अमरराज आचार्य
दाङ, २९ असार । जिल्लाको देउखुरी क्षेत्रमा आइतवार फेरि सलह प्रवेश गरेको छ । यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो । जिल्लाका प्रायः सबै भूभागमा देखिएको सलहले त्यो बेला पनि देउखुरीमै धेरै मकैबाली सखाप पारेको थियो । दोस्रोपटक जिल्लामा सलह प्रवेश गरेसँगै यहाँका किसानहरु चिन्तित भएका छन् ।
भर्खरै मात्र रोपिएको धानमा क्षति पु¥याउने हो कि भन्ने चिन्ता उनीहरुमा रहेको छ । त्यसैगरेर तयारी हुन थालेको मकै, तथा तरकारी बालीमा समेत क्षति पु¥याउने चिन्तामा कृषकहरु रहेका छन् । यद्यपि कृषि विज्ञहरुले भने भर्खरै रोपेको धानबालीमा भने क्षति पु¥याउन नसक्ने बताउँदै आएका छन् । यदि धान राेिपएको खेतमा पानी छ भने सलह पातमा बस्दा पात निहुरिएर पानीमै डुव्ने भएकाले सलहले धानबालीमा खासै क्षति पु¥याउन सक्दैन ।
आइतवार दाङमा आएको सलह यसअघि आएको भन्दा ठूलो संख्यामा रहेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिए । राप्ती गाउँपालिकामा दिउँसो करिब डेढ बजेतिर सलह देखा परेको उनको भनाइ रहेको छ । ‘बसेको खबर आएको छ, के कति क्षति गरेको भनेर संकलन गर्ने काम भइ रहेको छ’, प्रमुख अधिकारीले भने । गाउँपालिकाको अधिकांश स्थानमा बसेको स्थानीयहरुले आफूहरुलाई जानकारी गराएको उनले बताए ।
राप्ती गाउँपालिकाबाट उत्तर तथा पूर्वतिर लागेको उनले बताए । जिल्लाको दक्षिणतर्फ सिमाना भारतबाट सलह प्रवेश गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । उनका अनुसार राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा सलह बसेको जानकारी आएको बताए । ‘सलहले के कति क्षति गरेको त्यसका बारेमा जानकारी लिने काम भइरहेको छ’, प्रमुख धितालले भने । बसेको सलह पूर्व र उत्तरतर्फ लागेको उनले बताए । मकैमा बढी बसेको आफूहरुलाई जानकारी आएको उनको भनाइ रहेको छ ।
यसअघि स्थानीय बासिन्दाको सक्रियताको कारण सलहले बालीमा धेरै क्षति हुनबाट जोगिएको थियो । सलहबाट बाली जोगाउन स्थानीयहरुले उत्सापूर्णरुपमा काम गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘स्थानीय बासिन्दाहरुले जागरुकताका साथ सलह भगाउने काम गर्नुभएको छ’, धितालले भने । स्थानीय बासिन्दाहरुको सहयोगले यसअघि आएको सलहले धेरै क्षति पु¥याउन सकेको थिएन । सहलबाट बाली जोगाउन स्थानीय बासिन्दाहरुले मकै बाली तथा धानको व्याड राखेको स्थानमा धुँवा बनाउने, भाँडा बजाएर ध्वनि निकाल्ने, चिच्याएर कराउने,
बजार क्षेत्रबाट मानिसहरु सलह समाउन गाउँ–गाउँसम्म पुगेका थिए । यसरी समाएर ल्याएको सलह तेलमा तारेर समेत खाएका थिए । यसअघि आएको सलह जिल्लामा ५ सय ९० हेक्टरमा बसेको प्रमुख धितालले बताए । घोराही, शान्तिनगर, तुलसीपुर तथा देउखुरी क्षेत्रमा सलह बसेको ज्ञान केन्द्रले जनाएको छ । धेरै सलह मकैमा बसेको पाइएको उनको भनाइ रहेको छ । त्यसै गरेर तरकारी बाली, फलफूल, धानमा समेत बसेको स्थानीयहरुले जानकारी दिएको ज्ञान केन्द्रले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहहरुलाई परिपत्र पठाइ सलह किरा व्यवस्थापन गर्ने भनेको थियो । तर जिल्लाका स्थानीय तहहरुमा त्यसअनुसार तयारी भने देखिएको छैन । मन्त्रालयले सलह फोकल विन्दु तोकी केन्द्र तथा प्रदेशमा जानकारी गराउन, स्थानीय तहहरुमा रहेका कृषि शाखाहरुमार्फत कृषकहरुलाई सुसूचित राख्न सहयोग गर्ने भनेको छ ।
त्यसैगरेर पावर स्प्रे र विषादिलगायतका वस्तुहरु तयारीमा राख्ने, विषादि छर्ने व्यक्तिलाई पिपिईको व्यवस्था गराउने, विभिन्न सञ्चार माध्यमबाट कृषकहरुलाई सजग रहन र व्यवस्थापन विधिबारे जानकारी गराउने, सलहको सम्भावित प्रवेशका विन्दुहरु साथै उठानको दिशा बारेमा जानकारी लिने र सचेत गराउने, धेरै प्रोटिनयुक्त किरा भएकाले भुण्डहरुलाई जालोको पासोमा संकलन गरी पशुको आहार बनाउन सकिने, यदि त्यस क्षेत्रमा बस्ने सम्भावना देखिएमा सामूहिकरुपमा कुनै पनि माध्यम (आवाज, धुँवा) आदिबाट बस्न बाधा पु¥याइ झुण्डलाई अन्यत्रै मोडिदिन अभियान चलाउन भनिएको छ ।
यसैगरेर नर्सरी करेसा बारी जस्ता साना क्षेत्रमा हुने खेतीमा झुल वा जालीले छोपेर पनि जोगाउने, टनेल भित्रको बालीलाई वरिपरीबाट किरा छेक्ने जालीले बेरेल जोगाउन लगाउने, धानको व्याडमा जाली वा त्रिपाल आदिले जोगाउने, विषादिको गलत राखे र आवश्यक परेमा खरिद, गरी राख्ने र एग्रोभेटहरुलाई सुसूचित र तयारी अवस्थामा राख्ने, खेतबारी वा सार्वजनिक स्थान जंगलमा आश्रय लिइरहेको पाइएमा तत्काल असर गर्ने औषधिको प्रयोग गर्ने, प्रदेश तथा केन्द्रीय निकायहरुमा सलहको उपस्थितिको बारेमा आवश्यक जानकारी गराउन परिपत्रमा भनिएको छ ।
सरकारले जे–जस्तो परिपत्र गरे पनि स्थानीय तहमा त्यो सम्भव देखिएको छैन । कृषि बैज्ञानिकका अनुसार नेपालमा सलहको क्षतिबाट जोगाउने भनेको चर्को आवाज निकाल्ने, जालोमा फसाउने, प्रशस्त धुँवा उडाउने वातावरण बनाउने, सलह प्रवेश गरेको स्थानमा बाजा तथा तोप पड्काएको जस्तो आवाज निकाल्ने उपाय अवलम्वन गर्ने मात्र हो ।