स्वस्थ मन र सुखी जीवनका लागी सकारात्मक चिन्तन

Positive Thinking For Healthy Mind & Happy Llife

ब्रह्माकुमार माधव तिमिल्सेना

संकल्पको उद्गमस्थल मन हो । मन आत्माको एक सुक्ष्म इन्द्रिय वा शक्ति हो । मनको तुलना वायुपंक्षी घोडा वा तिव्र गतिको रकेटसंग पनि गरिन्छ । मनमा जति वढी संकल्पहरु उत्पन्न हुन्छन, त्यति वढी आत्माको उर्जा नष्ट हुन्छ । कर्मको जन्म सोच वा संकल्पबाट हुन्छ । जस्तो सोच त्यस्तै बृति वा कसैप्रतिको दृष्टिकोण र कार्य व्यवहारमा प्रदर्शित हुन्छ ।

हाम्रो हरेक शव्द,विचार तथा कर्म हामी स्वयंका रचना हुन । परिस्थिति वाहिरी हुन तर ती परिस्थितिहरु प्रतिको सोच हाम्रो स्वइच्छामा निर्भर हुन्छ । सामान्य मानिसका ७० प्रतिशत संकल्पहरु व्यर्थ÷नकारात्मक हुन्छन ३० प्रतिशत संकल्पहरु दैनिक जीवनसंग सम्वन्धित र १० प्रतिशत संकल्पहरु सकारात्मक,श्रेष्ठ परोपकारी एवं आत्मोन्नती गराउने खालका हुन्छन । आजको वर्तमान संसारमा कोही तनले दुःखी कोही मनको दुःखी कोही धनको दुःखी छन ।

हरेक व्यक्ति कुनै न कुनै कारणले चिन्तित देखिन्छन । आज हरेक मानव मेशीन जस्तै विहान देखि बेलुकासम्म दौडिरहेको छ यद्यपी जीवनमा सुख,शान्ति र खुसीको अनुभुती गर्न सकिरहेको देखिदैन । यसको मुख्य कारण हो मनमा उत्पन्न हुने नकारात्मक विचार अर्थात उल्टो सोच जसको प्रत्यक्ष प्रभाव मनमा पर्दछ परिणामतः मन निराश हुन्छ र शरिर को कार्य क्षमतामा विचलन आउँछ । हामीले अशुभ सोच्ने प्रवृतिका कारण मनलाई दु.खी चिन्तित बनाई रहेका हुन्छौ । मनको चिन्ताले भित्रभित्र खोका्रे पारिरहेको हुन्छ ।

भनिन्छ –“चिन्ता चिता भन्दा खतरनाक हुन्छ ।” चिताले मुर्दालाई मात्र जलाउँछ भने चिन्ताले त जीवित मानवलाई नै जलाई दिन्छ । बाहिरी सुख साधन हुँदाहुदै पनि हामी मनबाट सुखी नहुनुको कारण ती साधनको उपयोग गर्दागदै स्वयम् वेचैनीको जालोभित्र हराईरहेको हुन्छौ ।

स्वास्थ्य(स्व+आस्था) स्व अर्थात आत्मा । आफूलाई आत्मा निश्चय गरी आफैले आफैसंग वातचित गर्नु अर्थात आत्मिक स्थितिमा स्थित भएर कार्य व्यवहार गर्नु । स्व व्यवस्थापन हुन नसक्दा अन्य कुनैपनि व्यवस्थापन सफल हुनै सक्दैनन । जीवनमा serious होइन Balance राख्न सिकौं । जीवनमा सफलता असफलताको जिम्मेवार कोही छैन म आफै हुँ भन्न्ो सोच नहुँदासम्म हामी गन्तव्य विहीन यात्री वन्न पुग्छौ । स्वयम् प्रति प्यार नहुनेले अरुलाई प्यार सम्मान गर्न सक्दैन । I Lack Love so Iam ill…… यसरी हेर्दा Depression (लघुताभास) Stress तनावको मूल जड नै मनको नकारात्मकता हो । Fear (भय) & Love ले हाम्रो शरीरलाई पुरै नियन्त्रण गर्छ । म जे छु जस्तो छु ठीक छु । Accept Yourself And Believe Yourself.

