बहिराहरुलाई हेल्थ पाउण्डेशनको राहत
दाङ, २५ असार । घोराही उपमहानगरपालिका वडा नं.३ मा बहिराहरुलाई विहीवार हेल्थ फाउण्डेशन नेपाल दाङले राहत वितरण गरेको छ । फाउण्डेशनका प्रशासन तथा वित्तीय संयोजक गिरिराज पौडेलको अध्यक्षता तथा वडा नं. ३ अध्यक्ष माधवकुमार चौधरीको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. ३, ४ र तुलसीपुर क्षेत्रमा डेरा गरेर तथा आफन्तकहाँ बस्दै आएका १८ जना बहिरा मनिसहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको थियो । उनीहरुले आफूहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्रीको समस्या परेको गुनासो आफ्ना शिक्षकहरुसँग गरेपछि फाउण्डेशनको सहकार्यमा राहत वितरण गरिएको थियो ।
फाउण्डेशनले उनीहरुलाई १५ दिन पुग्ने खाद्यान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । राहत सामग्री खरिद गर्नका लागि अमेरिकामा बस्दै आएका हेल्थ फाउण्डेशन अमेरिकाका पूर्व अध्यक्ष डा कमल वाग्लेले आर्थिक सहयोग गरेको फाउण्डेशनका प्रशासन तथा वित्तीय संयोजक पौडेलले बताए ।

कोरोनाको संक्रम विश्वमै बढेसँगै भएको लकडाउनको कठिन परिस्थितिमा फाउण्डेशनले सामाजिक कार्य गर्दै आएको छ । फाउण्डेशनले अहिले कूपोषण, नसर्ने रोग, मानसिक स्वास्थ्य सेवाहरु दिँदै आएको फाउण्डेशनका डा.पुजनबाबु डाँगीले बताए ।
त्यस्तै फाउण्डेशनले समाजमा त्यस्तो समस्या कतै भए फाउण्डेशनको टोल फ्री नं. १६६०८२५६००३ मा जानकारी गराउन समेत आग्रह गरेको छ । कार्यक्रममा फाण्डेशनका सदस्यहरु डा. पुजनबाबु डाँगी (मेडिकल अफिसर), एचए गोरख थापाको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण तथा दोभाषे सांकेतिक भाषा दोभाषे शिक्षक स्मृति योगीले गरेकी थिइन् ।
