अनुहार हेर सबैले कोरोनाको दर्पणछायाँमा

मधुसूदन सुवेदी

कोभिड–१९ अर्थात् कोरोना भाइरस रोग संक्रमण महामारी तथा एक प्राणघातक रोग मात्र नभएर यो व्यक्ति, शक्ति समूह, संगठन, दल, मोर्चा, पंक्ति, सरकार, जनता, देश, राष्ट्र र विश्वको लागि आफ्नो प्रत्यक्ष अनुहार हेर्ने र देख्ने दर्पण वा ऐना पनि हो । यदि यो अवस्थामा हरेकले आफ्नो अनुहार एकपटक राम्रोसँग यो ऐनामा हेर्ने हो भने सबैको अनुहार प्रष्ट हुनेछ ।

यसले रोगबाट बच्ने उपायमात्र दिने छैन थप यसले आफ्नो अनुहार कस्तो बनाउने ? भन्ने प्रश्नको समेत उत्तर दिनेछ । अनुहार भन्ने वित्तिकै सुन्दरतामा आधारित मुखाकृतिको मात्र अर्थ नलागोस् । अनुहारको वास्तविक अर्थ नै मन, वचन, कर्म, शरीर, भावना, चित्त, आचरण, प्रकृति, स्वभाव, बानी, व्यहोरा, सोच, विचार, लेनदेन, आदान–प्रदान, सरसहयोग, उपकार, कल्याण, भलो, सकारात्मक वा नकारात्मक चिन्तन, आहार–बिहारलगायत सम्पूर्ण मानवीय वा दानवीय कर्म पर्दछन् ।

यदि तपाई यतिबेला मानवीय कर्ममा दत्तचित्त भएर खटिनुभएको छ भने तपाईको अनुहार कोरोनाको ऐनाभित्र सुन्दर देखिनेछ । त्यो सुन्दर अनुहारले आपतकालीन अवस्थामा तपाईलाई पनि बाँच्न सिकाउने छ र अरुलाई पनि बाँच्न सिकाउने छ । सबैलाई संक्रमणको अवस्थामा थप ऊर्जा र बल मिल्नेछ । यदि तपाईको अमानवीय व्यवहार वा दानवी प्रवृत्तिको कर्म गराई छ भने तपाईको अनुहार कोरोनाको ऐनामा एक कुरुप र क्रूर देखिनेछ ।

यो कुरुप अनुहारले स्वयं तपाईलाई त झस्काउने छ नै थप तपाईको कन्ट्याक्टमा रहेका तपाईको सम्पर्कमा रहेका जोसुकै मानिसको ऊर्जामा समेत ह्रास आउने छ । उनीहरुको मनोबल गिराउने छ र आपत–बिपतको समय धैर्यता र संयमता संलाग्ने नैतिक बलसमेत गुमेर जानेछ । मानिसले कुन बेला कुन व्यक्तिसँग कस्तो व्यवहार प्रस्तुत गर्ने ? भन्ने सामान्य जानकारी समेत हासिल गरेको हुँदैन । यो समयमा सबैलाई चाहिएको उत्साह, उमंग, जोश, जाँगर, हौसला, माया, ममता, दया, करुणा, शक्ति, सहनशीलता, धैर्यता, संयमता, कठोरता, लगनशीलता, आत्मभरोसा, साहस, हिम्मत, आँट, अठोटता, दृढता र सहकार्यता नै हो ।