यसले स्वस्थ मन र सुखी जीवन वनाउन आधारशीला खडा गर्दछ । मानसिक र शारिरीक स्वास्थ्यका लागी मुस्कान एक अचुक टोनिक हो । स्वास्थ्य विज्ञानले सिद्ध गरिदिएको छ कि प्रसन्नता प्रत्येक विमारीको रामवाण औषधी हो । मुस्कुराहटले हाम्रो शरिरको सवै प्रणालीहरुमा सकारात्मक प्रभाव पार्दछ । तसर्थ सदैव खुशी रहौं मुस्कुराउँदै रहौं,खजाना खुशीको लुटाउँदै जाऔं । मुस्कुराउ सदैव सच्चा दिलले,निर्मल भावले निर्भयताले ताकि तन र मन दुवै स्वस्थ हुन सकोस् । हाम्रो मुस्कानमा सुखापन नहोस् वरु सवैमा शुभभावना तथा स्नेहले भरिएको मुस्कान होस् ।

सवैलाई प्रेरणा दिने,चिन्ता भुलाउने,आशाका नयाँ किरण देखाउने तथा उमंग उत्साह भर्ने मुस्कान हुन सकोस् । मुस्कुराहट तपाई हाम्रो सुन्दरतालाई वढाउने सजिलो तरिका हो । भनिन्छ – एक मुस्कान,हजारौ कुर्वान……Smile goes Miles. जीवन एक त छोटो छ, त्यसैमा पनि नकारात्क सोचले अझै आफ्नो आयू नघटाऔँ । मनको समय सारिणी बनाऔँ मनमा धेरै भन्दा धेरै शुभ र सकारात्मक विचार ल्याऔ । सदा याद राखौ यस वृहद नाट्यशालामा हरेक आत्माहरुको आ–आफ्नौ अभिनय छ ।

अरु कसैलाई देखेर आफूलाई तुलनात्मक रुपले कमजोर महसुस नगरौ वरु सवैप्रति शुभभावना र शुभकामना रुपी सुन्दर कोशेली दिने गरौ । जसरी शरिरलाई तन्दुरुस्त राख्न सन्तुलित भोजन,व्यायाम,प्रर्याप्त निद्रा आदीको आवश्यकता छ, त्यसरी नै आत्मालाई शक्तिशाली वनाउन सकारात्मक सोचरुपी भोजनको महत्व त्यति नै अतुलनिय छ । वितेका कुरामा पश्चाताप र भविश्यको बारेमा अधिक सोच वा चिन्ता गर्ने आदत आजैवाट त्यागौ । वर्तमानमा रमाउन सिकौ, यसैमा नै जीवनको सुन्दर सार समाहित छ । यदि जीवनमा खुशी र शान्ति चाहान्छौ भने कहिल्यैपनि अरुलाई बदल्ने अपेक्षा नराखौ,आफैलाई वदलौ किनकी ढुंगाबाट वच्नका लागी पूरै धर्तिमा कार्पेट ओछ्याउन संभव हुदैन ।

