कृष्णराज डी.सी.
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान् कोइरालाले आमसञ्चारको माध्यममा भन्नुभएको सुनियो ‘परीक्षणको दायरा बढाउनु पर्छ भनेर पटक–पटक भनेको छु, सुनुवाइ नभएपछि विज्ञ समूहका छलफलमा जानै छोडेँ । अहिले जसरी परीक्षण घटाएर संक्रमित घडेको देखाउन खोजिएको छ, यो मूर्खता हो ।’
खास गरी चिकित्सा विज्ञानका क्षेत्रमा करोडौँ नेपालीका एउटै मुटु मानिने डा. भगवान् कोइरालाको उपर्यूक्त अभिव्यक्तिले सबैलाई ध्यानाकर्षण मलाईजस्तै गरायो होला भन्ने मलाई लाग्दछ । आज मानव सभ्यताको विकास भएको करोडौँ वर्ष भइसकेको छ । समयका विभिन्न कालखण्डहरुमा मानव जातिले विश्वजनीन रुपमा विभिन्न सन्त्रासहरु भोग्दै आएको इतिहास भेटिन्छ ।
त्यस्ता सन्त्रासहरु कहिले मानव स्वयम्ले नै उत्पन्न गरेको देखिन्छ भने कहिले प्रकृतिले उत्पन्न गरेको देखिन्छ । प्रथम र द्वितीय विश्वयुद्धको सन्त्रास मानव निर्मित थिए भने विभिन्न समयका महामारीहरु जस्तै : १४औँ शताब्दीको व्युबोनिक प्लेग, स्पेनिस फ्लू र अहिलेको कोरोना भाइरस प्रकृतिजन्य सन्त्रासहरु हुन् । हुन त यस्ता विभिन्न रोगहरु पहिले पनि थिए होला ।
तर, त्यस समयमा विज्ञान र प्रविधिको विकास नभएको कारणले मानिस अकालमा मर्न विवश भएको हुनुपर्छ । आज यस्ता कोरोनाजस्ता महामारी वाहेक तमाम दीर्घ रोगहरु (सुगर, क्यान्सर, निमोनिया, क्षय रोग, उच्च रक्तचाप, मृगौला खराब हुनु आदि ।) रोग देखापरेका छन् । के यस्ता रोगहरु पहिले थिएनन् होला र ? जरुर थिए होला । तर वैज्ञानिक प्रविधिको अभावको कारणले गर्दा पत्ता नलागेको मात्र हुनसक्छ ।
प्रशिद्ध जीव वैज्ञानिक चाल्र्स डार्विनले प्रकृतिलाई नै भगवान् मानेका छन् । प्रकृतिभन्दा महान् यस संसारमा कोही हुन सक्तैन । तसर्थ, प्रकृतिको अगाडि संसारका समस्त प्राणीहरु नतमस्तक बन्न विवश हुन्छन् भनेका छन् । उनका शब्दमा भन्नुपर्दा ‘प्राणीले अस्तित्व रक्षाको लागि संघर्ष त गरिरहन्छ तर जुन प्राणी प्रकृतिमा आफू बाँच्न अनुकूल हुन्छ त्यही प्राणी मात्र बाँच्दछ, अन्य प्राणीहरुको अस्तित्व समाप्त हुन्छ’ भनेका छन् ।
तसर्थ हजारौँ वर्ष पहिले जैविक अस्तित्व भएको डायनासोर आज यस पृथ्वीमा उसको अवशेषसमेत भेटिँदैन । मानिस पनि एकप्रकारको यस्तो अदभूत क्षमता भएको प्राणी होइन जो प्रकृतिको नियम विरुद्ध गएर पनि बाँच्न सक्तछ । उसलाई पनि प्रकृतिको हावा, पानी, तापक्रम आदि सबैको अनुकूलता मिल्नु पर्दछ ।
तर, मिलेन भने ऊ आफू समाप्त भएर जान्छ । आज हामी समक्ष देखापरेको कोरोना भाइरस विश्वकै निमित्त ठूलो गम्भीर समस्याको रुपमा देखापरेको छ । यसको खास कारण मानव क्रियाकलाप र प्रकृतिकाबीच सन्तुलन कायम नहुनु हो । आज मानिसलाई आफ्नो सैनिक शक्तिको अहंकारले पागल गराइरहेको अवस्थामा उसका सारा सैन्य गतिविधिहरु र विभिन्न हातहतियारहरु आदि सबैलाई निस्तेज बनाएर एउटा अदृश्य जीवाणुको मिसाइल प्रयोग गरेर प्रकृतिले मानव सभ्यतामाथि युद्ध छेँडिरहेको छ ।
