जोखिम र महंगो बन्दै घोराही–तुलसीपुर यात्रा !

बालाराम खड्का
तुलसीपुर, २७ असार । शुक्रवार राती तुलसीपुर–१८ का अजय घर्ती पत्रेखोला तर्न खोज्दा खोलाले बगाएपछि खोलामा रहेको पिलरमा चढेर ज्यान जोगाए । उनलाई राती ११ बजे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले राती क्रेनको सहायताले उद्धार गरियो । त्यस्तै गोरुसिंगेबाट दुलही लिएर आएको विवाहको गाडी पत्रेखोलामा करिब तीन घण्टा छेकियो । त्यस्तै धेरै व्यक्तिहरु रातीमा अलपत्र परे । वर्षासँगै बाढी आउँदा घोराही तुलसीपुर सडकखण्डमा साना गाडीहरुमा यात्रा गर्ने यात्रुहरुले दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने वाध्यता अझै पनि कायमै छ ।

सो सडकखण्डका धेरै जसो खोलामा पक्की पुल बने पनि पत्रेखोला, हापुरखोला र सेवार खोलामा पक्की पुल नहुँदा दिनहु यात्रुहरुलाई समस्या हुने गरेको छ । शनिवार पनि साना यातायातका साधनहरुमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यात्म अवस्था आएको थियो । केहीले आफैले मोटरसाइकल तारेका थिए भने केहीले पैसा तिरेर । त्यसमा पनि पत्रेखोलाको सडकछेउमा पुलको पिलर निर्माण गरी अलपत्र छोड्दा झनै समस्या उत्पन्न भएको सवारी चालकहरु बताउँछन् ।

‘पानी प¥यो भने घोराही–तुलसीपुर सडकखण्डको पत्रेखोलामा बढी जोखिमा छ, यातायात सञ्चालन गर्न निकै कठिन हुने गरेको छ’ –चालक मानबहादुर वलीले भने । उनले वर्षातको समयमा कतिबेला बाढी आउँछ भन्ने आँकलनै गर्न नसक्ने उनको भनाई छ । त्यस्तै साना मोटसाइकल, कार र स्कुटी चालकहरुलाई झनै समस्या हुने गरेको उनीहरु बताउँछन् । ‘वर्षातको समयमा जोखिमसँगै यात्रा महँगो पनि भएको छ, आज तुलसीपुरबाट घोराही आउँदा र जाँदा चार सय खर्च भयो’ –मोटरसाइलक चालक चिरञ्जीवि केसीले भने ।

उनले पत्रेखोलामा मोटसाइलक तराउन ५० रुपैयाँ र सेवार खोलामा ५० रुपैयाँ तिरेको बताए । कोभिड–१९ को संक्रमणसँगै अन्य सार्वजनिक सवारीका साधनहरु सञ्चालन नहुँदा आप्mनै निजी सवारी साधनमा काम विशेषले हिड्नु पर्दा झनै समस्या थपिएको अर्को व्यक्ति जोगलाल चौधरीले बताए ।

‘सार्वजनिक गाडी चल्दैनन् मोटसाइलक चलाएर घोराही आएँ, आउँदा दुई सय खर्च भयो अब जादाँ त्यस्तै होला’ उनले भने । चौधरीले घोराही तुलसीपुर सडकखण्डका अन्य खोलामा पुल बनेसँगै सहज भए पनि अन्य खोलामा पुल नबन्दा सास्ती खेप्नु परेको गुनासो गरे ।

पत्रेखोलाको पुल पनि अलपत्र छ, अन्य दुई खोलामा त पुल बन्ने कुनै संकेत नभएको नागरिक बताउँछन् । ‘घोराही तुलसीपुर सडकखण्डका पुल बने अब सहज हुन्छ भनेको तर उस्तै समस्या छ’ – यात्रु रमेश खड्काले भने । उनले यही बाटो ठूला–ठूला नेता तथा प्रतिष्ठित व्यक्तिहरुले यात्रा गरे पनि वर्षेनी यात्रुहरुको समस्या कसैले नबुझेको गुनासो गरे । त्यस्तै सो सडकखण्डका गुहार, संक्राम र गुर्जे खोलामा पुल बनेसँगै आफूहरुलाई केही हदसम्म सहजता भने भएको नागरिक बताउँछन् ।