विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विकास निर्माणको काम प्रभावित भएको छ । जसले गर्दा विकास निर्माणका धेरै कामहरु यो वर्ष हुनसकेका छैनन् । तर लकडाउनकै बीचमा पनि ६ वटा पुल निर्माण तथा तुलसीपुर–अमिलिया सडकखण्ड विस्तार गरेर कालोपत्रे गर्ने काम भने सकिएको छ । केही महिना पश्चात थप पुल निर्माण सम्पन्न गर्ने तयारी पनि भइरहेको छ । लकडाउनमा सडक डिभिजन कार्यालय दाङले कसरी काम गरिरहेको छ ? सडक डिभिजन कार्यालय दाङका आगामी योजनाहरु के–के छन् ? यही सेरोफेरोमा रहेर सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यसँग गोरक्षकर्मी लिलाधर वलीले गरेको कुराकानी ।
लकडाउनमा विकास निर्माणको काम कसरी अगाडि बढिरहेको छ ?
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सडक तथा पुल निर्माणका काम केही समय रुकेका थिए । विकास निर्माणको उपयुक्त समय भए पनि लकडाउनका कारण केही समय विकास ठप्प भयो । तर विकास निर्माणका कामलाई नरोक्ने नीति सरकारले ल्याएपछि कार्यालयले जिल्ला प्रशासन कार्यालय दाङको अनुमति लिएर सडक तथा पुल निर्माणको कामलाई अघि बढाएको थियो ।
लकडाउनकै क्रममा हामीले दाङमा ६ वटा पुल तथा तुलसीपुर–अमिलिया सडकखण्डको सडक विस्तारको काम सकेका छौँ । जसअन्तर्गत् बबई नदीको ढिकपुर, पश्चिमको मायाखोला पुल ढलान गर्ने काम गरेका छौँ । घोराही–हापुर हुँदै रक्षाचौर सडक अन्तर्गत हापुरखोला, निघुवार खोला पुल, सेवारखोला पुल बनाउने काम भएको छ भने धारापानीमा पनि पुल निर्माणको कामलाई लकडाउनकै बेला अगाडि बढाइएको छ ।
त्यस्तै तुलसीपुर–अमिलिया सडकखण्डमा ७ किलोमिटर सडक विस्तार गरी कालोपत्रे गर्ने काम गरिएको छ । सीमित जनशक्तिबाट सडक विस्तारको काम गर्न पाउँदा निकै खुशीको महशुस गरेका छौँ । अहिले पनि पुल तथा सडक निर्माणको काम भइरहेका छन् । बाँकी ३÷४ वटा पुलहरुको केही महिनापछि निर्माण कार्य सक्ने तयारीमा छौँ ।
लकडाउनले गर्दा विकास निर्माणका काममा कत्तिको समस्या भयो ?
कोडिभ–१९ को जटिल अवस्थाका कारण काममा समस्या नहुने कुरै भएन । संक्रमण फैलनसक्ने त्रासका कारण केही समय काम हुन सकेन । प्रायः विकास निर्माणका कामहरूका लागि यस क्षेत्रमा भारतसँगै नेपालको पूर्वीतराई क्षेत्रबाट कामदारहरू आउँदा रहेछन् । तर लकडाउनका कारण घरमा गएका कारण ती कामदार नहुँदा विकास निर्माणले चाहेको जति गति लिन सकेन । जस्तै घोराही–लमही सडकखण्डको सिस्नेखोला पुललाई लिन सकिन्छ । कामलाई अगाडि बढाए पनि श्रमिक पाउन मुस्किल थियो ।
त्यसैमा पनि सामाजिक दूरी कायम गरेर विकास निर्माणका आयोजनाहरुलाई अघि बढाउँनुपर्ने बाध्यताले काम गर्न नसक्दा धेरै बजेट फ्रिज जाने अवस्था आएको छ । पुरा समय काम गर्न पाएको भए विकास निर्माणका धेरै योजनाहरु पूरा गर्न सकिन्थ्यो होला तर धेरै योजनाहरु पूरा गर्न सकिएन ।
पत्रेखोला पुल र घोराही बजारकै मुख्य चोकदेखि पश्चिमतिरको सडकको काम नहुँदा सडक डिभिजन कार्यालको धेरै आलोचना हुने गरेको छ । यी ठाउँको काम किन हुन नसकेको होला ?
