संस्कृति तथा पर्यटन विकासका लागि दाङमा ६ करोड ५ लाख बजेट

दाङ, २५ असार । प्रदेश नं. ५ सरकारले आउँदो आर्थिक वर्ष २०७७/०७८ का लागि संस्कृति तथा पर्यटन विकासका लागि ६ करोड ५ लाख बजेट विनियोजन गरेको छ । धार्मिक पर्यटकीय क्षेत्र, प्राकृतिकरुपमा रहेका पर्यटकीय क्षेत्रमा पूर्वाधार गर्नका लागि उक्त रकम खर्च गरिने भएको छ । प्रदेश सरकारले बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क निर्माणका लागि १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

थारु संग्राहलय निर्माण व्यवस्थापन चखौराका लागि ६० लाख रुपैयाँ, घोराही उप महानगरपालिका वडा नं. १८ को घोरदौरामा दाङको सांस्कृतिक डबली निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरेर तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवामा भँुइह्यार स्थान निर्माणका लागि १० लाख रुपैयाँ, तुलसीपुर वडा नं. ५ मा गुम्वा निर्माणका लागि २० लाख रुपैयाँ, सत्य साई केन्द्र व्यवस्थापनका लागि १० लाख रुपैयाँ, दंगीशरण गाउँपालिकाको सुकौरामा पार्क व्यवस्थापनका लागि ३० लाख रुपैयाँ, बंगलाचुली गाउँपालिकामा पार्क निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

दंगीशरण गाउँपालिका वडा नं. ४ पैवाङमा रहेको सती मन्दिरका लागि ५ लाख रुपैयाँ, घोराही १२ मा रहेको सुकी दह पर्यटन पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ, थारु कल्चर भिलेज तथा पार्क स्वीकृत डिपिआरबमोजिमका लागि ५० लाख रुपैयाँ, घोराहीमा मल्टी पर्पोज बोटानिकल गार्डेन निर्माणका लागि ५० लाख रुपैयाँ, तुलसीपुरमा बोटानिकल गार्डेन निर्माणका लागि ४० लाख रुपैयाँ र चमेरे गुफा सुकेदह संरक्षण एवं सौन्दर्यकरण तुलसीपुर–४ का लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिएमा जिल्लाको विकासमा समेत सहयोग पुग्ने यसका जानकारहरु बताउँछन् भने जिल्लामा आर्थिक विकासमा समेत सहयोग पुग्नुको साथै रोजगारीको समेत विकास पुग्ने उनीहरुको भनाइ छ । पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारले आ–आफ्नो स्थानबाट योजना बनाएर कार्य गर्दै आएका छन् । दाङ पर्यटकीय क्षेत्रमा धेरै सम्भावना बोकेको जिल्लाको रुपमा रहेको छ ।