Goraksha

National Daily

लकडाउन यात्रा डायरी : बौरिएला बजार….

खेमराज रिजाल
गोह्रुसिंहे बजारको क्याम्पस चोकमा रहेको मञ्जुको होटल १ सय १९ दिन बन्द भएर खुलेको छ । बुटवल खुल्यो, भैरहवा खुल्यो र चन्द्रौटा बजार पनि खुलिसक्यो भन्ने खवर पाएपछि होटल बन्द गरी आफ्नो पैतृक घर अर्घाखाँची पुगेकी मञ्जु हतारोमा मोटरसाइकलको सहायताले गोरुसिंहे आइपुगिन् ।

भर्खरै खुलेको बजारसँगै आफ्नो होटलको सटरखोल्दा उनमा नयाँ आशा पलाएको छ । होटल चल्ला र चार महिनाको भाडा घरबेटीलाई बुझाउला । ‘बजार कसरी बौरिने हो, थाहा छैन, सबैले खोलेपछि खोल्नैपर्यो’, मञ्जुले बौरिने आधार नभेटाएको अभिव्यक्ति दिइन् । होटलको आँगनमा झाडी फैलिइसकेको छ । घाँसे आँगनमा त्योबेलामात्र गाडीका ताँती हुनेछन्, जुनवेला सार्वजनिक यातायात सेवा सञ्चालन हुनेछ । हाइ काढेर खुलिरहेको गोरुसिंहे बजार । थाहा छैन, मञ्जुहरु कसरी बौरिने हुन् !

सरकारले सामाजिक दूरी कायम गरी डवल भाडा लिएर सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिरहँदा धानखोलामा रोकिएको एउटा रातो प्लेटको स्कर्पियोमा एकजना बालिकासहित ११ जनाले यात्रा विश्राम लिएका थिए ।

होटलमात्र होइन, कस्मेटिक्स पसल, सिलाई–कटाई पसल, अटोपार्ट शोरुम, किराना तथा फेन्सी पसल पनि खुलेका छन् । तर बजार खुले पनि कत्ति पनि चहल–पहल देखिँदैन । मञ्जुको होटलको भाडा करिब २ लाख रुपैयाँ तिर्न बाँकी छ । उनैले होटल लिएको घरबेटीको पनि बैंकमा किस्ता छ रे । मञ्जुलाई मात्र होइन, घरबेटीलाई पनि होटल चलोस, बजार बौरियोस् भन्ने आशा छ, तर बौरिने कसरी ? मञ्जुको सरकारलाई आग्रह थियो, कम्तीमा सार्वजनिक यातायात खोलिदिए हुन्थ्यो ।

होटलमा चाउमिन पकाउने कराइमा लागेको खिया हटाउँदै थिइन, मञ्जुले मम पकाउने देक्ची सफा गरिसकेकी छिन्, खाना पकाउने भाडा वर्तन पनि अपडेट भइसकेका छन्, तर होटलमा एकजना पनि आएका छैनन् । खुलेर पनि पनि बन्द छ, कपिलबस्तु ।

तैपनि शैक्षिक संस्थाहरु भने खुल्ने अभ्यासमा छन् । आधार स्कुलमा पूरै विद्यार्थीलाई बोलाइएको छैन । टोल–टोलका खालि भवनमा पढाइको काम भने शुरु भएको छ । ‘अनलाइन पढाइ त्यति सार्थक भएन, त्यसैले टोल–टोलमै गएर विद्यार्थी जम्मा गरी पढाइ शुरु गरिसकेका छौं, नमोवुद्ध मावि गोरुसिंहेका शिक्षक प्रकाश आचार्यले भने । उनकै भनाइमा कपिलबस्तु शिक्षा विकास इकाई कार्यालयले अनलाइन कक्षाभन्दा घुम्ती पढाइलाई बढी प्राथमिकता दिएको छ । निजी स्कुलहरु पनि खुल्ने तयारीमा छन् । तर सरकारले भनेजस्तो सामाजिक दूरी कसरी कायम गर्ने भन्नेमा अन्योल छ ।

