि चाहना छन् ती सबै हाम्रो दृष्टिभ्रमको कारणले हो । राम्रो नराम्रो छुट्याउने नि आँखा, सोच र चिन्तनमा विचलन ल्याउने पनि आँखा, मन, बुद्धि र विवेकलाई निर्देशन दिने पनि आँखा । तसर्थ दृष्टिभ्रमले ल्याउने विचलन र मनमा भएको भ्रान्ति हटाउन अन्तरहृदयभित्र लुकेको मनको सत्यलाई पहिचान गरी आफूलाई सम्यम र धैर्य राख्न जरुरी हुन्छ । किनकि आँखाले देखेको सत्य केवल वाह्य आवरण मात्र हो ।
ऊ बाहिर जे देख्छ त्यसैमा विश्वास गर्छ । तर मानवीय सोच र चिन्तन त्यस्तो नहुनसक्छ । त्यसैले चर्मदृष्टिले होइन मनको भित्री आँखाले ठम्याउने सत्यलाई पहिचान गर्न सक्नुपर्छ । मनको आँखाले दुनियालाई हेर्ने बानी गरियो भने त्यहाँ भौतिकता होइन आध्यात्मिक सत्य पहिचान गर्न सजिलो पर्दछ ।
जब मनको आँखाले हेर्ने, बुझ्ने र सोच्ने क्षमताको विकास हुन्छ तब संसार उज्यालो हुन्छ । त्यसैले वाह्य आवरणमा होइन अन्तरआत्माको सत्यलाई पहिचान गरी मन, वचन र कर्ममा एकरुपता ल्याई भौतिकवादी चिन्तनले ल्याउने आशक्तिप्रति सावधान हुनु जरुरी छ । जीवन र जगत सृष्टिको रचना हो । उनैको निर्देशनबाट जीवन परिचालन भएको हुन्छ ।
त्यसैले दृष्टिभ्रमबाट उत्पन्न हुने आकांक्षा केवल भौतिक आशक्ति मात्र रहेको सत्यलाई बुझी मानिसले आफ्नो आचरण र व्यवहारलाई परिस्किृत गर्नुपर्छ । वर्तमान यही खोजिरहेको छ ।