देवभाषालाई लोकभाषामा परिवर्तन गर्ने आदिकवि भानुभक्त

डा.कृष्णराज डी.सी.

१.० विषय प्रवेश :
‘संस्कृत’ संसारकै समृद्ध भाषा हो । यसलाई महर्षि वाल्मीकिले र व्यासले ‘रामायण’ र ‘महाभारतमा’ प्रयोग गरेका छन् । तत्पश्चात् चार ‘वेद’ र अठार पुराणहरुमा पनि संस्कृत भाषाकै प्रयोग गरिएको छ । अहिले पनि मानव जन्मदेखि मृत्युसम्मका प्रत्येक संस्कारहरुमा संस्कृत भाषाकै प्रयोग गर्ने गरिन्छ ।

गुरु पुरोहित र पण्डितहरुको पाण्डित्य प्रदर्शन गर्ने भाषा पहिले संस्कृत नै थियो र हाल पनि त्यसको प्रभाव जनमानसमा परेकै छ । किनभने संस्कृतका श्लोकहरु र अंग्रेजीका वाक्यहरु बोल्न नसक्ने मानिस आज पनि हाम्रो समाजमा विद्वान्वर्गमा गनिँदैन ।

तसर्थ पहिले ‘संस्कृत’ र अहिले ‘अंग्रेजी’ भाषाले भाषिक साम्राज्य खडा गरेको देखिन्छ । भाषिक साम्राज्यलाई कम गर्ने प्रयासमा अंग्रेजीका धर्मग्रन्थहरु प्रचार गर्ने तर संस्कृतका धर्मग्रन्थहरु नष्ट गर्ने काम पनि महान् क्रान्तिकारीहरुद्वारा गरियो तर यो महान्ताले खासै गति लिएको देखिएन बरु आजका आमूल परिवर्तनकारीहरुभन्दा दुई सय वर्ष पहिलेका पं. श्रीकृष्ण आचार्यका नाति र खरदार धनञ्जय आचार्यका छोरा आदिकवि भानुभक्त आचार्यले महान् क्रान्ति गरे कि ? भन्ने मलाई लाग्दछ ।

त्यो महान क्रान्तिको लागि आचार्यले कुनै मिसाइलको प्रहार गरेनन् मात्र एउटा निगालोको कलममा मसीको बारुद भरेर उनले नेपाली जनमानसमा आमूल परिवर्तन ल्याइदिए तर तत्कालीन संस्कृतका विद्वान् पण्डितहरुको दृष्टिमा उनी ठूला अपराधी थिए किनभने सीमित पण्डितहरुको विद्वत्तालाई खोसेर उनले सम्पूर्ण नेपाली जनता (जो झोपडीदेखि महलसम्म) बस्दथे ती सबैलाई बाँडिदिए ।

तबदेखि नेपालका सबै जाति, धर्म, संस्कृति, भाषाभाषी समुदाय आदि सबै एकताबद्ध भए । सबै भाषाभाषी समुदायले नेपाली भाषामाथि आफ्नो समान पहुँच राख्न सफल भए । तसर्थ, नेपाली भाषामाथि सबैको ममत्व बढ्दै गयो ।

हाम्रो ‘संस्कृत’ भाषा चलनचल्तीबाट विस्तारै हराउँदै गयो । निश्चित कार्यको प्रयोजनका लागि मात्र यसको उपयोग गरिन थालियो । हामी आफूलाई कमिला र अरुलाई हात्ती सम्झने संस्कारमा हुर्केर हो कि ?

आफ्ना विचारप्रधान रचनाहरुमा पनि आफ्नो अभिव्यक्तिलाई गहन बनाउनको लागि युरोपियन र अमेरिकन विद्वान्वर्गको भनाइलाई उद्धृत गर्ने भयौँ तर स्वदेशी विद्वान्वर्गमाथि हाम्रो विश्वास छैन बरु आदिकवि भानुभक्त आचार्य सामन्त हुन् किनभने उनले नारीलाई हेपेर कविता लेखे भन्नेसम्मका अभिव्यक्तिसमेत दिन हामी चुकेनौँ भने कसरी हुन्छ समृद्ध नेपाल अनि सुखी नेपाली ? एउटा नेपालीले अर्को नेपालीको सम्मान गरेपछि नेपालको इज्जत बढ्ला कि ! मानमर्दनले ? यही सन्दर्भसँग प्रस्तुत आलेख केन्द्रित छ ।

