मानबहादुर बचाउन चटपटे/चुरा

रेशम खड्का
तुलसीपुर, २९ असार । चौध जनाको संख्यामा तुलसीपुरको विपीचोकमा थिए, उनीहरु । नेपाल फेमिनाको संस्थागत ड्रेसमा । आधाउधि चटपटे बनाइरहेका थिए, आधाउधि फलामे ठेलामा हरिया चुरा बेच्न तल्लीन थिए । ‘हामीले लकडाउनमा कमाउनका लागि यो काम गरिरहेका होइनौं, यो त यहीकै बिरामीको उपचारको सहयोगार्थ हो’, नेपाल फेमिना ग्रुपकी सदस्य संगीता ढकालले भनिन् ।

तुलसीपुर उपमहानगरपालिका गोलौरामा रहेको एउटा घरको कोठा भाडामा लिएर बसेका श्रमजीवी मानबहादुर विकको स्वास्थ्य उपचारमा सहयोग जुटाउन उनीहरु विपीचोकमै व्यापार गरिरहेका थिए । प्यारालाइसिसको समस्याले बिच्छौनामा रहेका विकलाई अस्पतालसम्म पु¥याएर स्वास्थ्य उपचार गराउने उनीहरुको धोको छ ।

स्कुल र कलेजहरु लकडाउनले बन्द भएको मौकामा सामाजिक दूरीको ख्याल गरी उनीहरु यो अभियानमा जुटेका छन् । ‘चुरापोते होलसेल पसलबाट खरिद गरी केही मुनाफा राखेर बिक्री गरिरहेका छौं, चटपटे बनाउनका लागि भुजा, मसला र हरियो परियो पसलबाट किनेर आफै बनाइरहेका छौं’, नेपाल फेमिना ग्रुपकी अर्की सदस्य शिक्षा श्रेष्ठले बताइन् ।

फुर्सदको समयमा मोवाइल र टिभीमा झुम्मिनुको साटो एउटा सामाजिक अभियानमा जोडिन पाउँदा आफूहरुलाई पनि हौसला बढेको शिक्षाको अनुभूति थियो । हरेक दिनको मुनाफा मानबहादुरको उपचार कोषमा जम्मा गर्नेगरी अघिल्लो तीन दिनदेखि उनीहरुले यो अभियान चलाइरहेको बताए ।

जुनसुकै उद्देश्यका लागि पनि मान्छेसँग सहयोग माग्नुभन्दा यस्तै काम गरेर पैसाको जोहो गर्न सहज हुने अनुभवसहित यसअघि पनि उनीहरुले समय अनुसारको व्यापार गर्दै आएको बताएका छन् । ‘यो अभियानमा हामी तुलसीपुरका नारीहरु मात्र जोडिएका छैनौं, नेपालभरका ४३ हजार नारीहरु जोडिएका छौं’, फेमिना ग्रुपकै अर्की सदस्य अस्मिता आचार्यले भनिन् ।

साउन लाग्दैगर्दा कस्मेटिक्स पसलमा हरियो चुरा किन्ने महिलाहरु र चाट पसलमा चटपटेको खोजीमा भौतारिने महिलाहरुको चाहनालाई सम्बोधन गर्दै उनीहरु यो व्यापारमा लागिरहेको बताए । बजारको भन्दा सफा ताजा र चटपटे खान बैंकका कर्मचारीदेखि कामकाजी बटुवाहरुको पनि उत्साहजनक सहभागिता देखिन्थ्यो ।

दिनभरी व्यापार गरेपछि साँझ उनीहरुले मुनाफा निकाल्ने गरेको बताए । ‘आजको कमाई कति हुन्छ, साँझ फोन गर्नुहोला है’, अस्मिताले भनिन् । अत्यन्तै गरिब परिवारका रुपमा रहेको मानबहादुर विकको पैतृक सम्पत्ति केही पनि छैन । दैनिक ज्याला मजदुरी गर्दै आएका विकको परिवारमा लकडाउनसँगै कमाउने घरमुलीलाई नै प्यारालाइसिस भएपछि साँझ–विहान हातमुख जोर्न समेत कठिन भएको खवर पाएपछि आफूहरु यो सामाजिक अभियानमा जुटेको पनि उनीहरुको अनुभूति थियो ।