सेतो भात र खसीको मासु

युवराज शर्मा

एकाविहानै एउटा गरिब व्यक्तिले घोराही बजारमा काम्दै हिडेको देखियो । उनी लुगाको अभावमा जाडोले कामेका थिएनन् । उनको कम्पन चीसोको असर थिएन । उनी तत्कालीन माओवादी नेता वर्षमान पुन, वर्तमान ऊर्जा मन्त्रीको माओवादी अंगरक्षक भएको बताउँथे । नेकपा माओवादी द्वन्द्वकालमा नेताहरुले अंगरक्षक राख्ने चलन थियो । उनीहरुले दश वर्षे जनयुद्ध नामको द्वन्द्व चलाए र बाह्र हजारको रगत बगाएको इतिहास रचेका थिए ।

उनीहरु भन्छन्– देशमा परिवर्तन ल्याउने हामी हौँ । परिवर्तनको स्वाद लिने पनि हामी हौँ । हिजो पनि जनता भोकै थिए, भोलि पनि भोकै हुन्छन् । जसले खेतीपाती गर्दैनन् उनीहरुसँग खाने अनाज हुँदैन । जनताले हाम्रा लागि लडाई मात्र गर्छन् । पद र कुर्सी हामीलाई दिन्छन् । निर्वाचनका समयमा उनीहरुको मन जित्न धन, बल, छल गर्न सक्नु इमानदार नेता बन्नु हो ।

नेताहरुका यस्ता स्वार्थी भावनाका कुरा सुनेर जनताले मतदान गर्दा झुक्किन्छन् । पद र कुर्सीमा स्वार्थी नेताहरु पुग्छन् । नागरिकका आशाहरु मर्छन् । परिवर्तन भनेको आजका स्वार्थीहरु भोलिका मन्त्रीहरु हुन् भन्ने ज्ञान नागरिकले बुझ्नु र ज्ञान गर्नुपर्छ । त्यसैले होला ती व्यक्तिले सेतो भात र खसीको मासु खाने इच्छा गरे र घरघरै माग्दै हिडेका होलान् । तर त्यस्तो खाना मन्त्रीहरुका निकासहरुमा मात्र पाइनछ भन्ने ज्ञान ती मगन्तेलाई थाहा भएन ।

देशमा वहुदल आयो । नागरिकको आशा पलाएको थियो । तर नेताहरुले कुर्सीका लागि बालुवाटारमा रडाको मच्चाएको देख्दा कतै नेताहरु कुकुर र विरालोको झगडा जस्तो झगडा गरेको दृश्यहरु नागरिकलाई देखाएको त होइन ? नागरिक आश्चर्यमा छन् । जसले कम्युनिष्ट सरकारको शासन पद्धतिलाई हेर्न इच्छुक थिए । धेरैले मतदान गरे । विभिन्न दलहरुमा आस्थावान भउकाहरुले पनि मतदान गरेर दुइतिहाईको कम्युनिष्ट सरकार बन्ने अवसर दिए ।

प्रधानमन्त्री पदमा केपी शर्मा ओली बने । कम्युनिष्टहरु पनि निर्वाचन पद्धतिलाई पालन गरेर लोकतान्त्रिक धारमा आएका थिए । यो दलको नौ महिने शासन व्यवस्थामा प्रधानमन्त्री बन्नुभएका मनमोहन अधिकारीले कम्युनिष्टको कार्यशैली देखाएको सामाजिक सुरक्षा भत्ता वितरण गरेर कार्यशैली देखाउनुभयो । त्यसको जगमा कम्युनिष्टहरुको शासन प्रणाली बन्ला ।

नागरिकले नेपाललाई प्रणाली, नीति, नियम, ऐन, कानुनजस्ता विषयहरुमा रहेर देशको विकास र समृद्धिका लागि काम गरेर जनतालाई देखाउलान् भन्ने सोचका थिए । तर लोकतन्त्रमा मनपरीतन्त्र अपनाउने नीति बन्यो । यसमा जनता प्रथम लाइनमा हुन्छन् भने कर्मचारीवर्ग दोस्रो लाइनमा बस्छन् । तेस्रो लाइनमा जनप्रतिनिधिहरुको जवाफदेही कार्यशैली देखिनु पर्छ । तर त्यस्तो नभएर जनप्रतिनिधिहरु प्रथम लाइनमा बसेर आर्थिक अनियमितता र सामाजिक सद्भावनामा बदनाम कमाउने काम मात्र गरिरहेको अवस्था देखियो । के नेपालको शासन व्यवथा कसैको कपौती हो र ? शक्तिमा भएपछि मनपरी गर्ने ? शक्तिहीन भएपछि आफ्नो अंशका लागि दौडधुप गर्नु नैतिकता नेताहरुमा हराएको आशंका नागरिक गर्छन् ।