१.१ को हुन् भानुभक्त आचार्य ?
आदिकवि भानुभक्त आचार्य मध्यम वर्गीय उपाध्याय ब्राह्मण परिवारमा (वि.सं. १८७१ असार २९) गते श्रीकृष्ण अष्टमी तिथि आइतवारका दिन हालको गण्डकी अञ्चल तनहुँ जिल्लाअन्तर्गतको ‘रम्घा’ गाउँको चुँदीबेसीमा जन्मेका पण्डित श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यका एकमात्र सुपुत्र थिए । उनको जन्मनक्षत्रानुसारको नाम ‘देवभक्त’ थियो (घटराज भट्टराई : प्रतिभै प्रतिभा, २०४०ः१) । साथै उनकी आमाको नाम धर्मावती देवी आचार्य थियो ।

भानुभक्त देवीभक्तमात्र थिएनन् उनी रामभक्त, नेपाली भाषाभक्त, नेपाली धर्तीभक्त र नेपाली वाङ्मयभक्त पनि बने । तर, लोकजीवनमा उनी आफू भानुभक्तका नामले चिनिए । जसरी संस्कृत साहित्यका आदिकवि वाल्मीकि, हिन्दी साहित्यका आदिकवि तुलसीदास, ग्रिसेली साहित्यका आदिकवि होमरले आफ्नो विशिष्ट पहिचान कायम गरे त्यसैगरी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले पनि नेपाली वाङ्मयको इतिहासमा आफ्नो मौलिक एवं पृथक पहिचान कायम गरेका छन् ।

वर्तमान युगका विद्वान् पण्डितहरु घाँस काट्ने, गाई चराउने, भारी बोक्ने, हलो जोत्ने मानिसलाई ‘गोठालो’ भनेर हेप्ने गर्दछन् र आफूलाई स्वघोषित विद्वान् ठानी मुलुकको सर्वेसर्वा बन्न खोज्दछन् तर आदिकवि भानुभक्त आचार्यले ‘ठूले घाँसीबाटै’ नाम कमाउनुपर्छ भन्ने प्रेरणा ग्रहण गरी आफू नेपाली वाङ्मयको सेवामा प्रवेश गरेका थिए । उपर्युक्त तथ्यको उद्घाटन ‘भानुभक्त र घाँसी’ शीर्षकको लोककथाले गरेको छ ।

सर्पको शिरमा पनि मणि हुन्छ, हिलोमा पनि कमल फुल्छ अर्थात् निरक्षर घाँसी वा गोठालो चेतना भएको मानिस पनि विशिष्ट बन्न सक्छ भन्ने सन्देश भानुभक्त र ठूले घाँसी प्रसङ्गबाट प्राप्त गर्न सकिन्छ । जसरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एउटा सामान्य दर्जी विसेनगर्चीबाट प्रेरणा ग्रहण गरी विशाल नेपालको (एकीकरण) निर्माण गरेका थिए त्यसैगरी भानुभक्त आचार्यले पनि ठूलेघाँसीबाट प्रेरणा ग्रहण गरी आफू आदिकविमात्र बनेन् भाषिक एकीकरण गरी उनले विविध भाषा र नेपाली संस्कृतिलाई एकाकार गरे ।

तसर्थ नेपालमा पृथ्वीनारायण शाहको जुन स्थान छ सोही स्थान आदिकवि भानुभक्त आचार्यको पनि रहेको छ । महाकवि देवकोटाले भानुभक्तलाई आदिकवि बन्ने प्रेरणा दिने ठूले घाँसीलाई ‘शुक्रताराको’ उपमा दिई यसरी ‘घाँसी’ शीर्षकको कविता लेखेका छन्–

“शुक्रतारा सुन्दर हाम्रा नेपाली हे ! प्रथम ध्वनि
यस्ता ‘घाँसी’ अमर रहुन् नेपाली यो गगनमुनि
ब्यूँझायो अब ब्यूँझायो वनको यो सुतुवालाई ।”

ठूले घाँसीबाट ‘नाम कमाउनुपर्छ’ भन्ने प्रेरणाले भानुभक्तलाई भावविह्वल बनाएपछि उनका आँखाबाट एक्कासि खसेका आँसु ढुंगोमा पोखिएर ‘राम’ शब्दमा परिणत हुन जान्छन् तत्पश्चात् भानुभक्तमा रामभक्तिको चेतना जागृत भएर आउँछ अनि उनी ‘अध्यात्म रामायणको’ अनुवाद मौलिक शैलीमा गरी तिनै सामान्य घाँसी, किसान र गोठालाको लागि कर्णप्रिय रामायण महाकाव्यको रचना गर्न सफल बन्छन् । श्रीरामका माध्यमबाट आदिकवि भानुभक्त आचार्यले प्रत्येक नेपालीको मन छुने काम गरेका छन् । उनले भगवान् श्रीरामको पावन चरित्रलाई नेपाली काव्यलहरमा सजाएर अटाएका छन् । पारसमणि प्रधान आदिकविलाई यसो भन्छन् :–

