निरन्तर बर्षाले फेरि अनिदोमै कपुरकोट

गोरक्ष समाचारदाता
सल्यान, २९ असार । पाँच बर्षअघि कपुरकोट गाउँपालिका–३ मा ६ मिटर जमिन भासिएको थियो, अहिले फेरि त्यही भागमा जमिन केही भासिन थालेपछि सिंगै कपुरकोट शुक्रवारदेखि अनिँदो छ । भारी बर्षातसँगै यही कारण बजारकै छेउमा रहेका घर ढल्केका छन् । सन्त्रासमै ढल्केको घरमा करिब ६ वर्षअघिदेखि व्यवसाय सञ्चालन समेत हुँदै आएको छ । तर कपुरकोट खस्दैन भनेर विश्वास गर्नेगरी पहिरो रोकथामका काम भने हुन सकेका छैनन् ।

कपुरकोट–३ मा रहेको खारा पहिरोले यहाँका करिब सयभन्दा बढी घरधुरीलाई जोखिमले पिरोलिइरहेको वर्षौं बितेको छ । उनीहरुले यस ठाउँ छोडेर न त कतै अन्त जान सके न राज्यले कुनै वैकल्पिक व्यवस्थापका लागि पहल गरेको छ ।

पहिरोले यहाँको विद्यालयसमेत भासिएपछि विद्यालयलाई स्थानान्तरण गरिएको छ भने भासिएको करिब एक किलोमिटर सडकको हाल अहिलेसम्म उस्तै रहेको छ । पाका नागरिकका अनुसार यदि कपुरकोट खस्यो भने, त्यसले तुलसीपुरको बसपार्क क्षेत्रलाई ठूलो मानवीय क्षतिसहित धनजनको क्षति समेत पुग्ने छ, त्यो क्षतिको अहिले एकिन नै गर्न सकिँदैन ।

पहिरो रोकथामका लागि तीन वर्ष पहिलेदेखि सानो–तिनो कार्य गरिरहेको भए पनि पर्याप्त नहुँदा पहिरो रोकिने त कुरै भएन । त्यही बनाउन लागेका संरचनाहरुसमेत बर्सेनी बगाउँदै लगेको छ । खारा पहिरोमा वर्षातमा मात्र हैन सुख्खा याममा समेत पहिरो जाने गरेको कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले बताए ।

उनले भने– ‘पहिरो रोकथामका लागि सानातिना प्रयास भइरहेका छन् तर पनि यस प्रयासले पहिरो रोकिने छाँटकाँट देखिँदैन । एकातिर बनाउँछौँ अर्कोतिर बगाउँछ, यही लुकामारीले पहिरो थामिने अवस्था छैन ।’ जमिन भासिएकै क्षेत्रफलबाट पहिरो गएमा तुलसीपुर उपमहानगर पालिकाको पातुखोला क्षेत्रमा धनजनको क्षति हुने सम्भावना रहेको उनको भनाइ छ ।

अहिलेसम्म पहिरो रोकथामका लागि ३ करोड ८० लाख खर्च भइसक्दा पनि पहिरो रोकिने छाँटकाँट छैन, पहिरोकै कारण खेतीयोग्य जमिनसमेत भासिएपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तिलकबहादुर सेन ठकुरीले २०५२ सालदेखि पहिराको रोकथामका लागि प्रयास गरेको र यहाँको माटो नुनिलो भएकाले जाली छिट्टै गल्ने भएकाले रोकथाममा समस्या भएको बताए । पहिराको रोकथाममा लाग्नुभन्दा पनि अब राज्यले जोखिममा रहेको बस्तीलाई अन्यत्रै स्थानान्तरण गरेमा पहिराको सन्त्रास नहुने उनको भनाइ छ ।

जिल्लामै कपुरकोट क्षेत्रमा बढी पानी पर्ने भएकाले पनि पहिराको त्रास बढी भएको स्थानीयवासी पूर्णबहादुर वलीले बताए । ‘ठूलो पानी परेको दिन रातभरि निन्द्रा लाग्दैन दिउँसो त भागेर बाँचिएला जस्तो लाग्छ तर रातिमा पहिरो गए बालबच्चा लिएर काता जानु ?’ कपुरकोटको खारा पहिरोमा संघीय सरकार समेत जानकार भएकाले यसका बारेमा सोच्नुपर्ने अवस्था आएको कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष मिनबहादुर सेनले बताए । ‘कपुरकोट बजारमै हेर्नुस् जमिन सात मिटर तल भासिएको छ, कति जोखिम छ भन्ने यहीबाट देखिन्छ ।’

गाउँपालिकाले पहिरोका कारण भत्किएका घरहरुमा नबस्न पटक–पटक सार्वजनिक सूचना जारी गरे पनि स्थानीयवासीले नमानेको उनको भनाइ छ । ‘हामीले धेरैपटक उनीहरुलाई जोखिमपूर्ण घरहरुमा नबस्न सूचना जारी गरेका छौँ तर यसका लागि स्थानीयवासीले मान्नु भएन’, उनले भने । अब पहिरो रोकथाममा बजेट खर्च गर्नुभन्दा पनि यहाँका पीडित परिवारहरुलाई स्थानान्तरणको योजना बनाउन आवश्यक भएको उनको भनाइ छ ।

‘यही सडकबाट धेरै पटक राज्यका जिम्मेवार व्यक्तिहरु ओहोर–दोहोर गरिरहेका छन् तर बजार नै भासिँदा पनि ध्यान जान सकेको छैन पहिरो गएमा यहाँ ठूलो धनजनको क्षति हुने अवस्था छ’, उनले भने । खारा पहिरोमा नै जग्गा र घर भएकाहरु बढी प्रभावित भइरहेका छन् । जमिनमा ठूलाठूला चिरा परेकाले पनि कतिबेला पहिरो जान्छ भन्ने डरले स्थानीयवासीलाई सन्त्रास बनाउँदै आएको छ । पहिलेको भन्दा पहिरो रोकथामका कारण कम भए पनि ढुक्क भएर बस्न सक्ने अवस्था नभएको स्थानीयवासीको भनाइ छ ।