आज संसारका शक्ति राष्ट्रहरु जसले आफूले प्रकृतिमाथि विजय हासिल गरेको घोषणा गरिसकेका छन् जस्तै चीन, अमेरिका, भारत, बेलायत, रुस आदि धेरै एसियन, युरोपियन र अमेरिकन मुलुकहरुलाई समेत यो केरोना भाइरसको महामारीले हम्य–हम्य पारिरहेको छ । उनीहरुले गरेका सम्पूर्ण वैज्ञानिक आविष्कारहरु एकप्रकारले असफल बनिसकेका छन् । कोरोनाकै कारणले विश्वको अर्थतन्त्र तहसनहस भइसकेको छ ।
तैपनि मानिस आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत छ । अहिले कोरोनाले विश्वका कराडौँ मानिसमाथि संक्रमण गरिसकेको छ भने लाखौँ मानिसहरुको ज्यान समेत लिइसकेको छ । यस्तो अतिभयावह परिस्थितिमा यस पृथ्वीमा अवस्थित कुनै पनि देशहरु कोरोनामुक्त बन्नसकेका छैनन् । तुलनात्मक रुपमा एसियन र अफ्रिकन मुलुकहरुभन्दा युरोपियन र अमेरिकन मुलुकहरुमा यसले बढी क्षति पु¥याएको भन्ने समाचारहरु प्राप्त भए पनि कुनै पनि देशलाई नछोएको भने कहीँ छैन ।
यसप्रकारको विश्व विपतमा सचेत प्राणी प्रत्येक मानिस आ–आफ्नो स्थान र हैसियतमा सचेत हुनु अतिआवश्यक देखिन्छ । तर, दुर्भाग्य हामी आफू बढी लालबुझक्कड बन्ने अथवा सर्वेसर्वा मै हूँ भन्ने खराब प्रवृत्तिको कारणले हाम्रो देश नेपालमा पनि विश्वका अन्य देशहरुमा जस्तै ठूलै क्षति नपु¥याउला भन्न सकिने आधार आज हामीसँग छैन ।
तसर्थ, अहिले सरकार भनेको तीन करोड नेपाली जनताको अभिभावक वा भगवान् जे भने पनि त्यही हो । यदि उसले समयमा सही निर्णय लिन सकेन भने त्यसको गम्भीर परिणाम सम्पूर्ण देशवासीहरुले भोग्नुपर्ने अवश्य हुन्छ । तसर्थ, सरकारी निकायमा रहेका उच्च पदस्थ व्यक्तित्वहरु बढी संवेदनशील, धैर्य र जिम्मेवार भएर प्रस्तुत हुनुपर्दछ ।
अहिले वेमौसमी बाजा बजाएर सरकार सञ्चालन गर्ने जिम्मेवारी नेपाली जनताबाट प्राप्त गरेको दल (पार्टी) स्वयम् ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ प्रधानमन्त्रीको कुर्सीको निमित्त होडबाजी गर्दै गरेको देखिन्छ । यतिबेला यस्तो गर्ने समय होइन ।
अझ पाँचवर्षे कार्यकालमा एउटै पार्टीले आफ्नो सरकार चलाओस् भन्ने मूलमान्यताका साथ करिब दुइतिहाईको वहुमत प्रदान गरेको नेपाली जनताको जनविश्वासको खिल्ली उडाउने काम पनि अहिले सरकारमा संलग्न दलले गरेको अनुभूति पक्कै पनि नेपाली जनताले गरेको हुनुपर्छ ।
अझ कोरोनाजस्तो महामारी रोकथामका लागि विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरुको खरिद प्रक्रिया आदिमा विभिन्न अनावश्यक हो न हो टीकाटिप्पणी सरकारमाथि गरिनुपर्ने स्थितिको सिर्जना गर्नु शोभनीय कुरा अवश्य होइन । कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि सरकारले प्रयास नगरेको भन्न त मिल्दैन ।
विदेशबाट स्वदेशमा भित्रिने जनचापलाई सुव्यवस्थित गर्न सरकारले आइसोलेशन वार्ड, कोरोना विशेष अस्पताल, क्वारेन्टाइन आदिका मार्फत् भरमग्दुर प्रयत्न गरेकै छ । तर, बीच–बीचमा उत्पन्न हुने सत्तासंघर्षका जोडघटाउले ठूलै विपत्ति ननिम्त्याउला भन्न पनि सकिन्न । कोरोना महामारीको अतिरिक्त अहिले विभिन्न जिल्लाहरुमा बाढी, पहिरो आदिजस्ता प्राकृतिक प्रकोपको कारणले अकालमा धेरैले आफ्नो ज्यान गुमाउँदै आएका छन् ।
