जनविश्वास बढाउँदै न्यायिक समिति : एक बर्षमा १५४ उजुरी
लिलाधर वली
दाङ, २५ असार । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा चालु आव ०७६/०७७ मा विभिन्न प्रकृतिका १ सय ५४ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ७९ वटा मुद्दा फछ्यौट भइसकेका छन् । न्यायिक समितिले बिहीवार पत्रकार सम्मेलन गरेर वर्षभरी सम्पादन गरिएका न्यायसम्बन्धी गतिविधिको जानकारी गराएको हो ।
वर्षभरीमा समितिमा सबैभन्दा बढी ४१ वटा जग्गा रोक्का एवं खाता रोक्का सम्बन्धी उजुरी परेकोमा समितिले ३ वटा फछ्यौट गरेको न्यायिक समितिकी संयोजक एवं उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन् । जग्गा रोक्का तथा खाता रोक्का सम्बन्धी मुद्दाहरुमा दुवै पक्षलाई जुटाउनदेखि घटना प्रकृतिलाई अध्ययन गर्नुपर्ने भएका कारण मिलाउन ढिलाई हुने गरेको उनको भनाइ छ ।
त्यसैगरी लेनदेनका २८ वटामध्ये २०, घरेलु हिंसाका १५ वटामध्ये १२, जग्गा विवादसम्बन्धी ३१ वटामध्ये १९ वटा, बातावरणसम्बन्धी ३ वटामध्ये ३ वटा, माना–चामलसम्बन्धी १४ वटामध्ये ६ वटा र अन्य प्रकृतिका २० मुद्दा फछ्र्यौट भएको उनले बताइन् । उनका अनुसार गाली बेइज्जतीसम्बन्धी १ र कुलोपानीका १ वटामा मिलापत्र हुन नसक्दा बाँकी छन् । न्यायिक समितिमा गतबर्षका जिम्मेवारी सरी आएका १ सय २६ मुद्दामध्ये १ सय ७ वटा मुद्दाहरु फछ्र्यौट भएको समेत उनको भनाइ छ । गतबर्ष जिम्मेवारी सरी आएका लेनदेनसम्बन्धी २५ वटामध्ये २५, जग्गा विवाद ३६ मध्ये ३६, कुलोनालापानी सम्बन्धी ६ वटामध्ये ६ वटा, अन्य प्रकृतिका १८ मध्ये १८, वातावरणसम्वन्धी २ वटामध्ये २, घरेलु हिंसाका १९ मध्ये १९ वटा र कुटपिट÷लुटपाटसम्बन्धी १ मा एउटै मुद्दाहरुमा मिलापत्र भएको न्यौपानेले बताइन् । गएको बर्षबाट जिम्मेवारी सरी आएका जग्गा रोक्वा/खाता रोक्कासम्बन्धी मुद्दा परेका १९ वटा मुद्दाहरु यो बर्ष पनि मिल्न नसक्दा बाँकी रहेको उनले बताइन् । न्यौपानेले न्यायिक समितिमा गएको बर्ष जिम्मेवारी सरी आएका १ सय २६ र यसबर्ष दर्ता भएका १ सय ५४ गरी कुल २ सय ८० मुद्दामध्ये १ सय ८६ र आर्थिक बर्ष २०७४/०७५ दर्ता भएका जग्गा रोक्कामध्ये ४ वटा गरी १ सय ९० मुद्दाहरु फछ्र्याैट गरेको न्यौपानेले बताइन् ।
‘जग्गा वा खाता रोक्कासम्बन्धी मुद्दाहरुमा झगडियाहरु जुटाउनदेखि प्रमाणहरु संकलनमा ढिलाई हुँदा मिलापत्र गराउन समस्या हुने गरेको छ’, उनले भनिन्– ‘जसका कारण जग्गा रोक्वा वा खाता रोक्कासम्बन्धी परेका धेरै मुद्दाहरु बाँकी छन् ।’ त्यसैगरी उनले यो बर्ष घरेलु हिंसाका घटनाहरुमा कमी आएकोसमेत बताइन् । समाजमा बढ्दै गएको चेतनास्तरसँगै सरकारी तथा गैरसरकारी निकायबाट हुने कार्यक्रमले घरेलु हिंसाका घटनामा कमी ल्याएको दाबी गरिन् । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पछिल्लो चरणमा उपमहानगरपालिकाभित्रको न्यायिक समितिमा पनि जनविश्वास बढ्दै गएको बताए । न्यायिक समितिले दुवै पक्षलाई मिलाएर गर्ने फैसलाका कारण न्यायिक समितिमा जनविश्वास बढ्दै गएको नगर प्रमुख चौधरीले बताए । ‘पीडामा परेका व्यक्तिहरुलाई न्यायिक समितिले दिने न्यायका कारण न्यायिक समितिमा जनविश्वास बढ्दै गएको छ’, नगर प्रमुख चौधरीले भने– ‘जसले गर्दा समितिमा विभिन्न प्रकृतिका मुद्दाहरु बढ्दै गएका छन् ।’
