अमरराज आचार्य
दाङ, २७ असार । दाङको लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापन परियोजना सुरु गरेको छ । नेपाल नगरपालिका संघको सहकार्यमा यस प्रकारको परियोजना सुरु गरिएको परियोजनाका फोकल पर्सन गायत्रीकुमारी थापाले जानकारी दिएकी छन् ।
यसका लागि लमही नगरपालिका र नेपाल नगरपालिका संघ बीच २०७५ पुस १० गते सम्झौता भएको थियो । नगरपालिका संघको सहकार्यमा देशभरका ५ वटा नगपालिकामा यस प्रकारको परियोजना सुरु गरिएको हो । नेपाल नगरपालिका संघको सहकार्यमा नगरमा सहरी सरसफाईसम्बन्धी कार्य नमुना परीक्षणको रुपमा अगाडि बढाइएको छ । लमही नगरपालिका, लहान नगरपालिका, धुलिखेल नगरपालिका, वालिन नगरपालिका, भीमदत्त नगरपालिकामा यस प्रकारको परियोजना सुरु गरिएको हो ।
परियोजनाले दिसाजन्य लेदो व्यवस्था गर्ने काम गरिने थापाको भनाई रहेको छ । यस प्रकारको परियोजना सुरु भएपछि शौचालयको सेप्टीट्याङ्कीबाट निकालेर बाहिर फालिने फोहरलाई व्यवस्थापन गर्न सहज हुने भएको छ । यसले वातावरण सफा राख्न समेत सहयोग पुग्ने बताइएको छ । यसका लागि प्लान्ट निर्माण गरेर त्यसमा सेप्टीट्याङ्कीबाट निकालिएको फोहर राखेर त्यसलाई ठोसमा परिर्णत गरिने छ । जसलाई कम्पोष्ट मल बनाएर विक्री समेत गरिने उनले बताइन् ।
‘जसले आम्दानीको स्रोत समेत बन्ने छ’ थापाले भनिन् । यस परियोजना सुरु भएमा फोहर व्यवस्थापनमा ससमेत सहजता ल्याउने अपेक्षा गरिएको छ । ‘अहिले हरेक स्थानीय तहहरुलाई फोहर व्यवस्थानमा धेरै समस्या भोग्दै आएका छन्’ फोकल पर्सन थापाले भनिन् । पूर्व–पश्चिम राजमार्ग भएकाले पनि लमहीमा फोहर व्यवस्थापनमा समस्या हुने गरेको छ ।
अहिले घरघरबाट शौचालयको सेप्टीट्याङ्कीबाट ल्याइएको दिसाजन्य फोहर ल्याण्डफिल्ड साइडमा व्यवस्थापन गरिने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले निजी क्षेत्रको सहकार्यमा नगर क्षेत्रमा फोहर व्यवस्थापन गर्दै आएको बताएको छ ।
परियोजना अन्तर्गत लमही नगरपालिका वडा नं. ५ मा रहेको ल्याण्डफिल्ड साइडमा यसका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण गरिने भएको छ । भौतिक निर्माणको काम केही समयपछि सुरु हुने फोकल पर्सन थापाको भनाई रहेको छ । भौतिक निर्माणका लागि डिपिआरको काम समेत अन्त्यमा पुगेको उनले बताइन् । ‘डिपिआरको काम असार अन्त्यसम्म सकिने छ’ थापाले भनिन् । डिपिआर तयार भएपछि ठेक्का आह्वान गरिने भएको छ । भौतिक निर्माणका लागि २ करोड रकम खर्च लाग्ने फोकल पर्सन थापाले बताइन् ।
यसका लागि लमही नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७/०७८ मा बजेट विनियोजन गरिसकेको उनले जानकारी दिइन् । डिपिआर निर्माण तथा पोलिसी निर्माणमा नेपाल नगरपालिका संघले सहयोग गरेको र भौतिक निर्माण भने नगरपालिकालाई आफै गर्नुपर्ने छ । ‘नगरपालिका संघले प्राविधिक सहयोग प्रदान गरेको छ, भौतिक संरचना निर्माण लमही नगरपालिकाले नै गर्ने छ’–थापाले भनिन् । आउँदो साउन, भदौमा ठेक्का आह्वान गरिने भएको छ । निर्माण सुरु भएको करिब ६ महिनाभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइने भएको छ ।