Goraksha

National Daily

पत्रे खोलामा पुलको ‘डिजाइन’ स्वीकृत

गोरक्ष समाचारदाता
दाङ, २३ असार । घोराही–तुलसीपुर सडकखण्डको पत्रेखोलाको अलपत्र पुलको करिब चार बर्षपछि डिजाइन स्वीकृत भएको छ । पुल निर्माणकै क्रममा २०७३ सालमा पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुलको डिजाइन गर्नुपर्ने भएपछि पुल निर्माणको काम रोकिएको थियो । डिजाइन स्वीकृत भएपछि विगत ६ बर्षदेखि अलपत्र रहेको पुल निर्माणको बाटो खुलेको छ ।

पुलको डिजाइन फाइल स्वीकृत नहुँदा पल निर्माणको जिम्मा पाएको शंकरमाली निर्माण सेवाले काम गरेको थिएन । करिब लामो समयपछि असारको १९ गते पुल डिजाइन काम स्वीकृत भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए । पुल डिजाइनको काम स्वीकृत भैसकेकाले अब पुल निर्माणको काम अघि बढ्ने समेत उनले बताए । ‘पुलको सुपरस्ट्रक्चर परिवर्तन गर्नुपर्ने भएपछि पत्रेखोलामा पुल निर्माणको काम रोकिएको थियोे, अहिले सडक विभागबाट डिजाइन स्वीकृत भएको छ’, कार्यालय प्रमुख शाक्यले भने– ‘अब पुल निर्माणको बाटो खुलेको छ, निर्माण कम्पनीले छिट्टै पुल निर्माणको कामलाई शुरु गर्नेछ ।’

पुल डिजाइन रिभ्यूका लागि पटक–पटक फाइल पेश भए पनि निर्माण कम्पनीले आवश्यक कागज पूरा गर्न नसक्दा फाइल स्वीकृत हुन सकेको थिएन । जसले गर्दा पुल निर्माणमा ढिलाई हुँदै आएको थियो । ‘पुलको डिजाइन रिभ्यूको फाइल सडक विभागमा पटक–पटक पुगे पनि विभिन्न कागज नपुगेको पस हुन सकेको थिएन’, प्रम्ख शाक्यले भने– ‘म कार्यालय प्रमुखका रुपमा आएपछि यसलाई प्राथमिकता दिएर लागेको थिए, अहिले बल्ल डिजाइन स्वीकृत पास भएको छ ।’ अब डिजाइन स्वीकृत भैसकेकाले म्याद थप गरिने र मितिमै पुल निर्माण सम्पन्न हुने उनले दाबी गरे ।

दुई बर्षमा पुल निर्माणको काम सक्ने गरी २०७१ साल असोज ११ गते सडक डिभिजन कार्यालय र पुल निर्माणको जिम्मा पाएको शंकरमाली निर्माण कम्पनीका बीच सम्झौता भएको थियो । दुई बर्षभित्रै पुल निर्माणको काम गर्ने सम्झौता भए पनि विभिन्न कारणले पुल निर्माणको काममा ढिलाई भएको निर्माण कम्पनी शंकरमाली निर्माण सेवाका प्रतिनिधि पदक शर्माले बताए । स्वीकृतमा ढिलाइ भएकाले काम प्रभावित भएको थियो ।

अब निर्माणको काम शुरु हुने उनले बताए । ‘पहिले पुल निर्माणको काम शुरु गरे पनि शुरुमा नाकाबन्दीले समस्या गरेको थियो, नाकाबन्दी खुलेपछि पुलको काम गर्दा डिजाइन परिवर्तन भयो र पुल निर्माणको काम रोकिएको थियो’, दाङ निर्माण व्यवसायी संघका उपाध्यक्षसमेत रहेका शर्माले भने– ‘निर्माण कम्पनीभन्दा पनि सरकारकै कारण पुल निर्माणमा ढिलाई भएको थियो । अहिले डिजाइन स्वीकृत गरेको छ, अब काम हुन्छ ।’ मूल्यवृद्धि करसहित ४ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो ।