लेखक संघले सम्झियो भानुलाई

दाङ, २९ असार । लेखक संघ दाङले २०७औ भानु जयन्ती मनाएको छ । संघले सोमवार एक कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाएको हो ।

कार्यक्रम संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा आदिकवि भानुभक्त आचार्य कृतित्वका बारेमा डा. हिमलाल पन्थी र हरिप्रसाद पाण्डेले प्रकाश पारेका थिए ।

जनजिब्रोमा बस्नेगरी रामायणको नेपाली भाषामा उल्था गरेर आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा अतुलनीय योगदान दिएको बक्ताहरूले चर्चा गरेका थिए । उनीहरूले देवभाषालाई मानवभाषामा रूपान्तरण गर्ने भानुभक्त आचार्यलाई नेपाली भाषा संस्कृतिका गहनाका रूपमा पनि चर्चा गरेका थिए ।

त्यस अवसरमा राप्ती साहित्य परिषद् प्यूठानका अध्यक्ष देवेन्द्रकुमार रिजाल, गोपालप्रसाद अभिलाषी, सन्ध्या रेग्मी, गोविन्द पौडेलले भानु सम्वन्धी कविता वाचन गरेका थिए । उनीहरुले भानुभक्तले नेपाली साहित्यमा खेलेको भूमिकाको चर्चासमेत गरेका थिए । संघका कोषाध्यक्ष सन्ध्या रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।

यसैबीच भानु जयन्तीको अवसरमा २ वटा साहित्यिक पत्रिकाको लोकार्पण गरिएको छ । वीर भक्ति थापा स्मृति प्रतिष्ठान रातोडाँडा लमहीको हलमा सम्पन्न कार्यक्रममा भानुको जीवनीबारे साहित्यकार गंगानाथ कोइरालाले चर्चा गरेका थिए भने संस्करण चौमासिकको समीक्षा उदयराज आले र लावा डगरको चर्चा प्रधान सम्पादक छविलाल कोपिलाले गरेका थिए ।

भक्ति थापा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित संस्करण दोस्रो अंक र थारू भाषा तथा साहित्य संरक्षण मञ्चद्वारा प्रकाशित लावा डगर ४१ अंकको समीक्षा गर्नेहरूमा जागेश्वर शर्मा घिमिरे, दामोदर पाण्डे, शशिधर ज्ञवाली, कृष्णराज खनाल, बामदेव पौडेल, गणेश गिरी, पदम अधिकारी, गंगा अधिकारी र लावा अग्रासनका सम्पादक सन्तोष दहितलगायतले गरेका थिए । संस्करणका प्रधान सम्पादक निमबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।