स्वयंले नै जुत्ता लगाउनु पर्छ । तपाई बाहेक यो संसारमा कसैले खुशी र शान्ति दिन सक्दैन । डा.योगी विकाशानन्द भन्दछन्–“संसारलाई वदल्नु छ,शुरुवात आफैबाट गर्नुपर्छ ।”त्यसैगरी ब्रह्माकुमारीज संस्थाको स्लोगन छ–“स्वपरिवर्तन नै विश्व परिवर्तनको आधार हो ।” हामीले पछिल्लो समय सवै काम अरुले नै गरिदिनु पर्ने र आलोचनाको खेती आफूले गर्न पाउनुपर्ने दाबी बढ्दो छ । यो विलकुल गलत हो । अरुले यो गरेन त्यो गरेन भनिरहँदा मैले के गरे त भन्ने ठाँउबाट प्रश्न शुरु गर्नुपर्छ । डां.म्याक ओडेलका अनुसार “एउटा महान कार्यको थालनी गर्ने दिन आजै हो ।” तसर्थ रत्तिभर ढिला नगर्नुहोस् अरुको आलोचना गरेर समय वर्वाद गर्ने होइन,आफ्नो काम गरेर समय सदुपयोग गर्नुहोस् ।

सवैप्रति शुभ दृष्टिकोण वनाउँदै जीवन र जगतलाई सुन्दर देख्नुहोस् । सकारात्मक सोच आफैबाट आफ्नो घर,संस्था संगठन कार्यालय समाज सवैमा प्रयाग गरी हेर्नुहोस् अनि मात्र सवैमा सकारात्म सोचरुपी पालुवा पल्लवित हुनेछ । डा. डेभिड एल कुपराइटर भन्दछन्– “कल्पना मानव जीवनको महत्वपूर्ण स्रोत हो । सकारात्मक प्रतिफल पाउनका लागी सकारात्मक कल्पना गर्नुहोस् ।” मन मस्तिष्कमा नकारात्मक कुराको गुँड लगाउने अनि मुखले सकारात्मक बाटोतर्फ हिड्छु भनेर सकारात्मक सोचको यात्रा सम्भव छैन । हुदैन पनि । त्यसैले सकारात्मक यात्राको पहिलो खुड्किलो मन हो, मुख होइन ।

अद्यात्म विनाको विज्ञान अन्धो हुन्छ भने विज्ञान विनाको अद्यात्म लंगडो हुन्छ । आध्यात्मिक शिक्षाले हाम्रोे जीवनमा सुविचार,सकारात्मक चिन्तनको आगमन हुँदा जीवन सुखमय बन्छ । अध्यात्म विज्ञानले काम वासनालाई आत्मिक ओज तेजमा, क्रोध ज्वालालाई रचनात्मक कार्यमा, लोभ–लालचलाई परोपकार र पुण्यको कार्यमा, मोह–ममतालाई निस्वार्थ सच्चा स्नेह र प्यारले पालना दिने कार्यमा तथा अहंकार÷घमण्डलाई स्वमान, स्वगौरव र आत्मा सम्मानमा रूपान्तरण गरी एक ओजस्वी तेजस्वी व्यक्तित्व निर्माण गर्न सकिन्छ ।

सकारात्मक चिन्तनमा सहजता ल्याउँछ राजयोगले । राजयोग एक आन्तरिक प्रकृया हो । हामी राजयोग अभ्यासका माध्यामबाट आफु भित्रका नकारात्मक विचारलाई सकारात्मक पथमा लैजान कृयाशील हुन्छौ जसबाट मन शक्तिशाली हुन्छ साथै शरिरको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । वास्तवमा आत्माभाव तथा आत्मिक स्वरुपमा स्थिर हुनु नै राजयोग हो । आत्माको परमात्मासंगको वार्तालाप हुनु पनि राजयोग हो ।

यस योगमा सरलता छ, स्पष्टता छ, व्यवहारिकता मात्र होइन जीवनको वास्तविकता समेत छ । सहज राजयोग ध्यान एक विशिष्ट जीवन जिउने कला र विज्ञान हो । यसले हामी भित्रको अन्तरनिहित शारीरिक,मानसिक र आद्यात्मिक शक्तिलाई समानुपातिक सम्वन्ध वा सन्तुलन बनाउने गर्दछ । यस प्रकारको अभ्यासका लागी हामी आफ्ना आन्तरिक संकल्प,विकल्प र सम्वन्धबाट स्वतन्त्र हुन्छौ ।

