दाङमा आयो बाँदर धपाउने बन्दुक,सलह धपाउन पनि काम लाग्ने विश्वास

दाङ, २९ असार । दाङमा बाँदर धपाउने बन्द आइपुगेको छ । बाली विनाशक जनावर र किरा धपाउन पनि सो बन्दुक प्रयोग गरिने भएकाले दाङ भित्र्याइएको हो । भौतिक क्षतिविना नै सहज रुपमा बालीनाली नोक्सान गर्ने जीवजन्तु र किरा धपाउन प्रयोग गर्न सो बन्दुक प्रभावकारी हुने त्यसका प्रयोगकर्ताले बताएका छन् ।

घोराही उपमहानगरपालिका–१४ निवासी स्थानीय युवा नरेन्द्र पुनको सक्रियतामा जिल्लामा भित्र्याइएको हो । स्याङ्जाका वालिङ नगरपालिका निवासी भविश्वर कोइरालाले परिक्षणका लागि पठाइदिएको पुनले बताए ।

‘स्याङ्जालगायतका जिल्लाहरुमा बाँदर, बँदेललगायतका जंगली जनावरहरु धपाउन प्रयोग गरिँदै आएको छ’, पुनले भने– ‘सलह किरा पनि ध्वनिकै कारण भाग्छ भन्ने सुनेकाले प्रयोग गर्न ल्याएका हौं ।’ पछिल्लो समय सलह किराले मकै, तरकारीलगायतका बालीमा नोक्सान गर्न थालेपछि परीक्षणका लागि ल्याइए पनि प्रयोग गर्न भने नपाएको बताए ।

‘जंगली जनावर धपाउन प्रयोग गर्ने बन्दुक ल्याए पनि प्रयोग गर्न पाएका छैनौ’, उनले भने– ‘सलह किरा आएपछि यसलाई प्रयोग गर्ने तयारीमा छौं ।’ आइतवार देउखुरीका विभिन्न क्षेत्रमा सलह किरा भित्रिएको खबर पाए पनि सोमवार विहान जाँदा किरा नभेटिँदा प्रयोग गर्न नसकिएको बताए ।

पुनले सलह, बाँदर, बँदेललगायतका जंगली जनावरले रोपेको अन्नबालीमा खाइदिएर समस्या गरेको भए स्थानीयलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् । बाँदर धपाउन प्रयोग गरिने बन्दुकले सलहलगायत जंगली जीवजन्तुहरु धपाउन प्रभावकारी भएमा थप बन्दुक सहयोग गर्न आविष्कारक महाबीर पुन इच्छुक रहेको पुनले जानकारी दिएका छन ।

सामान्य प्लाष्टिक पाइपलगायतको सामग्रीको माध्यमबाट बनाएको बन्दुक प्रभावकारी देखिएको उनले बताए । यसलाई कार्बनको धुलो, शुद्ध पानी र लाइटरका माध्यमबाट पट्काउन सकिने आविष्कारकले बताएका छन् ।