बेरुजु आउनु भएन : सभापति चौधरी
दाङ, २४ असार । प्रदेश नं. ५ का सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश मातहतका डिभिजन कार्यालयका प्रमुखहरुलाई बेरुजु नआउनेगरी काम गर्न निर्देशन दिएका छन् । काम सकिएपछि मात्रै सार्वजनिक लेखा समितिले के–कसरी काम भयो ? कसरी रकम खर्च गरियो भन्ने बारेमा अध्ययन अनुगमन गर्ने उद्देश्यअनुसार प्रदेशका जिल्लाहरुमा अनुगमन थालिएको उनले बताए ।
‘अनीतिगतरुपमा देखिएका समस्याहरुको समेत अनुगमन गरिरहेका छौं । ताकि भोलिका दिनमा यस्ता समस्या नदोहोरिऊन्’, उनले भने– ‘अनुगमनपश्चात् समस्या देखिएका बिषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीलाई बोलाएर छलफल गर्ने, सरकारलाई निर्देशन दिने काम गर्छाैं । अनियमितता भेटियो भने असुलउपर समेत गर्छाैं ।’ सार्वजनिक लेखा समितिका सभापति चौधरीसहित सदस्य रेवतीरमण शर्मा, कुलप्रसाद पोख्रेल, तिलकराम शर्मासहितको टोली अनुगमनमा खटिएको छ ।
बुधबार भएको छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, शंकर गिरी, अर्जुनकुमार श्रेष्ठ लगायतले छलफलमा भाग लिएका थिए । प्रदेश ५ सार्वजनिक लेखा समितिले तराईका आठ जिल्लामा चालु आर्थिक बर्ष २०७६÷०७७ मा भएका कार्यक्रमहरुको अनुगमन गरिरहेको छ ।
