तल्लो जीवन उपन्यास अंश
यम रेग्मी
हरेक वर्ष असार महिनाभित्र खेतीपाती सक्थे पलासेका कृषकहरूले । त्यस वर्ष असार लाग्दासम्म खेतीपातीको सुरसार थिएन । आकाश हेर्दा हेर्दै बैशाख गयो । जेठ गयो । पानीको थोपै परेन ।
सधै बैशाखको अन्त्यतिर मकै छरिन्थ्यो । छर्न पाएनन् । झालमा बेलापात रोपिन्थ्यो । रोप्न पाइएन । जेठमा धानको ब्याड राखिन्थ्यो । राख्न पाइएन । पानी नपरेकै कारणले दुई महिना पछाडि सर्दै थियो, मकै छर्ने काम । गरीबको पेट पाल्ने अन्न मकै । थारूबस्तीमा धानका भन्दा धेरै मकैका परिकारहरू बन्थे । बेलैमा मकै छर्न नपाएकोमा कृषकहरू चिन्तित थिए ।
असारको आगमन र पानीको आँगमन एकै पटक भयो । ढिलो भए पनि पानी आफ्नो धर्म छोडेन । परेरै छोड्यो । पानीसँग मौसममा आमुल परिवर्तन आयो । मरुभूमिझै थिए दाङका विशाल फाटहरू । पानीले हरियो गलैचाझैँ देखिन थाले । चिसो हावा चल्न थाल्यो । पानीले कृषकहरूमा हर्ष र जाँगर सिर्जना ग¥योे । कोही बारीमा मकै छर्न लागे । कोही खेतमा धानको ब्याड राख्न थाले । मकै छर्ने र धानको ब्याड राख्ने काम सँगसँगै सम्पन्न भयो ।
साउन महिनाभरि कृषकहरू खेतमा नै बास भयो । पानीको कारण कसैले पनि बारीको मकै गोर्न पाएन । सबै रोपाइँतिर लागे । धोरै खेतिपाती गर्नेहरूले त साउन महिनामै सके । धेरै खेतिपाती हुनेहरूको भाद्रको पहिलो हप्तासम्म धान रुप्ने काम चलिरह्यो ।
भाद्रको आँगमनसँगै विद्यालयको वर्षे विदा सकियो । धमाधम विद्यालयहरू खुले । खेतीपातीले माटो परेका केटाकेटीहरू फुरुङ्ग पर्दै विद्यालय जान थाले । विद्यालय खुलेपछि अर्कै प्रकारको माहोल प्रारम्भ भयो । फुपूको घरबाट आएदेखि गोइँठे स्कुल जान थालेको थियो । विहानभरि बारीमा घाँस काट्यो । दिनभरि ग्वाला जान्थ्यो । गोधुलीमा ग्वालाबाट घर फर्किन्थ्यो । गाई बाख्रा भकारमा बान्थ्यो । गाउँका अरु केटाकेटीहरू खाना खान्थे । सुत्ने तर्खरमा लाग्थे ।
ऊ भने झोलाभरि किताब बोक्यो । साँझको ७ बजे लखर–लखर विद्यालयतिर घरबाट हिँड्थ्यो । कहिले केही पढाई हुन्थ्यो । कहिले हाजिरी लगाएर विदा हुन्थ्यो । कहिले त हाजिरीसम्म पनि हुँदैनथ्यो । तीन चार दिनको हाजिरी एकै दिन हुन्थ्यो ।
पढाई हुँदाको दिन पढ्थ्यो । नहुँदा विद्यालयबाट फर्किन्थ्यो । कहिले केही पढाई हुन्थ्यो । कहिले हाजिरी लगाएर विदा हुन्थ्यो । कहिले त हाजिरीसम्म पनि हुँदैनथ्यो । तीन चार दिनको हाजिरी एकै दिन हुन्थ्यो सारा विद्यार्थीको ।
