Goraksha

National Daily

मन त मेरो नेपाली हो …..

खेमराज रिजाल
तुलसीपुर, २४ असार । अष्ट्रेलियामा कम्तीमा ६ बर्षको अध्ययनसँगै जब क्यारियर बनाइसकेपछि स्मृति केसी लकडाउनअघि नेपाल आइन् । मतलव दाङको तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरको पैतृक घरमा । यही समयमा उनको विहेवारी पनि नेपालीसँगै भयो । ‘मन त मेरो नेपाली हो, नेपालकी छोरी हुँ, त्यसैले मेरो मन त नेपालमै थियो अष्ट्रेलियामा रहँदा पनि’, फुरुङग हुँदै स्मृतिले यस पंक्तिकारसँग भनिन् ।

‘जब अष्ट्रेलियामा मेरो पढाइको पाटो सकाएर केही कमाउने भएकी थिएँ, त्यसपछि मासिक एक सय डलर नेपालकै लागि सामाजिक सेवामा खर्च हुनेगरी छुट्याउन थालेँ । त्यसमा केही साथीहरुले थप सहयोग गरिरहेका पनि छन्, जुन फण्डबाट मैले तुलसीपुरमा तीन बर्षअघि तुलसीपुर फेमीना गु्रप बनाएर हाम्रो सामाजिक अभियानलाई निरन्तरता दिइरहेका छौं’, स्मृतिले भन्दै गइन्– ‘मेरो यो सामाजिक अभियानमा तपाई मिडियाकर्मी दाइहरुको साथ र सहयोग चाहिएको छ । पत्रिकाको कार्यालयमा आउँदा स्मृतिको उत्साह अझै बढेको अनुभूति हुन्थ्यो ।’

सामाजिक सेवाकै अभियानमा शुरु भएको तुलसीपुर फेमिना गु्रप नेपाल फेमिना ग्रुपमा पनि परिणत भयो । जसमा अहिले कम्तीमा ४१ हजार भोलेन्टियर सदस्य रहेका छन् । भोका नेपालीलाई भात खुवाउने अभियानसँगै विद्यालयमा सेनेटरी प्याडदेखि स्वास्थ्य सामग्रीहरु सहयोगमा पनि फेमिना ग्रुपको अनुकरणीय काम तुलसीपुरमा देखिँदै थियो । उनी अष्ट्रेलियामै रहँदा पनि तुलसीपुरका हरेक कलेजमा रहेका साना बालिकाहरुसमेत यो समूहमा आवद्ध भए ।

प्रकृति फेमिना ग्रुपकी फण्डर हुन् । उनकै पहलमा नेपाल फेमिना गु्रप बन्दै तुलसीपुरमा रहेका सबै युवाहरुलाई सहभागी बनाउँदै अहिले तुलसीपुर युथ ग्रुप पनि गठन भएको छ । कानुनी रुपमा संस्था दर्ता प्रक्रियासमेत शुरु भैसकेको प्रकृतिको अभिव्यक्ति थियो । लकडाउनअघि नै नेपाल आएकी प्रकृतिलाई पछिल्लो समयमा कोभिड संक्रमणको जोखिमले पनि ध्यान खिच्यो । त्यसैले त तुलसीपुर युथ ग्रुपकै नेतृत्वमा तुलसीपुर विद्युत कार्यालयमा बिल तिर्नका लागि हुने भीडभाड व्यवस्थापनप्रति ध्यानाकर्षण गरायो ।

‘हामी युवाहरु मिलेर विद्युत कार्यालयको भीडमा सामाजिक दूरी कायम गराउन कम्तीमा १४ दिन लागेको थियो, पुरै कार्यालय समय हामीले त्यही बितायौ’, प्रकृतिले भनिन् । फेमिना ग्रुपले मात्रै काम गर्दाभन्दा अझै सामाजिक अभियान प्रभावकारी हुन्छ कि भनेर तुलसीपुर युथ ग्रुप बनाएर काम गर्दैछौं’, प्रकृतिले भनिन् । युथ ग्रुपमा तुलसीपुरका युवा अरुण लहरे, बसन्तलगायतले साथ दिइरहेका छन् ।

समाजमा युवाहरु अनुशासित नभएसम्म सभ्य समाजको परिकल्पना गर्न सकिँदैन । घरेलु हिंसा यौनजन्य हिंसा तथा लागूऔषध दुव्र्यसनी न्यूनीकरणमा पनि समस्त युवाहरुकै भूमिका महत्वपूर्ण हुने भएकाले प्रकृतिको अभियानमा आफूहरुले पनि हातेमालो गरेरै अघि बढ्ने युवा नेता अरुण लहरेको अभिव्यक्ति थियो ।

अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीमा मास्र्टर्स डिग्रीसम्मको अध्ययन सकाएपछि प्रकृतिले एउटा रेष्टुरेण्टमा असिस्टेण्ट म्यानेजरको भूमिकामा जव गरिरहेकी छिन् । विहेवारी गर्न नेपाल आएकी उनी सायद लकडाउन सहज भएलगत्तै अष्ट्रेलिया फर्कन सोचाइमा छिन् । तर अहिले विश्वव्यापी कोरोनाको महामारीले विश्व लकडाउनमा रहँदा कुनै पनि नेपाली भोकले मर्नु नपरोस, उपचार नपाएर रोगले मर्नु नपरोस् भन्ने सोचाइसँगै सामाजिक सचेतना अभियानमा छिन् । ‘मान्छे मात्र होइन, चरा र बाँदर पनि लोप हुनु नपरोस् भनेर हामीले परेवा र बाँदरलाई पशुपति क्षेत्रमै पुगेर अन्न दिएका थियौं’, प्रकृतिले भनिन्– त्यसमा नेपाल फेमिना ग्रुप काठमाडौका साथीहरुले पनि सहयोग गर्नुभएको थियो ।’

अब तुलसीपुर युथ ग्रुपले यही असार २७ गते तुलसीपुर उपमहानगरपालिकाको कालाखोलाको क्वारेन्टाइनमा आश्रितहरुलाई फलफूल वितरणको कार्यक्रम तय गरेको छ । त्यसैगरी लकडाउनको अवस्थालाई समेटेर सामाजिक सचेतनासहितको सर्टफिल्म प्रदर्शनको पनि अन्तिम तयारी भएको तुलसीपुर युथ क्लवका अरुण लहरेले बताएका छन् । सर्टफिल्मको औपचारिक लन्च पनि यसै साता भएपछि विभिन्न सामाजिक सञ्जालमार्फत सबैले हेर्न सक्ने पनि बन्दोबस्त मिलाइएको छ । ‘शोसल सर्भिस नेभर सक्सेस विदाउट इक्वेल जेण्डर’को अभियानमा जुटेको तुलसीपुर युथ ग्रुपका लहरे भन्छन्– मन भए धन जुटाउन धेरै कठिनाई हुने छैन, हामीसँग सामाजिक अभियानका लागि धेरै सहयोगी हातहरु सहयोग गर्न आतुर रहिरहने छन् ।