यद्यपि, आजका मितिसम्म कोरोनाको कारणले ३८ जना मानिसको मात्र ज्यान गएको सन्दर्भलाई नियाल्दा अन्य राष्ट्रहरुको तुलनामा यो मानवक्षति न्यून देखिए पनि राम्रो भने होइन । कतिपय मानिसहरु होमक्वारेन्टाइनमा, आइसोलेशन अस्पतालमा र अन्य सरकारद्वारा निर्मिैत क्वारेन्टाइन अस्पतालमा बसेकै छन् ।
तर यतिखेर सरकारले पिसिआर परीक्षणको दायरा घटाउँदै आएको अथवा पिसिआर परीक्षण गर्ने अस्पतालहरुमा परीक्षणका आवश्यक सामग्रीहरुको अभाव भएको र बजेटको अभावको कारणले केही सरकारी अस्पतालहरुले सशुल्क परीक्षण गर्नुपर्ने अवस्थाको सिर्जना भएको कुरा बताएपछि आम जनसमुदायमा निराशा छाएको देखिन्छ । लामो समयको लकडाउन
(बन्दाबन्दी)को अवस्थाको कारणले आर्थिक अभावको पीडा भोग्नुपरेका नेपाली जनताले यदि सशुल्क कोरोनाको परीक्षण र उपचार गराउनुपर्ने अवस्थाको सिर्जना भयो भने अधिकांश गरिबीको रेखामुनि रहेका उत्पीडित तथा सीमान्तकृतवर्गका नेपाली जनताको अवस्था कस्तो होला ? त्यसको पूर्वानुमान विभिन्न तहका सरकारहरुले गर्नुपर्ने देखिन्छ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्षको माथिको भनाईले यतिखेर आम नेपाली जनसमुदायमा अघोर निराशाको अवस्था उत्पन्न हुने स्थिति देखापर्ने संकेत दिएको छ । उहाँले सरकारलाई परीक्षणको दायरा बढाउनुपर्छ भन्ने सुझाव पटक–पटक दिएको तर सरकारले उक्त सुझाव नमानेपछि आफू विज्ञ समूहको छलफलमा जानै छोडेको कुरा बताउनु निश्चित रुपमा नेपाल र नेपालीको लागि शुभलक्षण होइन ।
पिसिआर परीक्षण नै नगरेर संक्रमितको संख्या देखाउन खोज्नुलाई उहाँले मूर्खता हो भन्नभएको छ । त्यति ठूलो मानिसले यति भनिसकेपछि सम्बन्धित निकायको ध्यान जानु अतिआवश्यक विषयवस्तु हो । अझ सरकारले गरेको निर्देशनलाई अवज्ञा गरेर कतिपय व्यक्तिहरु मास्क, सेनिटाइजर, पन्जा, चश्मा आदि सामग्रीहरुको उपयोग नै नगरी जथाभावी रुपमा समुदायसमक्ष प्रस्तुत भएको देखिन्छ ।
माल, बैंकहरु, यातायातका साधन, बाटोघाटो, अस्पताल आदि विभिन्न स्थानमा मानिसहरुको समूहले सामाजिक दूरी कायम नगरी भीडभाड गरेको देखिन्छ । यस्तो लापरवाहीले ठूलै विपत्ति ननिम्त्याउला भन्ने आधार हामीसँग के छ ? अझ सरकारका विभिन्न जिम्मेवारी सम्हालेका व्यक्तिहरुले आफू नै कोरोना रोगको विशेषज्ञ भएजस्तो गरी यो सामान्य रुघाखोकी हो, यसले हामीलाई केही असर गर्दैन, बेसार, तातो पानी, मरिच, अदूवा आदिजस्ता जडिबुटीको सेवनले यसलाई समाप्त पार्न सकिन्छ साथै नेपालीको औषत आयु धेरै बढेको छ र उनीहरुको रोगसँग लड्ने क्षमता (युमिनिटी पावर) पनि बढी छ भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि त्यसको प्रभाव आम नेपाली जनसमुदायमा कस्तो पर्न जाला भन्ने अनुमान गर्नु पर्छ कि पर्दैन ? यो आम नेपाली जनसमुदायको प्रश्न हो ।
