दाङ, २५ असार । संघीय संसदअन्र्तगतको कृषि, सहकारी एवं प्राकृतिक स्रोत समितिले पश्चिम नेपालमा भइरहेको वैज्ञानिक वन व्यवस्थापनको स्थलगत अनुगमनका क्रममा बिहीवार दाङ आएको छ ।
कैलालीको एउटा वनमा वैज्ञानिक वन व्यवस्थापनको नाममा मनपरी रुख काटेको उजुरी परेपछि संसदीय समितिले उपसमिति गठन गरी पश्चिम तराईका जिल्लाको स्थलगत अनुगमन गरिरहेको उपसमिति संयोजक शान्ता चौधरीले बताइन् । छलफलमा सहभागी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरुले वैज्ञानिक वन व्यवस्थापनको अवधारणा राम्रो भए पनि त्यसबाट निस्किएको वन पैदावार उपभोगमा भने उपभोक्ताहरु मारमा पर्ने गरेको गुनासो गरेका छन् ।
कार्यक्रममा उपसमितिको नेतृत्व गरेकी समिति सदस्य शान्ता चौधरीले उपभोक्ताको चाहनाअनुसारले वन सम्बन्धी नीति–नियम बन्नुपर्ने भएकाले सबैको राय सुझाव लिन आफूहरु अनुगमनमा हिडेको बताइन् । कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले वनका माध्यमबाट स्थानीयलाई समृद्ध बनाउनका लागि यो बर्ष दाङको पहाडी भेगमा एक लाख टिमुरका बिरुवा रोप्न थालिएको वताए ।
तराईको नदी उकास क्षेत्र बगरलाई वन बनाउने गरी गत बर्षदेखि थालिएको बृक्षारोपण अभियानलाई यो बर्ष अझ प्रभावकारी रुपमा अघि बढाइएको बताए । बगरलाई बन गराउनका कारण दाङको बन क्षेत्र करिब १० हजार हेक्टर वन क्षेत्र बढेको उनको भनाइ थियो । कार्यक्रममा उनले जिल्लाको वनको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुले वन संरक्षण गर्नेहरु नै त्यस्को उपभोगबाट वञ्चित भएको गुनासो आउने गरेकाले त्यस्ता समस्या समाधानका लागि पहल गर्न उपसमितिलाई सुझाव दिएका थिए । संसदीय उपसमितिका सदस्यहरु सत्यनारायण शर्मा र राजबहादुर बुढाथोकीले उपसमितिले गर्ने कार्यको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेकपा दाङका सचिव सुवास पुन, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीलगायतले सुझाव राखेका थिए । यसैबीच डिभिजन वन कार्यालय दाङले बहुउपयोगी मौवाका बिरुवा रोपण अभियानको शुरुवात गरेको छ । चौधरी समुदायको धर्म र संस्कृतिसँग जोडिएको मौवाको बोट लगाउने कार्यलाई अभियानकै रुपमा अघि बढाएको डिभिजन वन कार्यालय दाङका प्रमुख ज्ञवालीले बताए ।
घोराही उपमहानगरपालिका वडा नं. २ मा रहेको गौरी सामुदायिक वन क्षेत्रमा संघीय संसदअन्र्तगतको कृषि, सहकारी एवं प्राकृतिक स्रोत समितिका संयोजक शान्ता चौधरीले बिहीवार मौवा बिरुवा रोपण अभियानको शुरुवात गरेकी हुन् । मौवा रोपण अभियानलाई अर्को बर्षदेखि जिल्लाभर अभियानकै रुपमा अगाडि बढाई कम्तीमा २० हजार मौवाका बिरुवा रोप्ने योजनाका रहेको प्रमुख ज्ञवालीले बताए ।
चौधरी समुदाय बाहुल्य रहेको क्षेत्रमा मौवा रोपणलाई बहुउपयोगी दृष्टिले अगाडि बढाइने कार्यालयले जनाएको छ । अभियानको शुरुवातका लागि टोली संयोजक चौधरीसहित संसदीय उपसमितिका सदस्यहरु सत्यनारायण शर्मा र राजबहादुर बुढाथोकी, डिभिजन वन अधिकृत ज्ञवालीसहितको टोली पुगेको थियो । यो बर्षमा दाङमा ढाई लाख बढी बिरुवा रोप्ने योजना रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।