रातिको समयमा । घुडाघुडासँग गाडिने पलासे थारूगाउँको हिलो । जान आपत्् । आउन आपत् । त्यसमाथि किराकाटीको डर । बालिक खोलाको भेलको डर । यो सबै बुझेर होला । वर्षाभरि कालीले छोरालाई डेरा खोजेकी थिई । स्कुल नजिकै बडिका घर थियो । राति उसकै घरमा सुत्थ्यो । बिहान उज्यालोमा घरमा आउँथ्यो ।
भाद्र महिना १४ गते थियो । थारूबस्तीमा सबैको खेतीपाती सकियो । त्यस दिन हरद्वाई खाने कार्यकम चलेको थियो । पुरै थारूबस्ती जाँड, रक्सी र मासुमा डुबेको थियो ।
सदाझैँ गोइँठे साँझको खाना खायो । विद्यालयको डे«स लगायो । झोलामा किताब–कापी मिलायो । पछाडि झोला बोक्यो । निर्धारित समयमा विद्यालयतिर हिँड्यो । विद्यालयमा आधा घण्टा जति पढाई भयो । त्यो पढाई पनि ३ दिनपछि बल्ल भएको थियो । आधा घण्टापछि विद्यालय विदा भयो । सबै विद्यार्थी आ– आफ्ना घरतिर लागे । गोइँठे सरासर डेरामा आयो ।
सानो घर थियो बडिकाको । चारैतिर बाँसको सिठाले बेरेको । सिठालाई गोबर र माटोले लिपेको । सिठाले नै बाहिरी गारोको काम गरेको थियो । भित्री गारोको काम माटाका डोरीहरूले गरेका थिए । बिच बिचमा माटाका डोरीहरू जोडेर घरलाई चार कोठा बनाइएको थियो ।
गोइँठे ढोका घ¥याक पारेर ढोका खोल्यो र भित्र बस्यो । ८–१० जना थारू बैठक कोठाभरि बसेको देख्यो । कोही परालको विडामाथि बसेका थिए । कोही काठको पिर्का माथि बसेका थिए । कोही मकैको पातको चटकीमाथि बसेका थिए । सबै जाँड र रक्सीको नशामा मस्त थिए । सबै थारूका अगाडि ।
चकचक चम्किने ठूलो काँसको कचौराभरि धमिलो जाँड । मालुकाको पातको एउटा दुनामा सुँगुरको मासु । अर्कोको माछाको चटनी । मालुकाको पातमा २–३ वटा डिक्की । सुकेको सालको पातमाथि ४–५ वटा ज्यानमारा हरिया खुर्सानी । यो देखेर गोइँठे छक्क प¥यो । केही नबोलेर सरासर सुत्ने कोठातिर लाग्यो ।
बडिका छोड्का जाँडको एक सुर्को तनक्क तान्यो । किटिक्क हरियो खुर्सानी टोक्यो । सुई सुस्केरा हाल्यो र जाँडले लड्विडिएको स्वरले बोल्यो– ‘ऐ नट्या इहाँ आओ ट ।’ गोइँठे थारू भाषा बुभ्थ्यो । बोल्न भने सक्दैन थियो । बसेको ठाउँबाट जुरुक्क उठ्यो । ढोका नजिक आयो । ढोकाभित्रबाट बाहिर पुलुक्क हे¥यो ।
बडिका छोड्का राता–राता आँखा बनेका थिए जाँडको झोलले । सुँगुर हड्डी चुस्दै लठ्ठिएको अनुहारले गोइँठेको अनुहारतिर हे¥यो र बोल्यो– ‘ऐ नाट्या जाँड पिबो ?’
