Goraksha

National Daily

पुलिस मिशन : संगीतनगर टु बालापुर

खेमराज रिजाल
तुलसीपुर, २४ असार । इलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको पछिल्लो एक महिनामा भएका गतिविधिको संक्षिप्त जानकारी गराएको छ । बिहीवार आफ्नै कार्यालयमा पत्रकार अन्तक्र्रिया गरी तुलसीपुर प्रहरीले एक महिनामा तुलसीपुर उपमहानगरपालिका बसपार्कस्थित संगीतनगरमा आयोजना गरिएको कार्यक्रमसँगै ३९औं कार्यक्रमका रुपमा बालापुरमा आयोजना गरिएका प्रहरी अभियानका विषयमा पनि समीक्षा गरिएको छ ।

टोल–टोलमा प्रहरी अभियानअन्तर्गत यी विभिन्न स्थानमा सुरक्षा अन्तक्र्रिया भएका हुन् । हरेक टोलमा प्रहरी प्रमुख आफै पुगेर नागरिकहरुको सुझाव र शान्ति सुरक्षाको अवस्थाको विश्लेषण गरेका थिए ।

‘तुलसीपुरलाई लागूऔषध कारोवारी एवं दुव्र्यसनीको ट्रान्जिटबाट पूर्णतः मुक्त बनाउन चाहन्छौं, त्यसैले पछिल्लो हाम्रो अपे्रशन कारोबारीसँगै दुव्र्यसनी र अभिभावक सचेतनामा पनि लक्षित थियो’, पत्रकार अन्तक्र्रियामा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले भने । आफूले इलाका प्रहरी कार्यालयको नेतृत्व संहालेलगत्तै एक महिनाको समय मागरेर तुलसीपुरमा फरकरुपमा शान्ति सुरक्षाको अनुभूति दिलाउने बताएका प्रहरी प्रमुख सिंहले एक महिनाकै अवधिमा तुलसीपुरमा सक्रिय रहेका दुईवटा लागूऔषध कारोबारीको सञ्जाल ध्वस्त बनाइसकेको तथा एउटा समूहलाई खोजिरहेको बताए ।

‘करिब ३१ ग्राम लागूऔषधसहित दुईवटा कारोवारी समूहका ७ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइसकेका छौं, एउटा ग्रुप फरार रहे पनि खोजी कार्य जारी रहेको छ’, प्रहरी प्रमुख सिंहले पत्रकारहरुमाझ भने । पछिल्लो समयमा ब्राउनसुगर र टिडिजेसिक इन्जेक्सन लगाउनेहरु गाँजा सेवनमा झरिसकेकाले इलाका प्रहरी कार्यालय तुलसीपुरले अहिले आफ्नो सुरक्षा क्षेत्रभित्र रहेका सम्पूर्ण गाँजाका बोट नष्ट गर्ने अभियान थालिसकेको पनि उनको अभिव्यक्ति थियो । ‘हामीले ८७ स्थानमा रहेका गाँजाबारी फाडेर नष्ट गरिसकेका छौं, बाँकी स्थानमा पनि गाँजाको बोटहरु खोजी–खोजी नष्ट गर्दैछौं, त्यसमा आम नागरिकहरुको साथ र सहयोग पनि रहेको छ’, प्रहरी प्रमुख सिंहले भने ।

लागूऔषधको सेवन गरी समाजमा गुण्डागर्दी गर्नेहरुको नाम ठेगानासहितको बायोग्राफी प्राप्त गरिसकेको जनाउँदै कम्तीमा १ सय ८७ जना लागूऔषध दुव्र्यसनी र गुण्डागर्दीमा संलग्न हुने व्यक्तिहरुलाई उनीहरुका अभिभावकहरु सहित बोलाएर इलाका प्रहरी कार्यालयमै काउन्सिलिङ गरिसकेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रहरीले प्राप्त तथ्यांकमा तुलसीपुर इलाका प्रहरी कार्यालयको कार्यक्षेत्रमा जम्मा ७ सय ६३ जना व्यक्तिहरु दुव्र्यसनी र गुण्डागर्दीमा संलग्न छन् । बावुआमासँगै राखेर अनुशिक्षण दिँदा यसले परिवार एवं समाजमा समेत सकारात्मक सन्देश दिएको पनि प्रहरीको बुझाइ छ । ‘हाम्रो यो अभियानमा बुवाआमा पनि धेरै हौसिनुभएको छ, जसले आफ्ना बालबालिकालाई सुधार्न मद्दत पु¥याएको छ’, प्रहरी प्रमुख सिंहले भने ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको अबको मिशन भनेको जुवातास नियन्त्रण भएको पनि उनको अभिव्यक्ति थियो । यसै अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरले केही दिनयता जुवाका खालमा छापा मारी करिब ३ लाख रुपैयाँ बरामद गर्दै १५ जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रियामा ल्याएको पनि बताए । यसमा पनि प्रहरीले नागरिक हातेमालोको अपेक्षा गरेको थियो । नागरिकसँगको सहकार्यमा हरेक बस्तीमा टोल सुरक्षा समिति गठन गरी संयुक्त गस्ती गरेरै पनि शान्ति सुरक्षा कायम गर्ने अभियानमा आफू रहेको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

मदिरा सेवन गरी सवारी चलाएको पाइएमा त्यसको कानुनी सजाय भोग्न आफ्नै मातहतका सुरक्षाकर्मीसमेत बाध्य हुने भन्दै घरेलु मदिरा उत्पादनमा पनि सम्बन्धित पक्षको सहयोगको अपेक्षा प्रहरीले गरेको थियो । ‘जुनसुकै हिंसाको मूल कारकका रुपमा मदिरा सेवन हो, घरेलु मदिरा उत्पादनलाई नै रोक्न आन्तरिक राजश्व कार्यालय र स्थानीय सरकारसँग सहकार्य गर्न सुरक्षा निकाय तयार छ’, पत्रकार सम्मेलनमा सिंहले भने । साइवर क्राइमलाई पनि प्रहरीले पछिल्लो समयमा गम्भीरतापूर्वक लिएको भन्दै यसमा पनि सचेत रहन प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ । साथै यस क्षेत्रको समग्र शान्ति सुरक्षामा प्रहरीले सञ्चारकर्मीहरुको सकारात्मक आलोचनासहित सुझावको समेत अपेक्षा गरेको छ । शान्ति सुरक्षाको प्रत्याभूतिका लागि हरेक समुदायमा सकारात्मक सोचको विकास गर्न पनि प्रहरीको अभियान केन्द्रित हुने पनि सो अवसरमा बताइएको थियो ।