सार्वजनिक यायायातका साधन चल्ने
काठमाडौं, २५ असार । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको वताए ।
सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो जनाकारी दिएका हुन् । सरकारको निर्णय अनुसार काठमाडौंमा उपत्यकाभित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् । मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्नेछन् भने अन्य यातायातका साधन सञ्चालनका लागि समय लाग्ने छ ।
ट्याक्सीको हकमा चालकबाहेक दुईजना मात्र चढ्न पाउने छन् । सरकारले सर्वाजनिक सवारी साधनमा आधा मात्र यात्रु चढाउन पाउने निर्णय गरेको छ । सँगै यो निर्णय कार्यान्वयन हुँदासम्म ५० प्रतिशत भाडा बढी लिन पाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अब सार्वजनिक सवारी साधनमा चढ्दा अहिलेको भाडा भन्दा डबल पैसा तिर्नु पर्नेछ । लामो दूरीका सार्वजनिक सवारी साधनको विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन ।
यसैबीच यातायात व्यवसायी राष्ट्रिय महासंघले भने शुक्रवार बैठक बसी यातायात सञ्चालन गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय लिने महासंघका सल्लाहकार सुरेश हमालले बताए । ‘सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ, हामीहरुको बैठक शुक्रवार दिउँसो बस्दैछ, त्यसले ठोस निर्णय लिनेछ’, सल्लाहकार हमालले भने ।
