मन्सु बस्नेत
आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । नेपालमा फेब्रुअरीदेखि मे महिनासम्म पर्यटकको आवागमन बढी हुने समय हो तर यही मुख्य सिजनमा पर्यटक शून्य प्रायः हुँदा होटेललगायत पर्यटन व्यवसाय बन्द छन् ।
पर्यटनको आवागमन घट्दा विदेशी मुद्राको स्रोतमा पनि धक्का पुगी सोधान्तर स्थिति नकारात्मक बन्ने जोखिम बढेको छ । वि.सं. २०७२ को भूकम्पपछि पनि यति सुनसान नभएको पर्यटन क्षेत्रमा अहिले कोरोनाको भयावहले ३ महिना यता सुनसान छाएको छ । यसको सिधा प्रभाव देसको अर्थतन्त्रमा परेको छ ।
१. नेपालमा पर्यटन क्षेत्रको इतिहास
विश्वमा पर्यटन व्यवसाय औपचारिक रुपमा १८४१ मा भए पनि नेपालमा भने यो १०४ वर्ष राणा शासनमा विदेशीलाई खुल्ला रुपमा भ्रमण गर्ने बन्देज लगाएको कारण २००७ सालपछि सुरुवात भएको पाइन्छ । साढे ६ दशकमा नेपालको पर्यटन क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । वि.सं. २०१४ मा पर्यटन विकास बोर्डको गठन पश्चात् नेपालमा पर्यटन क्षेत्रको संस्थागत विकास भएको पाइन्छ । यसैगरी नेपालमा पर्यटन क्षेत्रमा क्रमिक सुधार हुँदै गई पर्यटकको संख्यामा पनि लगातार बृद्धि भइरहेकोे थियोे ।
२. पर्यटन क्षेत्रको अवस्था
नेपालको कुल ग्राह्यस्थ उत्पादनमा २ दशमलव ६ प्रतिशत (१५औं योजना अनुसार) हिस्सा ओगटेको पर्यटन क्षेत्र कोरोनाकै कारण धरासायी बन्दै गएको छ । विदेशी मुद्रा भिœयाउने पर्यटन क्षेत्र नेपाली अर्थ तन्त्रको लाइफलाइन हो । ओल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले सन् २०१८ मा गरेको अनुमान अनुसार पर्यटन क्षेत्रले नेपालमा करिब ५ लाख प्रत्यक्ष र त्यत्तिकै अप्रत्यक्ष रोजगार प्रदान गरेको आँकलन गरेको थियो । आर्थिक वर्ष २०७५÷०७६मा हेर्ने हो भने पर्यटन क्षेत्रले नेपाललाई झण्डै ७३ अर्ब आम्दानी दिएको छ । आर्थिक समृद्धिको मुख्य आधार सेवाजन्य उद्योग भएकोले यसले रोजगारी प्रर्बद्धनमा बढी योगदान पु¥याएको छ ।
जनवरी महिनामा झण्डै ८० हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा हाल कोरोनाकै कारण घट्दै गएको छ । विश्व पर्यटन संगठनले सन् २०२० मा कोरोनाकै कारण ६० देखि ८० प्रतिशत घट्ने उल्लेख गरेको छ । पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रोजगारीका अवसर जोखिममा पर्ने संगठनको भनाई छ । सन् २०१८ मा हवाई मार्गबाट आएका पर्यटक संख्या झण्डै १२ लाख पुगेको थियो ।
३. पर्यटन क्षेत्रको चुनौती
कोरोना कहरले पर्यटन क्षेत्रलाई समस्यामा पारेको छ । महामारीको अन्त्य अनिश्चित भएकोले पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न चुनौती रहेको छ । विदेशी मुद्रा आर्जन गर्ने भरपर्दाे सेवाजन्य उद्योगलाई कोरोना कहरले नराम्रोसँग गाँजेको छ । यस क्षेत्रको कोरोनाकै कारण रिकभर हुन ३ वर्ष लाग्ने अनुमान गरिएको छ । यस क्षेत्रलाई पुरानो लयमा फर्काउन अर्काे चुनौती रहेको छ । एकातर्फ भइराखेका पूर्वधारहरु तथा सेवामा व्यापक सुधार ल्याइने र अर्कोतर्फ कोरोना कहरपछि पर्यटकलाई आकर्षित गर्ने भन्ने कुराको चुनौती थपिएको छ ।
४. नीतिगत प्रयास
आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र कोरोनाले नराम्रो गरी असर पारेपछि त्यसको पुनर्उत्थानका उपायको खोजी सुरु भएको छ । कोरोनबाट पुगेको क्षतिको राहत स्वरुप सरकारको बजेट तथा कार्यक्रममार्फत् पर्यटन क्षेत्रका कर्मचारीलाई पुनः कर्जाका लागि ५ प्रतिशत व्याज दरमा कोषबाट ऋण लिने व्यवस्था भएको जानकारी गराएको छ ।
बजेटबाट पर्यटन क्षेत्रको पुनर्उत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा २० करोड रुपैयाँको बजेट व्यवस्था गरिएको छ । आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि कर्मचारीलाई तलवी बिदा दिने कार्यक्रम ल्याउने भनेको छ । कोरानाको कारण स्थगन भएको नेपाल भ्रमण वर्ष २०२० सन् २०२२ लाई भ्रमण वर्ष मनाउने भएको छ ।
५. आगामी कार्यदिशा के ?
कोरोना कहरले थलिएको पर्यटन क्षेत्रले यस वर्ष ठूलो मन्दीको मार खेप्नुपर्ने प्रष्ट देखिन्छ । कोरोनाको प्रभाव अझै केही समय रहने हुँदा सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्र समेतको संयुक्त सोच र तत्परतामा परिवर्तनको आवश्यकता छ । जोखिम र अप्ठ्यारो अवस्थामा पनि अभूतपूर्ण परिवर्तन र लाभ लिन सकिन्छ भने जस्तै बन्दाबन्दी अवस्थामा पनि सरकारले कसरी सुरक्षित आन्तरिक तथा वाह्य पर्यटक प्रबद्र्धन गर्ने भन्ने कुराको गृहकार्य सुरु गर्न जरुरी छ ।