अल्पकालिन व्यक्ति वस्तु र वैभवसंगको ममत्वबाट स्वयंलाई अलग गरेर मन बुद्धिलाई शाश्वत परमात्मा सत्यम् शिवम् सुन्दरम् वा आफ्ना अराध्यदेव मा एकाग्र गर्न सक्छौ । यसबाट हामी भित्र जन्म जन्मान्तरसम्म कडा संस्कारका रुपमा संग्रह भएका विकार जन्य संस्कारहरु खरानी हुन्छन् । मन भित्रका नकारात्मक कमजोरीको सट्टामा सकारात्मक शक्तिहरुको उदय हुन्छ । त्यसपछि जीवनमा सदा स्वस्थ सदा सम्पन्न एवं सदा सुख प्राप्त हुन्छ आखिर मानव जीवनमा गरिने सवै पुरुषार्थ एवं प्रयत्नहरुको उद्देश्य पनि यही रहन्छ ।

एउटा प्रसिद्ध भनाइ छ — स्वस्थ मनमा नै स्वस्थ शरीरको निमार्ण हुन्छ । राजयोगले जीवनमा पवित्रता प्रेम,शान्ति, शक्ति, ज्ञान, सुख र आनन्दको उपहार स्वतः प्राप्ती हुन थाल्छ । यो यस्तो योग हो जसका माध्यामबाट विश्वमा सुख शान्तिको सरिता प्रवाहित गरी वसुदैव कुटुम्वकम्को भावना जागृत गर्न सक्छौ । दुषित मनमा स्वस्थताको कल्पना गर्न सकिदैन । मनोविज्ञानले यो प्रमाणित गरिसकेको छ कि शारिरीक विमारीको मुख्य कारण भनेको मनुस्यको मन नै हो ।

औषधीले शरीरको रक्षा गर्ला तर मनको रोगको अचुक्त औषधी भनेको नै राजयोग हो । जसले वैश्विक एकताको सेतुको काम गरेको छ । योगको सफल अभ्यासबाट मनुस्यको मस्तिष्क क्षमता बढाउन सकिने कुरा चिकित्सा विश्व विद्यालय क्यालिफोर्नियाका शोधकर्ता एवं मनोविज्ञ एलीन लुदेर्स वताउंछन । जीवनमा आद्यात्मिक नैतिक मूल्यको विकास हुनुको कारण क्रोध,तनाव,भय र अहंकारको सही व्यवस्थापन हुदै व्यक्तिगत पारिवारीक सम्वन्धमा सुधार,व्यवसायिक सफलता सहजै प्राप्त गर्न सकिन्छ ।

प्रात सवेरै उठ्नासाथ हाम्रो ध्यान मोवाइल चार्ज गर्नमा लगाउँछौ परन्तु मनको चार्ज गर्न भूलेका छौ । प्रतिदिनमा मनमा ३० हजार भन्दा वढी विचारहरु उत्पन्न हुन्छन त्यस मध्ये अधिकतम नकारात्मक विचार । नकारात्मक विचारले मन बुद्धि एवं संस्कारमा विकृतीको साम्राज्य उत्पन्न भै अन्ततः विनाश तर्फ अभिप्ररित गर्दछ । त्यसैले विहान आँखा खुल्नासाथ मनको चार्ज गर्न अभ्यास गरौ–‘ म एक आत्मा हुँ……. म ज्योति विन्दु चैतन्य आत्मा हुँ…. म दिव्य स्वरुप आत्मा हुँ….म पुण्यआत्मा मन बुद्धिको मालिक हुँ…… यस प्रकारका संकल्प विचारहरु मनमा वारम्वार दोहोर्याउँछौ भने मनमा आन्तरिक उर्जा प्रवाह भै बुद्धिले सही निर्णय गर्न सक्छ । जीवनमा श्रेष्ठ संस्कारको विजारोपण हुन्छ । यदि मन बुद्धि संस्कार राम्रो भयो भने सामाजिक,आर्थिक,शारीरिक मानसिक सम्वृद्धि हुन्छ र सवै ठाँउमा सम्मानको पात्र वन्न सकिन्छ ।