यो स्थिति तथा परिस्थितिमा मानिस आफ्नै मात्र दुनो सोझ्याउने कालो धन्दामा लाग्यो भने बाँकीको अवस्था के ? जात मात्र मानव भएर भयो, बात पनि मानव हुनुपरेन ? कर्म पनि मानवमैत्री हुनुपरेन ? खालि मानव भएकैमा मात्र गौरव गरेर बाँकी कर्म दानवरुपी गर्न मिल्छ ? यो शिक्षा र दीक्षा आजको समयले दिइनै रहेको छ । यतिबेला सबैले आफ्नो धर्म र कर्मको पालना गर्न गराउन लागिपर्ने बेला भएको छ । अघि–पछिको बसवास र हावादारी गफ यतिबेला पुष्टि हुनेछ । त्यसैले जो–जति, जहाँ–जहाँ आफ्नो–आफ्नो भूमिकामा हुनुहुन्छ सबैले आफ्नो धर्म, कर्म, कर्तव्य, जिम्मेवारी, दायित्व र मानवीय विशेषता बोध गरेर हर दिनको कार्य सम्पादन गर्नुहोला । यदि तपाईलाई आजको दिनमा कोरोना नेगेटिभ भएकै भरमा आफूलाई सर्वेसर्वा ठानेर अरुको वास्ता र चासो गर्नु हुन्न भने तपाई स्वार्थी भन्ने भाइरसबाट पोजेटिभ हुनुहुन्छ । त्यसैले तपाई जसरी यतिबेला कोरोना नेगेटिभ बन्न खोज्दै हुनुहुन्छ त्यसको साथसाथै हरेक दुश्कर्मबाट पनि नेगेटिभ बन्न र बनाउन प्रयास गर्नोस् । यदि तपाईमा भ्रष्टाचारको पोजेटिभ छ, अहंकारको पोजेटिभ छ, घमण्डको पोजेटिभ छ, अन्यायको पोजेटिभ छ, अनियमितताको पोजेटिभ छ, आडम्बरको पोजेटिभ छ, उच्छृंखलाताको पोजेटिभ छ, अज्ञानको पोजेटिभ छ, अन्धकारको पोजेटिभ छ, लोभ–लालचको पोजेटिभ छ, स्वार्थको पोजेटिभ छ, व्यक्तिवादी चिन्तनको पोजेटिभ छ, शोषण र दमनको पोजेटिभ छ, थिचोमिचोको मनोभावनामा पोजेटिभ छ, दासत्वको पोजेटिभ छ, कठोर र रुखोपनको पोजेटिभ छ, क्रूर र पाषाण हृदयको पोजेटिभ छ, अधर्मको पोजेटिभ छ, नास्तिकको पोजेटिभ छ, अनिश्वरवादीको पोजेटिभ छ, कुसंस्कारको पोजेटिभ छ, अनैतिकताको पोजेटिभ छ, दुर्गुणको पोजेटिभ छ र सारा मानवीय गुण र विशेषताको विरुद्धमा ठूलो असर पार्ने भाइरसको पोजेटिभ छ भने एउटा पाजी कोरोनाबाट पोजेटिभ भएर मात्र गर्ने के ? तसर्थ यहाँ भन्न खोजेको आशय, अर्थ, विचार के हो भने कोरोना त तत्काल अल्पकाल र अनिश्चितकालको मात्र भाइरस हो । जो हाम्रो जीवनमा जन्मदेखि मृत्युसम्म रहने गुण र आचरण सम्बन्धी भाइरस छन् ती सबैबाट नेगेटिभ बन्न सिक्नु, खोज्नु, प्रयास गर्नु, जमर्को गर्नु, प्रयत्न गर्नु, कसरत गर्नु र हिम्मत कस्नु नै मानव प्राणीबाट सफलता प्राप्त गर्नु हो । आज हाम्रो अवस्था बिग्रनुमा कोरोना एक प्रमुख कारक बन्यो । तर अस्ति हामी कहाँ कोरोना थियो÷थिएन ? हिजो हामीकहाँ कोरोना थियो÷थिएन ?, त्यतिबेला पनि हामी निकै सभ्य, भव्य, शान्ति, समृद्धि र विकासशील त थिएनौ नि ? आखिर हामीकहाँ के रहेछ त ? यो कोरोना भाइरसभन्दा पनि अझ खतरनाक भाइरस हामीमा रहेछन् नि ? जसका कारण त्यो भाइरस हामीमा पोजेटिभ हुँदा र देखिँदा हामी उन्नति र प्रगति गर्न सकेनौं । दोष कोरोनाको होइन, कोरोनाजस्ता भाइरस उत्पादन गर्ने र गराउने महत्वपूर्ण भूमिकामा रहेका हामी सबै मानव समुदाय एवं सम्प्रदायको नै हो । त्यसैले यी र यस्ता भाइरसजन्य शत्रु र दुश्मनबाट बच्नको लागि सबै तर–तरहले नेगेटिभ बन्ने आशा राखौं र अभिलाषा जगाऔं । भोलिको कुनै पनि समयमा हामीबाट यो कोरोनाले विदा लिनेछ । यदि त्यतिबेलासम्म हामीमा भएको पुराना भाइरस नेगेटिभ बन्न सकेनन् भने देश के उभो लाग्ला त ? पक्कै पनि लाग्दैन । तसर्थ अबको समयमा कोरोना सँगसँगै हामीमा रहेका यावतरुपी दुर्गुण र दुव्र्यवहारका भाइरसलाई समाप्त पारौं र सम्पूर्ण भाइरसबाट नेगेटिभ बन्ने प्रतिबद्धता जाहेर गरौं । त्यसका लागि आजै सबैले आ–आफ्नो अनुहार कोरोनाको दर्पण–छायाँमा हेरौं र अनुहारलाई सच्याउँदै धर्म र कर्मलाई मच्याउँदै मानव कल्याणको लागि एक अद्भूत जगको तयार गरौं । मानवले मानवको रक्षा गर्न सक्दैनन् भने त्यो मानव हुनुको अर्थ के भयो ? सार्थकता के भयो ? धर्म के भयो ?