चन्द्रौटा भन्सार नाकाको प्रवेशद्वार भएर होला, मालवाहक ट्रकदेखि अटोरिक्सामा झोले व्यापारीहरुको चहलपहल बढि देखिन्थ्यो । होटलव्यवसायभ ने गारुसिंहेको जस्तै । यात्रुहरुलाइ ट्रकहरुले लिफ्ट दिइरहेका देखिन्थे, मोलमोलाइको भाडादरमा । निजीलाई कुनै बन्देज छैन । जोरविजोरको पनि चन्द्रौटामा चेकजाँच छैन । मानौं, सडकमा प्रहरीको नियमित र अर्थपूर्ण उपस्थिति देखिँदैन । सडकमा रहेको एउटा बोर्डमा लेखिएको थियो, लकडाउनको सबैले पूर्णपालना गरौं, आफू बचौं र अरुलाई पनि बचाऔं । कहाँ कसले कसरी पालना गरिरहेको छ लकडाउन, सरकारी अधिकारी नै भुमरीमा परेका छन् । लकडाउन त्यहाँ मात्रै छ, जहाँ भविष्यका कर्णधारहरुले देश बनाउने सपना कोरिरहन्छन् ।

धानखोलाका होटलहरुमा पनि केही चहलपहल शुरु भएको छ । कोरोना संक्रमणको त्रास पनि धेरै हदसम्म कम भएको अनुभूति धानखोलामा पोखिएको छ । स्थानीयले मास्क प्रायः लगाएको देखिँदैन । निजी सवारीसाधन तथा मालवाहक सवारी साधनहरुको उपस्थिति आशावादीजस्तै देखिन्थ्यो । तर पनि मनैदेखि सबै ढुक्क हुने अवस्था अझै छैन रे, धानखोलाका एक होटल व्यवसायीले भने ।

‘न कोरोना छ, धानखोलामा, न छैन, त्यसैले अझै पनि ढुक्क हुने अवस्था छैन, ती व्यवसायीले भने धानखोलामा कुनै पनि स्थानीय व्यवसायीको कोरोना परीक्षण भएको छैन, क्वारेन्टाइनमा बसेका पनि छैनन्, जतिबसे आफ्नै होटलमा लक भएर । ढुक्क हुन चाहन्छ, धानखोला । ‘कोरोनासँग लड्ने कि आत्मसमर्पण गर्ने भन्ने सरकारले निर्णय लिनु उपयुक्त होला’, धानखोलाकै अर्का होटल व्यवसायीले भने ।

सरकारले सामाजिक दूरी कायम गरी डबल भाडा लिएर सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिरहँदा धानखोलामा रोकिएको एउटा रातो प्लेटको स्कर्पियोमा एकजना बालिकासहित ११ जनाले यात्रा विश्राम लिएका थिए । निजी गाडीमा सामाजिक दूरी चाहिँदैन ? यस संवाददाताको जिज्ञासामा गाडी चालकले भनेका थिए, ‘उहाँहरु सबै आफन्तहरु हुनुहुन्छ, त्यसैले रिजर्भमा आएको ।’

यो त नमुना मात्र हो, सार्वजनिक यातायात सेवा बन्द रहेको अवस्थामा आम नागरिकहरुले निजी नम्बर प्लेटका गाडी भाडामा लिएर गन्तव्यसम्म पुग्न बाध्य भएका छन् । सरकारले स्कर्पियोमा यात्रा गर्ने यात्रुहरुको सामाजिक दूरीलाई टुलुटुलु हेरीमात्र रहेको छ । धानखोलामा खुलेका होटलहरुलाई नियालिरहेको छ, तर सार्वजनिक यातायात सञ्चालनका लागि एकपटक यातायात व्यवसायी नेताहरुसँग छलफल समेत गर्न तयार छैन ।

आधा यात्रुहरु बोकेर सडकमा आएर गाडीधनीहरुले बैंकको किस्ता तिर्न सक्ने छैनन् । धेरै अपेक्षा पनि त थिएन, खालि बैंकको किस्ता लकडाउन अवधिभरका लागि पछाडि धकेलिदिने मात्र हो, तर सरकार यो भूमिका निर्वाह गर्न पनि तयार छैन । निजी सवारी साधनहरुले यात्रुवाहक सवारी साधनको काम मनोमानीरुपमा गरिरहँदा टुलुटुलु हेरिरहने सरकारले सार्वजनिक सवारी साधन सञ्चालनको खाका दिन सक्नुपर्ने होइन र ? पसलहरु खुलिरहेर पनि नगन्य कारोवारमा हुनेछन्, जबसम्म सार्वजनिक यातायात सेवा सञ्चालनमा आउँदैन, विद्यालयहरु खुल्दैनन् र बेकामी मजदुरहरुले दैनिक मजदुरीको काम पाउने छैनन् ।

लकडाउनलाई निरन्तरता दिइरहेको सरकारले कहिलेसम्म कसरी अघि बढ्ने हो । सरकारको यो काम गराईले कोरोना संकट कसरी न्यून हुने हो, कसरी बजार बौरिने हो ? सरकार, मञ्जुहरुलाई जवाफ देऊ ।