वर्तमान समय सृष्टि–चक्रमा जति जति अन्त्यको समय नजिक आइरहेको छ त्यति अन्तरमनमा लुकेका पाप कर्म समस्याहरू विमारीको रूपमा सामुन्ने आइरहेका छन् । आजका बुद्धिमान् मानव विमारी यति किन बढिरहेको छ भन्ने कुरा सम्झिन सकिरहेका छैनन् । मनुष्यको शरीर आत्माको मन्दिर हो भने रोगको कारण कमजोर मानसिकता हो । मानव देहमा जब सन्तुलन विग्रिन्छ तब उर्जाको प्रवाह बदलिन्छ । ऊर्जाको अनिश्चितता एवं निर्धारित मार्गबाट भिन्दै दिशामा बहनाले शरीरका आन्तरिक अंगमा विकृति आउन थाल्छ यसबाट नै शरीरमा रोग बढ्छ ।

मनुष्य स्थूल देहलाई जान्दछ र मान्दछ तर ऊ आफ्नो सूक्ष्म देहको प्रति सजग हुँदैन र त्यसबाट प्रवाहित हुने ऊर्जालाई वास्ता गर्दैन । जबकि हाम्रो सूक्ष्म देह स्थूल देहको निर्माण गर्दछ । रोगको कारण स्वयम् नै हो : हामीलाई जब कुनै रोग लाग्छ तब त्यसको दोष अरूमा दिन्छांै, रोगको लागि स्वयम्का विचार जिम्मेवार हुन्छन् । मेरो नकारात्मक विचारले यो विमारीलाई पैदा गरेको हो जसबाट रोग प्रतिरोधात्मक क्षमता घट्छ तब नै कुनै जीवाणुको संक्रमण फैलिन्छ ।

रोगको लागि हाम्रो दिनचर्या, खान–पान, सोच एवं दृष्टिकोण जिम्मेवार हुन्छ । विमारी के हो ? : वास्तवमा विमारीको बीज हो भय । विमारी अर्थात् भय भइरहनु । भय वा डर भइरहनु पनि सबै विमारीको जड हो । जब हाम्रो सोचमा शंका भय आउछ तब त्यसलाई बारम्बार सोच्नाले त्यो विमारी हाम्रो तनमा पैदा हुन थाल्छ । जीवनको मूल्य र महत्वको गरिमालाई उच्च मूल्यांकन दिनु हरेकको लागी आवश्यक छ जसले जीवनको उंचाईलाई अझ बढाउंदै लैजान्छ ।

फलस्वरुप सकारात्मक व्यक्तित्व विकास स्वभाविक रुपमा निमार्ण हुदै जीवन र जगतलाई हेर्ने दृष्टिकोण झन् झन् फराकिलो वन्दै जानेछ । सम्पूर्ण सफल व्यक्तित्वहरुको मूल आधार नै सकारात्मक जीवनशैली हो भन्ने कुरा विश्वमा चलिरहेको लहर अनेकौ पुस्तक तथा प्रवचनहरुबाट प्रष्ट भैसकेको छ । यो सवैको साझा अवधारणा हो यद्यपी मार्ग र मान्यताहरु अनेकौ किन नहुन । अद्यात्म र भौतिक संसारको प्रगतिको मूल कडी सकारात्मक सोच हो भन्नेमा सवै सहमत रहेको पाइन्छ । ओम् शान्ति ।।।

लेखक डिभिजन वन कार्यालय,दाङका अधिकृत एवं आद्यात्मिक अभियन्ता÷ब्रह्माकुमारीज घोराहीका प्रवक्ता हुन ।