हो, सडक कार्यालयले धेरै काम गरे पनि यी काम लामो समयसम्म हुन नसक्दा आलोचना हुने गरेको छ । म पनि घोराही–तुलसीपुर सडकखण्डमा यात्रा गर्दा यही सोच्ने गरेको छु । घोराहीको सडकभन्दा पनि पत्रेखोला पुलमा सबैको चासो छ । पुल नबन्दा खोलामा परेका खाडलका कारण गाडीहरुसँगै मोटरसाइकल, स्कुटर र साइकलयात्रीहरुलाई निकै समस्या परेको देख्ने गरेको छु ।
२०७१ सालमै ठेक्का सम्झौता भए पनि विविध कारण पत्रे खोला पुल निर्माणको काम हुनसकेको छैन । यसमा निर्माण व्यवसायीसँगै हाम्रो कार्यालयको पनि केही कमजोरीहरु छन् । हाम्रो क्लाइन्टले निर्माण व्यवसायीलाई पुसअफ गर्न नसकेको र निर्माण व्यवसायी पनि काम गर्न नसक्ने भएका कारण पुल निर्माणमा ढिलाई भएको रहेछ । तर सार्वजनिक खरिद निमावलीको नवौँ संशोधनअनुसार सवै रुग्न योजनाहरुलाई एकपटक मौका दिएर म्याद थप गरेको अवस्था छ । पुलको स्ल्यावकोमाथि डिजाइन रिभ्यू गर्नुपर्ने भए पनि हुनसकेको थिएन ।
अहिले डिजाइन स्वीकृत भएको छ । अब पुल कसरी बनाउने र कस्तो बनाउने भन्ने समस्या रहेन । अहिले मौसमले साथ नदिँदा काम हुनसकेको छैन । पानी पर्न कम भएपछि पत्रेखोलाको पुल निर्माणको काम हुन्छ । अर्काे वर्षातको याममा गाडीहरु पुलमाथिबाटै हिड्न पाउनेछन् ।
तपाईले भनेको, तुलसीपुरचोकमा ठेक्का लगाए पनि जग्गाधनीले अदालतमा मुद्दा दिएर ‘स्टे अडर’ लिनुभएको छ । अदालतको ‘स्टे अडर’ भएका कारण हामीले काम गर्नसकेका थिएनौँ । त्यसैमा अहिले उक्त सडक फोरलेन सडकमा पर्ने भएका कारण हामीले सडक फोरलेन सडक आयोजनालाई हस्तान्तरण गरेका कारण अब त्यो कम पनि हाम्रो काम रहेन ।
फोरलेन सडकको काम सुरु भएका कारण घोराही–तुलसीपुर सडकखण्डका विभिन्न स्थानहरुमा खाडलहरु छन्, त्यस्तै घोराही–लमही सडकखण्डमा पनि खोलाहरुमा निर्माण गरेको पुलका छेउछाउँमा खाडलहरु परेका कारण सवारीसाधनलाई समस्या हुने गरेको छ, यी खाडल पुर्ने काम कसको हो ?
एउटै सडकमा दुईवटा कार्यालयले काम गर्न मिल्दैन । हामीले फोरलेन सडक आयोजनालाई उक्त सडक हस्तान्तरण गरिसकेका छौँ । उक्त सडकको सम्झौता गर्दा सडकमा परेका खाडलहरु पुर्ने गरी सम्झौता भएको छ । तर पनि केही समय अघि पत्रेखोलामा पुल निर्माणमा ढिलाई भएका कारण खोलामा समस्या परेको प्रमुख जिल्ला अधिकारीज्यूले भनेपछि मैले गरिदिएको हुँ ।
तर हामीले काम गरेको केही दिनमै पानी परेकाले फेरि खाडल भयो कि भन्ने लागेको छ । यो सडक हामीले हस्तान्तरण गरिसकेकाले सडक बनाउनेदेखि बिग्रिएका ठाउँमा मर्मत गर्ने पनि उसैको काम हो, अब । केही पुलहरुमा हामीले गर्ने काम छ, त्यो पानी पर्न छोडेपछि गर्नेछौँ ।
यस वर्ष दाङमा कति योजना थिए अनि आगामी वर्षको योजनाहरु के के छन् ?
यो वर्ष पूर्वाधार विकास कार्यक्रमअन्तर्गत् ८ वटा, तराई–मधेश सडक पूर्वाधार कार्यक्रममा २४ वटा गरेर ३२ वटा सडक तथा पुलका कामहरुसँगै पूर्व–पश्चिम महेन्द्रराजमार्ग शिवखोलादेखि धानखोलासम्म मर्मत सम्भार, राप्ती राजमार्ग अन्तर्गत अमिलया–तुलसीपुर सडकखण्ड तथा तुलसीपुरदेखि सल्यान जोड्ने सडकमा मर्मत सम्भारका कामहरु थिए । जुन कामहरु सबै गर्न सकिएन ।
सडकमा परेका खाडलहरु पुर्ने र मर्मतको कामहरु एक चरणको गरे पनि वर्षातको कारणले काम पुनः गर्नसकेका छैनौँ । जसअन्तर्गत् तुलसीपुर बजारमै पनि सडक मर्मतको काम गरेका थियौँ । कोरोनाका कारण यो आगामी वर्षको बजेट आधा घटेको छ । त्यसैले नयाँ योजनाहरुभन्दा पनि रनिङमा रहेका योजनाहरु सक्नमै हाम्रो ध्यान रहेको छ ।
सडकमा खाल्डाखुल्डी परेर सवारी सञ्चालन समस्यासँगै दुर्घटनाको जोखिम बढाउने गरेको वर्षेनी दाङमा देखिन्छ । त्यो पनि लमही–भालुबाङ सडकखण्ड, तुलसीपुर–सल्यान सडकखण्डसँगै घोराहीकै मुख्य सडकमा देखिन्छन्, यी समस्या दीर्घकालीन रुपमा हल किन हुन सक्दैनन् ?
