अब हरेक वडामा वाईफाई

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडा–वडासम्म वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रम मै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए ।

वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना रहेको छ । टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए ।

कम्पनीले वाईफाई सँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्थागत प्रयोग कर्तालाई फिक्स्ड टेलिफोन उत्ति कै आवश्यक र महत्वपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुने उनले बताए । टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराउने डिभाइसमा टेलिफोनको छुट्टै पोर्ट हुने छ ।

त्यसैमार्फत सामान्य टेलिफोनमा जोडेर कुराकानीका लागि प्रयोग गर्न सकिने छ । उक्त डिभाइसमा सिमकार्ड प्रयोग हुने छ । यद्यपि त्यसको नम्बर भने टेलिकमले अहिले जिल्ला अनुसार उपलब्ध गराइरहेको कोडबाट शुरु हुनेछ । टेलिकमले गाउँ–गाउँसम्म विस्तार गरेको सीडीएमए को फिक्स्ड फोन विस्थापन गर्ने र वाइम्याक्स पनि प्रभावकारी हुन छाडेपछि यी दुवैलाई समाहित गरेर नयाँ योजना अगाडि सारेको हो ।

तत्काल संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराइने यो सुविधा व्यक्तिगत प्रयोगकर्ता लाई टेलिकमले उपलब्ध नगराइने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । ‘सर्वसाधारणमा व्यापकरूपमा गयौँ भने ब्यान्डविथ सबै यसमै प्रयोग हुन्छ, त्यसो हुँदा मोबाइल ब्रोडब्यान्ड महँगो हुन्छ’, उनले भने– ‘धेरै बाँडेर रिसोर्स सकियो भने फेरि रिसोर्स थप्नुपर्छ, जुन निकै सीमित छ ।’

व्यक्तिगत प्रयोगकर्ताको हकमा मोबाइल ब्रोड ब्यान्डको पहुँच र गुणस्तरलाई पनि बढी जोड दिइने उनले बताए । टेलिकमले संस्थागत प्रयोग कर्तालाई उपलब्ध गराउन लागेको वाईफाई सुविधाका लागि प्रयोग हुने डिभाइस तुलनात्मक रूपमा महंगो हुनेछ । यद्यपि सकेसम्म सस्तोमै सेवा उपलब्ध गराउने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले उक्त डिभाइसमा टेलिफोन परीक्षणको काम भइरहेको छ । आठ सय ब्यान्डको फ्रिक्वेन्सी उपयोग हुने भएकाले टावरबाट लामो दूरीमा पनि यो सुविधा उपलब्ध गराउन सकिने उनको भनाइ रहेको छ । कम्पनीले आगामी आर्थिक वर्षभित्रै हरेक वडामा यो सुविधा पु¥याउने गरी योजना तयार गरेको जनाएको छ ।