सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी महासंघको निर्णय

दाङ, २६ असार । यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले वातावरण तयार गर्न सरकार उदासीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो ।

सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले सरकारसँग विभिन्न शर्तहरू राख्दै पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेको हो ।

महासंका महासचिव सरोज सिटौलाले बैङ्कको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायतको माग सम्बोधन नभएकाले तत्कालै कुनै खालका सार्वजनिक सवारी नचलाउने निर्णय भएको बताए ।

सरकारले सहुलियपूर्ण कर्जाको व्यवस्था नगरे धेरै व्यवसायीसँग गाडी सडकमा निकाल्ने खर्च नै नहुने उनीहरूको तर्क छ ।

‘थन्किएकै ठाउँबाट एउटा बाहिर निकाल्न डेढदेखि २ लाखसम्म खर्च गर्नुपर्ने अवस्था छ, यति लामो समय सवारी बन्द गर्दा ऋणले थिचिएका हामीलाई सहुलियत र सहयोग हुनेगरी सरकारबाट कुनै प्याकेज आएन,’ सिटौला भन्छन्,’एकरदुई जना सक्षम व्यवसायीले सवारी निकाल्न पनि सक्लान्, तर अधिकांश व्यवसायी अवस्था पीडामा छन्, कुनै न कुनै रूपमा सम्बाधेन नभई सवारी चलाउँदैनौं ।’

महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बिमाको ग्यारेन्टी गर्नु माग पनि गरेको छ । भोलि सार्वजनिक सवारी चले पनि रोग संक्रमण फैलाएको आरोप लाग्न सक्ने भन्दै महासंघले सवारी चल्नुअघि नै त्यस्तो जोखिमको मूल्याङ्कन गरेर योजना बनाउनुपर्ने माग गरेको छ ।

महासंघले हाल गाडीको सबैजसो कागजपत्रको म्याद सकिएको भन्दै त्यसको नवीकरणबारे पनि सरकारले नीति ल्याउनुपर्ने माग गरेको छ।