देशमा नागरिक कोभिड–१९ ले पीडित छन् । उनीहरु भय र त्रासमा छन् । क्वारेन्टाइनमा बसेका नागरिकको स्वाब परीक्षण हुनसकेको छैन । स्थानीय सरकारले रकमको अभावमा अस्पतालका बिलहरुको भुक्तानी गर्न नसकेको अवस्था छ । देशको अर्थतन्त्र डामाडोल भएको छ । नागरिक गरिबीको भुमरीमा चक्कर काटिरहेका छन् । नेताहरुलाई पद र कुर्सीमा पु¥याए पनि नागरिकले खानका लागि थाल थाप्दै हिड्नुपरेको छ । हिजोका नेताहरु पछि लागेर वा अनुयायी बनेर हिड्नेहरुले थाल थापेर सेतो भात र खसीको मासु माग्दै हिडेको व्यक्तिलाई नेताहरुले बिर्से । आफ्ना नागरिकले माग्दै हिडेको दृश्यले नेपालमा खाद्य समस्या बढिरहेको संकेत दिएको छ । यो अवस्थामा कोरोना नियन्त्रण र नागरिकको खाद्य आपूर्तितर्फ नेताहरु जुट्नुपर्ने समयमा आन्तरिक किचलो गरेर नागरिकलाई आफ्नो चरित्र देखाउनु लज्जास्प्रद कार्य हो ।

घोराही बजारमा माग्ने मान्छे छैनन् । उनीहरुको राम्रो व्यवस्थापन गरियो भनेका थिए – नगर प्रमुखले । आजभोलि बजारहरुमा सेतो भात र खसीको मासु खान माग्नेहरु धेरै छन् । वर्षभरमा खेतीपाती गरेर खान नपुग्ने व्यक्तिहरुले मागेर खानु परेको छ । देशमा रोजगारको वातावरण बनेन । विदेशिएका नागरिकले कोरोनाका कारण विदेशिएनन् भने कहाँ गएर थाल थाप्ने ? मन्त्रीको निवास स्थलमा ? हिजोका दिनमा नेताका अंगरक्षक बन्नेहरु थाल थाप्दै सेतो भात र खसीको मासु माग्नेहरु देशमा कति छन् ? त्यसको तथ्यांक नेताहरुसँग छैन ।

ती व्यक्तिहरुलाई नेताहरुले चिन्दैनन् र बुझेका पनि छैनन् । उनीहरुका भाषण सुन्दा नेपाल कृषिप्रधान देश हो भन्न बिर्संदैनन् । सुगारटाईका भाषणहरु मात्र सुनाउँछन् जसरी द्वन्द्वकालमा माओवादीहरुले गाउँघरमा नागरिकलाई सुनाउँथे । हामी सत्तामा पुगने लक्ष्यको लडाईँ हो, सत्तामा पुगेपछि परिवर्तनको अनुभूति नागरिकलाई गराउँछौँ भन्ने भाषण सुनाउँथे । भात खाएर जान्थे । अहिले सत्तामा पुगे । मन्त्री पद पाए । सेतो भात र खसीको मासुमा रमाए । परिवर्तन आफ्नो गरे । नागरिकले भोको पेट नाङ्गो छाटि देखाउँदै थाल थापेर सेतो भात र खसीका मासु खान पाउँ भन्दै हिडेका व्यक्तिले नेपालीको अवस्था देखाएका छन् ।

नेपालमा २०६५ साल जेठ १५ गतेदेखि जनताद्वारा जनताका लागि जनताको सरकार सुरु भएको थियो । जसलाई नेताहरुले लोकतान्त्रिक गणतन्त्र भने । नागरिकले जीवन स्तर राम्रो बन्ने आशा गरेका थिए । तर भाङ खाएका व्यक्तिहरुको तामसी नृत्य जस्तो राजनीतिक नृत्य नागरिकले देखिरहेका छन् । नेताहरुले आफूलाई आफै राजनेता भन्नु सुहाउँदैन । चोरले आफूलाई आदर्श नागरिक भनेको जस्तो लाग्छ । भनिन्छ – स्वदेशशे पुज्यते नेता, विद्वान सर्वत्र पुज्यते । तर नेपालमा बौद्धिकवर्गभन्दा धन भएकावर्गको सम्मान सरकारबाट हुन्छ । त्यसैले नेपालका राजनीतिज्ञहरुलाई बौद्धिकवर्गप्रति घृणा बढ्छ । उनीहरु भन्छन्– नेपाली भने रोजगारका लागि विदेशतर्फ जान इच्छुक छन् ।

त्यसकारण नान नपाएका नेपालीले थाल थापेर सेतो भात र खसीको मासु माग्दै हिड्छन् । यस्तावर्गका मालिकहरुले मन्त्री र सांसद बनेर सेतो भात र खसीको मासु खाँदै बस्छन् । कस्तो विभेदकारी वातावरण नेपालको लोकतान्त्रिक गणतन्त्रले बनाएको अवस्था छ ?

नेपालमा कोभिड–१९ को महामारी फैलिरहेको समय छ । यसलाई नियन्त्रण गर्ने प्रयास भए पनि उपचार प्रविधिको अभाव छ । त्यसतर्फ ध्यान नदिएर नेताहरुको ध्यान स्वार्थ लिप्साले कुर्सी प्राप्त गर्ने रणनीतिमा लागिपरेका छन् । विदेशबाट फर्केका नेपालीले गाउँघर ढोका छन् । उनीहरु खाद्य समस्यामा छन् । त्यस्तो समस्याको दृश्य छ । हिजका दिनहरुमा संघर्ष गर्नेवर्गका पुच्छर बनेकाहरुले थाल थाप्दै सेतो भात र खसीको मासु माग्दै हिडेको र नेताहरुले आफ्नो भान्सामा सेतो भात र खसीको मासु खाइरहेको वातावरणले गणतन्त्रलाई मनतन्त्र बनाउको छ ।