दाङमा ६०९ संक्रमितमध्ये ४७९ जना घर फर्किए

गोरक्ष समाचारदाता
दाङ, २९ असार । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दाङ जिल्लामा कोरोना संक्रमण देखिएर कोरोना विशेष अस्पताल बेलझुण्डी तथा विभिन्न आइसोलेसन सेन्टरमा भर्ना भएका ६ सय ९ जनामध्ये आइतवारसम्म ४ सय ७९ जना उपचारपछि घर फर्किएका छन् ।

जिल्लाका दशवटै स्थानीय तहका स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार उपचारपछि घर फर्कनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका २ सय ५५ जना रहेका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार बंगलाचुली गाउँपालिकामा १ सय ५१ जना, तुलसीपुर उपमहानगरपालिकामा २७ जना, लमही नगरपालिकामा १२ जना, राप्ती गाउँपालिकामा १४ जना, गढवा गाउँपालिकामा १० जना, शान्तिनगर गाउँपालिकामा ५ जना, बबई गाउँपालिकामा ४ जना र राजपुर गाउँपालिकामा तीन जना रहेका छन् ।

उनका अनुसार अब जिल्लामा १ सय २७ जना कोरोना संक्रमितहरु उपचाररत अवस्थामा रहेका छन् । उनीहरुमध्ये कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४७ जना रहेका छन् भने बाँकी विभिन्न गाउँपालिकाले निर्माण गरेका आइसोलेन सेन्टरमा उपचाररत रहेका छन् ।

केन्द्रका अनुसार हालसम्म जिल्लामा घोराही उपमहानगरपालिकामा २ सय ६३ जना, बंगलाचुली गाउँपालिकामा १ सय ५७ जना, तुलसीपुर उपमहानगरपालिकामा ४९ जना, गढवा गाउँपालिकामा ३५ जना, राप्ती गाउँपालिकामा २९ जना, लमही नगरपालिकामा २४ जना, शान्तिनगर गाउँपालिकामा १६ जना, बबई गाउँपालिकामा १५ जना र दंगीशरण गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ । जसमा एकजना घोराही–१८ का रोजगारीका क्रममा भारतको दिल्लीमा गएको बेला मृत्यु भएको थियो भने एकजना परिचय नखुलेको महिलाको मृत्यु भएको छ । घोराही–१५ को ट्राफिकचोकमा अचेत अवस्थामा फेला परेकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।

क्वारेन्टाइनमा ४ सय २६ जना

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा अहिले ४ सय २६ जना क्वारेन्टाइनमा रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिकामा १ सय ७७ जना, घोराही उपमहानगरपालिकामा ३० जना, गढवा गाउँपालिकामा ७७ जना, राजपुर गाउँपालिकामा ३२ जना, दंगीशरण गाउँपालिकामा २४ जना, शान्तिनगर गाउँपालिकामा २२ जना, राप्ती गाउँपालिकामा १८ जना, बबई गाउँपालिकामा ४१ जना र लमही नगरपालिकाको क्वारेन्टाइनमा ५ जना रहेको केन्द्रका सूचना व्यवस्थापन अधिकृत अर्यालले जानकारी दिएका छन् ।

जिल्ला बाहिर, भारत र तेस्रो मुलुकबाट फर्किएकाहरु अहिले क्वारेन्टाइनमा बस्दै आएका छन् । कतिपय स्थानीय तहहरुले भने तेस्रो मुलुकबाट आएका सिधै होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने गरेका छन् ।

फाइल फोटो