फोनबाटै ‘काउन्सिलिङ’

  •   
  •  

आरके शीतल
दाङ, २२ असार । कोरोना भाइरसका कारण विश्व समुदायमा परेको असरका कारण मानिसहरुमा परेको मानसिक असरलाई कम गर्नका लागि फोनबाटै काउन्सिलिङ गर्ने थालिएको छ । संक्रमणको समयमा प्रत्यक्ष भेटेर काउन्सिलिङ गर्न समस्या हुने भएकाले फोनबाटै मनोविमर्शकर्ताहरुले मनोविमर्श गर्ने गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले मनोविमर्शकर्ताहरुले मनोविमर्श गर्ने गरेका छन् ।

कोरोनाको महामारीका कारण व्यक्तिहरुमा परेको मानसिक असरलाई कम गर्नका लागि फोनबाटै निरन्तर काउन्सिलिङ भइरहेको छ । लकडाउनको सममया संस्थागत एवं व्यक्तिगतरुपमा काउन्सिलिङको काम दाङमा पनि भइरहेका छन् । कोरोनाको कारण भएको मानसिक असर एवं अन्य कारणले भएको मानसिक असरलाई कम गर्नका लागि काउन्सिलिङलाई निरन्तरता दिइएको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिइन् । कोरोनाको संक्रमणको त्रास, घरेलु हिंसाका कारण लकडाउनको समयमा व्यक्तिमा परेको मानसिक असरलाई न्यूनीकरण गर्नका लागि काउन्सिलिङ निरन्तररुपमा भइरहेको उनको भनाइ रहेको छ ।

‘लकडाउनको समयमा व्यक्तिहरुमा कोरोनाको त्रासका कारण बढी मात्रामा मानसिक असर परेको देखिन्छ’, मनोविमर्शकर्ता ढकालले भनिन्– ‘कोरोनासँगै घरेलु हिंसाका घटनाहरु घटेका छन् । घरेलु हिंसामा परेका व्यक्तिहरु पनि काउन्सिलिङमा आउनुहुन्छ ।’ लकडाउनको समयमा घरमै होस् वा कार्यालयमै बसेर भए पनि निरन्तर काउन्सिलिङमा रहेको ढकालको भनाइ रहेको छ । विशेषगरी लकडाउनको समयमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले सम्पर्क गर्ने गरेको उनको अनुभव छ ।

 

नेपाल महिला सामुदायिक सेवा केन्द्रको तर्फबाट लकडाउनको समयमा पनि काउन्सिलिङ भइरहेको सूचनाका आधारमा धेरै व्यक्तिहरुले सम्पर्क गर्ने गरेको ढकालले बताइन् । ‘यो समयमा विशेष गरी क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले सम्पर्क गर्नुभयो । फोन गर्नेहरुले समयमा कोरोनाको रिपोर्ट नआउँदाको तनाव, क्वारेन्टाइनमा रहेको असुविधाको कारण भएको तनावको विषयलाई लिएर सम्पर्क गर्नुहुन्थ्यो,’ ढकालले भनिन्– ‘कतिपयले त हामीलाई रिपोर्ट छिटो दिनुप¥यो भनेर गाली नि गर्नुभयो ।’ लकडाउनको समयमा ४२ जना व्यक्तिहरुलाई मनोविमर्श गरेको उनले जानकारी दिइन् ।

सामाजिक सञ्जालमार्फत काउन्सिलिङ आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गर्दै आफ्नो नम्बर सार्वजनिक गरेर, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसँग समन्वय गरेर सेवाग्राहीहरुले फोन सम्पर्क गर्ने गरेको ढकालले जानकारी दिइन् । प्रतिव्यक्ति १ देखि ५ सेशनसम्म काउन्सिलिङ गरिएको ढकालले जानकारी दिइन् । दाङसहित रोल्पा, सल्यान, दैलेख, पोखरा, कपिलवस्तु, काठमाडौँबाट फोन मनोविमर्शका लागि सम्पर्क गरेको ढकालले जानकारी दिइन् ।