यतिखेर सरकारले हो न हो निकट भविष्यमै शैक्षिक संघसंस्थाहरु पनि सञ्चालन गर्ने भन्ने आवाजहरु सुनिन थालेका छन् । यदि पूर्णरुपमा कोरोनाको संक्रमण नहटिकन शैक्षिक संस्थाहरु सञ्चालन गर्ने प्रयास सरकारले ग¥यो भने त्यसको गम्भीर परिणाम नेपाली जनताले भोग्नुपर्ने दिन टाढा हुने छैन । यसको साथै जिल्लभित्र सवारी साधनहरु सञ्चालन गर्ने निर्णय यद्यपि सरकारले गरे पनि यातायात व्यवसायीहरु भने उत्साही भएको देखिएन । किनभने कोरोनाको खतरा खुल्ला कोठाभन्दा बन्द कोठा अथवा गाडीभित्र बढी हुने देखिन्छ ।
हामी आफू कुनै पनि काम गर्दा अरुको आधारमा गर्ने गर्दछौँ । तर, त्यसको परिणामको भागेदार आफू हुन्छौँ । तसर्थ, अरुले कहाँ के गरे भन्नुभन्दा पनि आफ्नो वस्तुगत यथार्थ वा धरातलीय यथार्थ कस्तो छ ? त्यसैको आधारमा निर्णय लिनु राम्रो हुने छ । अहिले सरकारले विकास निर्माणका विभिन्न योजनाहरु स्थानीय स्तरीय, प्रदेश स्तरीय र संघीय सरकारका माध्यमबाट धमाधम गर्दै गरेको छ ।
मुलुकको धेरैजसो धनराशी विकास निर्माणमा लगानी गर्ने योजना पनि बनाएको छ । तर, त्योभन्दा पनि बढी आवश्यक कुरा भने कोरोनाको महामारीलाई अन्त्य गर्नु हो । अहिले कुनै दातृ निकाय वा वैदेशिक सहयोग नेपालले पाउने सम्भावना न्यून छ । किनभने ती दाता राष्ट्रहरु पनि कोरोनाको महामारीबाट पीडित छन् ।
उनीहरुलाई कुन देशलाई कति सहयोग गर्ने भन्दा पनि आफू कसरी बाँच्ने वा सुरक्षित हुने चिन्ताले बढी पिरोलेको छ । तसर्थ, यतिखेर नेपालले आफ्नो सीमित स्रोत र साधनलाई विविध विकास निर्माण कार्य भन्दा पनि देशवासीलाई कसरी बचाउने भन्नेतिर चिन्तित हुनुपर्ने देखिन्छ । किनभने यदि मानव विनाश नै रोकिएन भने विकास कसको निम्ति ? रात रहे अग्रात पलाउँछ भनेझैँ पहिले त प्रत्येक व्यक्ति आफू बाँच्नु प¥यो ।
पिउने पनी, खाद्यान्न, लत्ताकपडा, आवास, यायात, औषधि आदि दैनिक उपभोग्य वस्तुमा सरकारले विशिष्ट पहिचान गरी प्रत्येक देशवासीलाई समान अवसर उपलब्ध गराउनुप¥यो । कुनै दल, विचार, आग्रहपूर्वाग्रह, जाति, धर्म, वर्ग, लिङ्ग आदिका आधारमा यदि सरकारी अवसरमा विभेद देखियो भने त्यसको परिणाम प्रतिकूल नै हुन जाने देखिन्छ ।
निष्कर्षमा मानव विनाशलाई अन्त्य गरी सम्पूर्ण देशवासीहरुलाई स्वास्थ्य सुरक्षा र मानसिक र भौतिक दुवै प्रकारको सहयोग सरकारले गर्नु अत्यन्त आवश्यक छ । यसको साथै जिम्मेवार निकायमा रहनुभएका व्यक्तित्वहरुले जिम्मेवारीपूर्ण अभिव्यक्ति दिनु पर्दछ । हेक्का रहोस् अहिले सरकारलाई ढाल्ने र आ–आफ्नो सोगतस्वार्थ पूरा गर्ने कुबद्धि कुनै राजनेता, दल वा कूटनीतिज्ञहरुमा नआओस् ।
यदि यस प्रकारको कुबद्धि पलायो भने कवि भूपि शेरचनको ‘हामी रंगरोगन छुटेका, टुटेका, फुटेका पुरानो क्यारम्बोर्डका गोटी हौँ, एउटा मनोरञ्जक खेलका सामग्री, एउटा खेलाडीमाथि आश्रित, आफ्नो गति हराएका एउटा ‘स्ट्राइकर’द्वारा सञ्चालित हामी मानिस कम र बढ्ता गोटी हौँ आफू खुशी मिल्न नसक्ने, आफू खुशी छुट्टिन नसक्ने’ भन्ने कविताले सार्थकता प्राप्त गर्ने छ ।