“भानुभक्त कविका कवितामा
बाल–बृद्ध वनिता गर धामा
भानुभक्त कविका कविता ली
गाऊ नित्य कविका कविता ती”

प्रधानले आदिकविका कविताहरु बालक, युवा र बृद्धबृद्धा सबैका लागि बौद्धि खुराक बन्ने बताएका छन् । घटराज भट्टराईले संस्कृतका वाल्मीकि, हिन्दी साहित्यका तुलसीदासले झैँ रामकथाका गायक बन्दै नेपाली भाषा र साहित्यलाई चम्काउने प्रकाशमान सूर्यको काम आदिकवि भानुभक्त आचार्यले गरेको कुरा बताएका छन् । परम्परानुसार पाँच वर्षमा अक्षरारम्भ गरी संस्कृत भाषाको राम्रो अध्ययन भानुले गर्दै गए ।

त्यसबेला संस्कृतमा कविता लेख्नु गौरवमय मानिन्थ्यो भने नेपाली भाषाको अध्ययन र नेपालीमा कविता रचिनुलाई सामान्यमात्र होइन तुच्छ नै मानिन्थ्यो । यस्तो अवस्थामा पनि भानुले नेपाली भाषाको दाँजोमा अन्य भाषा त्यति प्रभावकारी बन्न सक्तैन भनी सोच्नु उनको दूरदर्शी दृष्टिकोण र नेपाली भाषाप्रतिको स्नेह नै हो । यद्यपि सबैका लागि नेपाली भाषा उपयोगी हुन्छ र यही भाषाका माध्यमबाट समाजमा आध्यात्मिक भावना फैलाउन सकिन्छ भन्ने सोच उनमा भए पनि उनको प्रतिभाको प्रस्फुटन भने हुन सकेको थिएन ।
(वि.सं. १८९१) मा जब ठूले घाँसीसँग भानुको कुराकानी भयो तबदेखि उनको कविताको चेतना यसरी प्रस्फुटन भयो :–

“भर्जन्म घाँसी तर मन् दिइ धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
यस घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार हो मकन बस्नु नराखी कीर्ति”

भानुभक्त आचार्य पूर्वका केही कविहरु थिए ती हुन् सुवानन्द दास, रघुनाथ पोख्रेल, शक्तिवल्लभ अज्र्याल, उदयानन्द अज्र्याल, गुमानी पन्त, यदुनाथ पोख्रेल, रघुनाथ भट्ट, इन्दिरस, विद्यारण्यकेशरी, वसन्त शर्मा आदि । तर, ती कविका कविताहरुमा भानुभक्त आचार्यको जस्तो काव्यिक सौन्दर्य र स्तर देखिएन । जस्तै :–

“हंसको रुप धरि भिम्सिन्को सरुप गरि भुमराको भेस गरि सुनई लुंटाउ है :
छेत्रीको करम गरि पाप छुटाउ है :”
–सुवानन्द दास

त्यसैगरी कवि शक्तिवल्लभ अर्यालको दुई श्लोकमात्र कविता भेटिन्छ । जस्तै :

“धायको छ लमजुंग मकुण्डो
कास्कि वाँध सुनको छ खुकुण्डो
पीउठानीकन देउ सुकुण्डो
मारिलेउ तनहुँ त भकुण्डो ।”

उपर्यूक्त कवि र उनका कविताहरुका दाँजोमा आदिकवि भानुभक्त आचार्यका कविताहरु यस्ता छन् । जस्तै कवि आचार्यले आफ्नो जन्म कुण्डलीको परिचय दिएको सार्दुलविकृडित छन्दको कविता यस्तो छ :–

“पहाड्को अतिबेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया
खुप् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
तिन्को नाति म भानुभक्त भनि हूँ यो जानी चिन्ही लिया ।”