सडक डिभिजन कार्यालयले राजमार्ग अन्तर्गतका सडकहरु हेर्ने गरेको छ । त्यो भन्दा बाहिरका सडकहरु हेर्ने काम हाम्रो होइन । सडकको काम सडक डिभिजन कार्यालयले गर्छ भन्ने बुझाईका कारण धेरैले हामीलाई भन्ने गर्नुहुन्छ । तर अहिले सडक बनाउने कार्यालयहरु धेरै रहेका छन् ।
पूर्व–पश्चिम महेन्द्र राजमाग, राप्ती राजमार्गलगायतका सडकहरु हाम्रो कार्यालयअन्तर्गत रहेका छन् । त्यसमा पनि पछिल्लो समय पूर्वपश्चिम राजमार्गमा देखिएको समस्या भनेको सडकमा पानी जमेर उप्कने गरेको छ । पहिले उक्त क्षेत्रमा बस्ती नहुँदा सडकलाई माथि उठाएर सडक पिच गरिएको रहेछ । तर अहिले सडकको दाया–वायाँ घरहरु निर्माण गर्दा उहाँहरुले सडक भन्दामाथिसम्म आफ्नो घरतिरको साइड माटो भरेका कारण सबै पानी सडकमा जाने र त्यसले गर्दा सडक उप्कने गरेको देखिन्छ ।
यो ठुलो समस्याको रुपमा रहेको छ । पानी बग्ने नाला छुट्टै नहुँदा वर्षेनी समस्या हुने गरेको छ । यसको दीर्घकालीन समस्या समाधानको उपाय भनेको सडकमा पानी बग्न नदिनु हो । त्यसका लागि स्थानीय तयार हुन आवश्यक छ । नत्र राज्यको लगानी वर्षेनी खर्च गर्ने समस्या ज्यूँका त्यूँ रहिरहने हुन्छ ।
लमही–घोराही–तुलसीपुर सडकखण्डका अधिकांश खोलाहरुमा पुल निर्माण भएका छन् भने केही खोलामा निर्माणकै क्रममा रहेका छन, त्यी बाहेक अन्य थप तीन खोलाहरुमा अझै पुल निर्माण हुनसकेको छैन । त्यी खोलाहरुमा पुल निर्माणको लागि केही पहल भएको छ कि ?
हो, अहिले घोराही–तुलसीपुर सडकखण्ड या घोराही–लमही सडकखण्डमा अधिकांश खोलाहरुमा पुल निर्माण भइसकेका छन् भने सिस्ने खोला र पत्रेखोलामा निर्माणकै क्रममा रहेका छन् । यी खोलाहरुमा अर्काे वर्षसम्म पुल निर्माण कार्य पूरा हुने छन् । त्यसपछि बाँकी रहने खोला भनेको सेवारखोला, हापुरलगायतका रहेका छन् ।
यी खोलाहरुमा तत्काल पुल निर्माणका कुनै योजनाहरु छैनन्, हामीसँग । सायद अब यी खोलाहरुमा पुल निर्माणको काम फोरलेन सडक आयोजनाले नै गर्नेछ । यी खोलाहरुमा पनि मुख्य सडकलाई छोडेर अन्यत्र पुल निर्माणको काम भएको छ । ती ठाउँमा पनि आवश्यकता थियो । तर त्यहाँ भन्दा प्राथमिकता मुख्य सडकमै भएको भए राम्रो हुने थियो । तर त्यो हुनसकेको देखिएन, दाङमा ।
दाङ दुर्घटनाको जोखिममा रहेको जिल्ला हो । सडकमा परेका खाल्डाखुल्डीसँगै सडकमा ट्राफिक संकेत नहुँदा दुर्घटना हुने गरेको कुरा ट्राफिक प्रहरीबाट बारम्बार आइरहन्छ । सडकमा ट्राफिक संकेतहरु बनाउने, राख्ने काम सडक कार्यालयले गर्छ कि गर्दैन ?
सडक सुरक्षामा सडक कार्यालयको पनि दायित्व हुन्छ । जस अन्तर्गत हामीले पनि काम गर्ने गरेका छौँ । तर सडक कार्यालयले मात्रै गरेर सडक दुर्घटना न्यूनीकरण हुन सक्दैन । दुर्घटना भनेको गाडीको इञ्जन खराब, चालकको लापरवाहीका कारणले पनि हुने गरेका छन् । सडक सुरक्षाका लागि सडकमा जेब्राक्रस, सडकमै रातमा चम्कने लाईट राख्नेसँगै जोखिमयुक्त ठाउँमा ट्राफिक संकेतहरु राख्ने काम भएको छ ।
ट्राफिक प्रमुखले जोखिमयुक्त ठाउँमा मिरर राख्ने कुरा गर्नुभएको थियो । तर मिरर राख्दा राज्यको ठूलो धनराशी खर्च हुने र मिररको सुरक्षाको ग्यारेण्टी नहुने भएकाले नराखिएको हो । प्रहरीले सुरक्षाको ग्यारेन्टी गरे हामी मिरर राख्न तयार छौँ ।