असारसँगै सकिँदै रोपाई …

७५ प्रतिशत रोपाई सकियो

अमरराज आचार्य
दाङ, २६ असार । असारको महिना सकिँदै गर्दा जिल्लामा धान रोपाई सकिन थालेको छ । यस वर्ष समयमै वर्षा सुरु भएको कारण समयमै खेती भएको हो ।

जिल्लामा हालसम्म करिब ७५ प्रतिशत धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । ‘यस वर्ष समयमै वर्षा भएकाले धेरै रोपाई सकिएको छ’–कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत भरत पोख्रेलले भने । असार अन्त्य वा साउनको पहिलो सातासम्ममा धान रोपाई सकिने पनि उनले बताए । ‘यस वर्ष पानी निरन्तर पारेकाले आकाशे भरमा खेती गर्ने स्थानमा पनि खेती गरिसकिएको छ’ कृषि प्रसार अधिकृत पोख्रेलले भने ।

जिल्लाको देउखुरी क्षेत्रमा भने रोपाई सकिएको छ । घोराही तथा पश्चिम दाङका केही क्षेत्रमा धान रोपाइ हुन बाँकी रहेको ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रलेका अनुसार अघिल्लो वर्ष यस अवधिमा करिब ४० प्रतिशत मात्र रोपाई सकिएको थियो । अघिल्लो वर्ष समयमा पानी नपरेको कारण कम क्षेत्रमा र आकाशे पानीको पर्खाईमा ढिलो रोपाइ भएको थियो ।

समयमा खेती गर्न पाएपछि कृषकहरु समेत खुशी छन् । पानीको कारण खेती गर्न समस्या हुने कृषकहरुलाई यस वर्ष त्यस प्रकारको समस्या भोग्नु नपरेको कृषकहरु बताउँछन् । जिल्लामा आकाशे पानीको भरमा खेती गर्नुपर्ने जमिन अझै पनि प्रशस्तै छ । मनसुनले साथ दिएपछि ती जमिनमा गरिएको खेती पनि तुलनात्मक रुपमा राम्रो हुने अनुमान कृषि ज्ञान केन्द्र दाङले गरेको छ ।

यो वर्ष दाङमा अघिल्लो वर्षको भन्दा थप ३ हजार हेक्टरमा खेती हुने प्रारम्भिक अनुमान गरिएको छ । ‘यो वर्ष ३८ हजारभन्दा धेरै हेक्टरमा धान खेती हुन्छ’– कृषि प्रसार अधिकृत पोख्रेलले भने । कोरोना संक्रमणको कारणले गर्दा विदेश गएकाहरु घर फर्केका कारण पनि खेतीका लागि जनशक्ति थपिएको छ । ‘ठ्याक्कै तथ्याङ्क त संकलन भइसकेको छैन, स्थानीय तहसँग मौखिक जानकारी लिँदा बाँझो जमिन नरहने गरी खेतीको तयारी भइरहेको सूचना हामीसँग छ’– कृषि ज्ञान केन्द्रका कृषि प्रसारक अधिकृत पोख्रेलले भने । अघिल्लो वर्ष ३५ हजार हेक्टरमा धान खेती गरिएको थियो ।

यो पटक दाङमा धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । बाँझो खेतहरु यो पालि अत्यन्तै कम रहेका छन् । बाँझो जमिन खोज्दै ठेक्का वा अधियामा धान खेती गर्नेहरुको संख्या थपिएको स्थानीयको भनाई छ । कुनै समयमा दाङलाई राप्ती अञ्चलको अन्न भण्डार मानिन्थ्यो । दाङमा उत्पादन भएको धानले साविक राप्ती अञ्चलका ५ जिल्लालाई खान पुग्थ्यो । तर, कृषि मजदुरको अभाव र प्लटिङले गर्दा उत्पादनमा कमी आएको थियो ।

जिल्लाको उत्पादकत्व सन्तोषजनक नै रहेको विज्ञहरु बताउँछन् । दाङको जमिनमा प्रति हेक्टर साढे ३ देखि ४ मेट्रिक टन धान उत्पादन हुने गर्दछ । यसपालिको मौसमले पनि खेतीलाई साथ दिएको छ । लकडाउनले कृषि श्रमिकको समस्यालाई पनि केही मात्रामा हल गरेको छ भने खेतीतर्फ आकर्षण पनि थपेको छ । समयमै मनसुन भित्रिएका कारण पनि खेती गर्नेहरुलाई सजिलो भएको छ । सामान्यभन्दा दुई दिन ढिलो मनसुन नेपालमा प्रवेश गरेको भए पनि यसपालिको मनसुनमा नेपालभरि नै सामान्य वा औषत वर्षा भइरहेको छ । विज्ञहरुका अनुसार नेपालमा मनसुन भित्रने मिति जुन १० मानिन्छ ।

समयमै मनसुन सुरु भएका कारण र बाँझो जमिन समेत जोतिन थालेपछि जिल्लामा लोपोन्मुख स्थानीय बालीप्रति पनि यो वर्ष आकर्षण बढेको पाइएको छ । परम्परागत रुपमा खेती गरिँदै आएका बालीहरुप्रति पछिल्लो समयमा आकर्षण बढेको कृषिका अगुवाहरु बताउँछन् । घोराही उपमहानगरपालिका वडा नं. २ मा रहेको जैविक विविधता कृषि सहकारी संस्थाले लिवर्ड संस्थाको सहयोगमा वि.सं. २०६४ सालदेखि यस क्षेत्रमा स्थानीय जातका बाली संकलन गर्ने र संरक्षण गर्दै आएको छ ।
त्यसका लागि जिल्ला भरबाट उक्त स्थान छनोट गरिएको जैविक विविधता कृषि सहकारी संस्थामा संस्थापक अध्यक्ष राममणि पाण्डेलले बताए । लिवर्ड संस्थाले करिब ६ वर्ष यस कार्यका लागि सहयोग गरेको स्थानीयले बताएका छन् । लोपोन्मुख स्थानीय बाली संरक्षण र यसका बारेमा जानकारी लिए पछि स्थानीयको यसतर्फ आकर्षण बढेको संस्थापक अध्यक्ष पाण्डले बताए । ‘संस्थाले स्थानीय जातको महत्वबारे जानकारी दिएपछि अहिले स्थानीय लोपोन्मुख जातप्रति आकर्षण बढेको हो’– संस्थापक अध्यक्ष पाण्डेले भने–‘यस अघि स्थानीय जातलाई विश्वास नगर्नेहरु पनि विश्वास गरेर खेती गर्न थालेका छन् ।’ स्थानीयले स्थानीय जातको बालीको महत्व बुझेपछि अपनत्व समेत देखाएको उनको भनाई छ । अहिले स्थानीय स्तरमा पाइने बाली संकलन गर्ने तथा संरक्षण गर्ने काम भइरहेको पाण्डेले बताए ।