उपर्यूक्त कविताले आदिकवि आचार्यको कवित्वशक्ति भानुपूर्वका धेरै कविताहरुभन्दा निकै उच्चस्तर भएको पुष्टि गर्दछ । बालकाण्डको पद्यानुवाद १८९८ वि.सं., रामायणका अन्य काण्डहरु १९१० वि.सं., प्रश्नोत्तर १९१०, भक्तमाला १९१०, वधूशिक्षा १९१९, फुटकर कविताहरु (वि.सं. १८८९–१५२५ सम्म) ‘रामगीता’ १९२५ आदिकवि आचार्यका कृतिहरु हुन् । आदिकवि आचार्यमा आशुकवित्वको सशक्त प्रवाह भेटिन्छ । मित्र तारापतिको प्रसङ्ग, गजाधर सोतीको प्रसङ्ग, वधूशिक्षा, डिठ्ठाविचारीसँको विन्ती आदि उनको आशुलेखनका सशक्त दृष्टान्तहरु हुन् । आदिकविमा सशक्त व्यङ्ग्यलेखनको चेतना भेटिन्छ । जस्तै :–

“एकमन् चित्त लगाइ चाकरी ग¥याँ खुशी भया छन् हरि
मान्माथि पनि भुक्तमान थपिदिया कैल्यै नखोस्न्या गरी”
सरकारी कामकाजको ढिलासुस्तीप्रति आदिकविको आक्रोश यस्तो छ ः
“किता सक्तिनँ भन्नू कि तब छिनि दिनू क्यान भन्छन् इ भोली ?
भोली भोली भन्दैमा सबघर बितिगो बक्सियोस् आज झोली”

भारतमा तुलसीदासकृत ‘रामचरितमानस’ले जसरी भारतीय जनताको हृदयमा ठूलो स्थान ओगटेको छ त्यसैगरी भानुभक्तीय रामायणले, नेपाली जनमानसमा ठूलो उत्साह जगाएको देखिन्छ । सुगौली सन्धिबाट नेपालले गुमाएको ठूलो भू–भागको हिस्साले नेपालीमा अघोर निराशा छाएको अवस्थामा रामभक्तिधाराका आदिकवि आचार्यले ‘रामायण’ महाकाव्यद्वारा प्रत्येक नेपालीमा आशाको जागृति गराएका छन् ।

आदिकवि आचार्यले तत्कालीन अंग्रेज साम्राज्यवादलाई रावणको प्रतीकको रुपमा ग्रहण गर्दै देशभक्त वीर नेपाली जातिलाई ‘राम’को प्रतीक मानेर नेपालीहरुलाई सन्तोष दिलाएका छन् । दानवी शक्तिमाथि दैवी शक्तिको विजयको कथा सुनाएर भानुभक्तले हीनता र नैराश्यले ग्रस्त नेपाली जनताको ठूलो कल्याण गरेका छन् ।

महाकावि देवकोटाले भानुभक्तीय रामायणको नेपाली समाजमा रहेको स्थानका बारेमा यसरी महिमागान गरेका छन् :– “सच्चा पहाडी आत्माहरु पढ्दापढ्दै हनुमान लागेर उठ्ने भए । अपठितले पनि आँसु र हृदयको रोमान्चसँगै नयाँ पाठशाला प्रवेश गरे । …नेपाली सभ्यतालाई रामायणका जराहरुबाट नयाँ टुसा हाल्नुथियो । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा प्राचीनको स्पर्शले मुखरित हुन लागे (‘नेपाली साहित्यको सर्वश्रेष्ठ पुरुष’, लक्ष्मी निबन्धसंग्रह)

उपर्यूक्त तथ्यले आदिकवि भानुभक्त आचार्यले देवभाषा भनिने ‘संस्कृत’ भाषालाई लोकभाषामा (पहाडे, घाँसी, हली, गोठाला, किसान) ले बोल्ने सरल नेपाली भाषामा रुपान्तरण गरेर नेपाल र नेपालीलाई ठूलो गुण लगाएका थिए भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यतिमात्र होइन आज प्रत्येक नेपाली कविले भानुभक्तीय रचनालाई पढेर आफू कवि हुन सिक्दछन् तर उनलाई परम्परावादी कवि भनेर गाली गरेर आफू अब्बल आधुनिक कवि वा साहित्यकारमा गनिन्छन् ।

भानुको प्रतिमा र स्मारक निर्माण गर्दा यदि देशभक्त नेपालीको सगरमाथा तातिन्छ भने हाम्रो देशभक्तिको उच्चता स्वतः सिद्ध हुन्छ । भानुभक्त आचार्यको सम्मान नै नेपाल र नेपालीको सम्मान हो भन्ने तथ्य कम्तीमा देशभक्त नेपालीहरुले बुझ्नु आजको वस्तुगत आवश्यकता हो । भारतभूमि दार्जिलिङ सिक्किममा जति पनि हामीले भानुभक्तलाई चिनेनौँ भने हामी के नेपाली ?