Goraksha

National Daily

‘वनको संरक्षणमा साझा दायित्व आवश्यक छ’

लमही, २४ असार । डिभिजन वन कार्यालय लमहीले देउखुरी क्षेत्रमा वर्षभरी गरिएको गतिविधि बारे जानकारी गराएको छ । बुधबार डिभिजन वन कार्यालय लमहीले गरेको जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमा आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रगतिबारे डिभिजन वन कार्यालय लमहीका प्रमुख प्रविण विडारीले प्रस्तुत गरेका थिए ।

वन डिभिजनले चालु आवमा ७५.४८ प्रतिशत वित्तीय प्रगति गरेको छ । जिल्ला वन समन्वय समिति दाङका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद इन्द्रजित चौधरीले वन संरक्षण सबैको दायित्व भएको बताए । उनले वन विकासका कार्यक्रमहरु सन्दर्भमा पर्यटनसम्बन्धी भौतिक पूर्वाधार निर्माणका कामहरु गत वर्षभन्दा यस चालु आर्थिक वर्षको काम धेरै राम्रो भएको समेत बताए ।

‘लकडाउनको समयमा पनि अन्य छिमेकी जिल्लाहरुभन्दा दाङ जिल्लामा सबैभन्दा बढी विकास निर्माणको काम भएको छ’, सांसद चौधरीले भने । समन्वय समितिका प्रमुख नेपालीले वातावरणलाई कसरी संरक्षण गर्न सकिन्छ, त्यसतर्फ केन्द्रित हुन आवश्यक भएको भन्दै दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताए ।

लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले वन क्षेत्रको संरक्षण एवं सम्वद्र्धन गर्दै, सुन्दर भविष्य सुनिश्चित गर्न सबै एकजुट हुन आवश्यक रहेको बताए । ‘जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरण बीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबैको दायित्व हो’, उनले भने ।

राप्ती र गढवा गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र सहजराज यादवले वन र स्थानीय तहबीच समन्वयकारी भूमिका बढाउन आवश्यक भएको बताए । कार्यक्रममा डिभिजन वन कार्यालय लमहीले तीनवटा सामुदायिक वनलाई नगदसहित पुरस्कृत गरेको छ ।

वनको संरक्षण तथा व्यवस्थापन कार्यक्रममा शिवशक्ति बाख्रा विकास सामुदायिक वन उचानिम्बुलाई ७ हजार, प्रगति सामुदायिक वन उपभोक्त समिति गढवालाई ५ हजार र त्रिशक्ति सामुदायिक वन उपभोक्त समिति राजपुरलाई नगद ३ हजार पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र अन्य संघसंस्थाको सहभागिता थियो ।