यस्तै मनोविमर्शकर्ता दीपा धिताल पनि लकडाउनको समयमा काउन्सिलिङको काममै व्यस्त रहिन् । लामो समयमा महिला हिंसाको क्षेत्रमा काम गरेकी धिताललाई पनि कोरोना भाइरस र घरेलु हिंसाका कारण मानसिक असर परेका व्यक्तिहरुले सम्पर्क गर्ने गरेको उनले जानकारी दिइन् । ‘यो लकडाउनको समयमा धेरैजसो कोरोनाका कारण परेको त्रासका कारण मानसिक असर परेका व्यक्तिहरुले सम्पर्क गर्नुभयो’, उनले भनिन्– ‘केही मात्रामा घरेलु हिंसामा परेका व्यक्तिहरु पनि सम्पर्कमा आउनुभयो ।’

उनले लकडाउनको समयमा २७ जनालाई फोनबाट काउन्सिलिङ गरिएको जानकारी दिइन् । काउन्सिलिङको समयमा सेवाग्राहीहरु फ्लोअफ क्लासका लागि सम्पर्कमा नआउने, क्वारेन्टाइनबाटै भाग्नै जस्ता समस्या भोग्नुपरेको उनको भनाइ छ ।

यस्तै अर्का मनोविमर्शकर्ता सुशीला आचार्यले पनि फोनबाटै काउन्सिलिङ गरिरहेको जानकारी दिइन् । विभिन्न माध्यमबाट सम्पर्कमा आएका व्यक्तिहरुलाई फोनबाटै काउन्सिलिङ गरिएको उनले जानकारी दिइन् । लकडाउनको समय भएकाले भेटेरै प्रत्यक्ष मनोविमर्श गर्न समस्या हुने भएकाले फोनबाटै मनोविमर्श गर्ने गरेको उनको भनाइ छ ।

लकडाउनको समयमा मनोविमर्शकर्ताहरुले आवश्यकता र मागअनुसार क्वारेन्टाइनमै पुगेर सामूहिक मनोसामाजिक प्राथमिक सहयोग गरेका छन् ।

प्रभावकारी बन्दै टोल फ्री नम्बर
कोरोना भाइरस संक्रमणको समयमा हुनसक्ने मानसिक असरलाई मध्यनजर गर्दै शुरु गरिएको टोल फ्री नम्बर प्रभावकारी बनेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले नागरिक आवाजसँगको सहकार्यमा दाङमा शुरु गरेको ‘महिला, शान्ति र सुरक्षा’ कार्यक्रमअन्तर्गत शुरु गरिएको टोल फ्री नम्बर मनोविमर्शका लागि प्रभावकारी बनेको हो ।

कोरोना भाइरस संक्रमणको त्रास एवं अन्य विविध कारणले हुन सक्ने मानसिक असरलाई कम गर्नका लागि गरिने मनोविमर्शका लागि केन्द्रले शुरु गरेको टोल फ्रि नम्बरमार्फत दैनिक सेवाग्राहीहरु सम्पर्कमा आउने गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीले जानकारी दिइन् । काउन्सिलिङको समस्या भएमा सम्पर्क गर्न सकिने भनेर दिइएको टोल फ्री नम्बरमा विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले बढी मात्रामा सम्पर्क गर्ने गरेको योगीले बताइन् ।

‘लकडाउनको समयमा मनोविमर्शका लागि शुरु गरिएको टोल फ्री नम्बर धेरै प्रभावकारी भएको छ’, योगीले भनिन्– ‘हामीले शुरु गरेदेखि हालसम्म ३५ जनाले टोल फ्रि नम्बरमा सम्पर्क गर्नुभएको छ ।’ शुरुमा सेवाग्राहीहरुले सम्पर्क गर्ने गरेको र त्यसपछि फ्लोअपका लागि संस्थाले नै सम्पर्क गर्ने गरेको योगीले जानकारी दिइन् । केन्द्रले जेठ २६ गतेदेखि मनोविमर्शका लागि टोल फ्री नम्बर शुरु गरेको छ ।