मुसुक्क हाँस्यो गोइँठे । टाउको हल्लायो । खान्न भन्ने संकेत ग¥यो ।
बडिका छोड्का तनक्क तान्यो आधा कटौरा जाँड । उसँगै अरु सकैले ताने । क्वाप्प डिग्रीको पिस मुखमा राखेर बोल्यो– ‘ऐ बुह्र्या यी नट्य ह डुठो ढिक्री ओ सुरीक् शिकार ओ मच्छीक् चट्नी डेओट ।’
उनीहरू आफ्नै धुनमा पिइरहेका थिए । गोइँठे सुस्तर सुत्ने बिस्तरामा आयो र बस्यो । केही बेरपछि बूढी कुपी पर्दै देखापरी । उमेरले लोग्नेभन्दा धेरै बूढी लेखिन्थी । हुन पनि उमेरले लोग्नेभन्दा जेठी थिई ऊ । रोग, कुपोषण, घरको सारा काम, भोक र शोकले जेठी थिई लोग्नेभन्दा । झट्ट हेर्दा लोग्ने स्वास्नी आमा छोराझैँ देखिन्थे । उसको दाया हातमा मालुकाको पात माथि दुई ओटा ढिग्री थियो । बायाँ हातमा दुई ओटा मालुकाको बहुता थिए । दुई ओटा बहुता खपाएर ल्याएकी थिई बूढीले । तलको बहुतामा सुँगुरको मासु थियो । माथिको बहुतामा माछाको चटनी । गोइँठेको अगाडि ढिग्री र मासु, माछाको चटनी राखिदिई । कुर्पे परेर फेरि भान्सामा गई । बेलाभरि पानी ल्याई र गोइँठेको अगाडि राखिदिँदै बोली–.नट्या दाल ओ ड¥या भात फे खाइबो ?’
गोइँठेले खान्न भनेर टाउको हल्लायो । ऊ घरबाटै खाएर गएको थियो । ढिग्री र सुँगुरको मासु नै उसलाई काफी थियो । बूढी भान्साकोठातिर जादै बोली–ग्याम–ग्याम खा ओ आरामसे सुत् ।’
गोइँठे मीठो मानी–मानी पहिले ढिग्री खायो । त्यसपछि सुँगुरको मासु खायो । अन्त्यमा माछाको चटनी खायो हातका औला चाटी चाटी । यति मीठो चटनी पहिलोपटक खाएको थियो उसले जीवनमा । माछाको चटनी उसले खाने भन्दा केही पिरो थियो । एक बेला पानी घटघटी पिएर सिध्यायो । नजिकै बत्ती बलिरहेको थियो । फु गरेर फुक्यो र निभायो । भङ्लङ्ग बिस्तारामा पल्टियो । केही बेरमै झुसुक्क निदायो । घुरघुर घुरेको आवाज कोठाभरि गुञ्जायमान भयो ।
झल्यास मध्यरातमा ब्यूँझियो । अगाडिबाट पिसाबले पेलेको, पछाडिबाट दिसाले पेलेको अवस्थामा । सुस्तरी पेटमा हात पु¥यायो । ला ! पेट त ब्यालुन फुलिएझैँ फुलिएको छ । दुई चोट हातका औलाले पेटमा प्याट प्याट हान्यो । पेट त बाजाझैँ ड्याम–ड्याम बज्न थाल्यो ।
सानो खोपाबाट बाहिर हे¥यो । बाहिर मुसल्धारे पानी परेका थियो । मकैका पातहरू बजिरहेका थिए । ट्वार ट्यार गर्दै भ्याउता कराइरहेका थिए । झ्याउकेरी झ्उझ्उ गर्दै मज्जाले गीत गाइरहेका थिए । जुन्केरी बत्ती बालेर नाचिरहेका थिए । बिजुली मिलिक्क मिलिक्क गरेर चम्किँदाको उज्यालो कति कति बेला कोठाभित्र छि¥यो ।
सुनसान मध्यरात । अर्कोको घर । काचो उमेर । अलग सुताई । एकतिर बाहिरी गडाङगुडुन डर । अर्कोतिर भित्री पेटको गडाङगुडुनको पीडा । के गरौँ । कसो गरौँ । भयो उसलाई । एक्कासी करक्क पेट काट्यो । दुबै हातका दस औलाले चपप्क पेटलाई समात्यो र बोल्यो– ‘ बाजे ! ए बाज ! बत्ती बाल्नुहोस् न ? ’
चुपचाप ! सुनसान ! कोही बोलेन ।
फेरि बोल्यो,‘ बोइ ! ए बोइ ! मलाई दिसा–पिसाब लाग्यो छिटो ढोका खोलन ?’
फेरि पनि चुपचाप ! सुनसान ! कोही बोलेन ।
रातिसम्म बडिका घरमा हरद्वाई खाए । त्यसपछि छिमेकीको घरमा थप हरद्वाई खान पुगेका थिए घरका सबै परिवार । गोइँठे मात्र थियो, त्यसरात घरमा । हातले छानछुम गर्दै धान राख्ने डोरीको गाह्रो भेटायो । गारो छोप्दै छोप्दै बल्लतल्ल ढोकासम्म आउने बाटो भेटायो । एकैछिनमा ढोका नजिक आयो ।
दृष्टिविहीनलेझैँ छामछुम पर्दै ढोकाको चुकुल खोज्यो । चुकुल पनि भेटायो । तर चुकुल खुल्लै थियो । ढोकाको पल्लालाई हातले च्याप्प समात्यो र आफूतिर तान्यो । ढोकाको पल्ला खुलेन । बाहिरबाट ताल्चा लगाएको रहेछ ।
उसको होस उड्यो । ला ! अब के गर्ने ? ऊ छामछुम गर्दै जसरी गएको थियो । त्यसरी नै बिस्तरामा फर्कियो । बिस्तरामा थचक्क बस्यो । अगाडि पिसाबको पीडा । पछाडि दिसाको पीडा । एउटा हातले बल गरेर झित्तामा छोप्यो । अर्को हातले पेटलाई दाब्यो ।
कसो कसो गर्दा हात भित्ताको डोरीको प्वालमा प¥यो । डोरी खालि रहेछ । एक माना जति तोरी हुँदो हो, डोरीको पिँधमा । साह्रै सताएको थियो दिसा र पिसाबले । सहन नसक्नेगरी । पयन्ट घुँडाभन्दा तल झाल्यो । घोप्टो प¥यो । डोरीको प्वालसित मलद्वारको प्वाल जोड्यो । बल गरेर रोकेको छोडिदियो ।
वर्षाको समयमा कुलाको बाँध फुटेर हिलेपानी खल्किएझैँ । डोरीको पिँधभरी खल्कियो दिसा । दिसाले डोरीको चार पाँच इन्ची पिँध पूरै भरियो । पछाडिको भाग सहज भयो अब । फेरि डोरीतिर अगाडिको भाग फर्कायो । घुडाले टेकेर बस्यो । डोरीको प्वालमा आफ्नो मुत्रद्वार छिरायो । पिसाब छोडिदियो ।
ट्यांकीमा माथिबाट पानीको धारो खसेझैँ । ध्वार खस्यो पिसाबको धारो डोरीमा । पिसावको धारोले डोरीको थप दुई इन्ची भाग माथि भरियो । जब शरीरबाट फाल्नुपर्ने चिज फाल्यो । उसलाई सहज भयो । सहजसँगसँगै डर पनि मिसियो । के गर्ने ? कसो गर्ने ? भयो उसलाई । सोच्दा सोच्दै ऊ डरले लुगलुग पो काप्न थाल्यो । भण्डारीहरूको द्याउलीमा धामी कापेझैँ ।
बिहानको चार बजेको हुँदो हो । बाहिरबाट घ¥याक्क ढोका खुल्यो । गगे्रटाबाट गाग्री हातले टिपी र पानी भर्न कुवातिर लागी । त्यही मौका छोपेर गोइँठे किताबको झोला पछाडि बोक्यो । चोरले समान चोरेर भागेझैँ घरतिर कुद्यो ।
क्रमशः