लकडाउनका कारण समयमा शुरु हुन सकेन बायो ग्यास उत्पादन

  •   
  •  

अमरराज अचार्य
दाङ, २२ असार । घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ । तर ग्यास उत्पादनका लागि भने अझै केही समय लाग्ने छ । नेपाल उर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठका अनुसार गत महिनाबाट ग्यास उत्पादन गर्ने लक्ष्य लिए पनि कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण उत्पादन थाल्न ढिला भएको हो । ‘पूर्वाधार निर्माण सकिए पनि ग्यास उत्पादनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले ढिला भएको हो’, श्रेष्ठले भने ।

अहिले सामान ल्याउनका लागि प्रक्रिया अगाडि बढाउन काठमाडौं गएर पहल गरिराखेको उनको भनाइ छ । ‘भारतबाट सामान ल्याएर काम गर्न पाइएमा कार्तिकको अन्त्यतिरबाट ग्यास उत्पादन शुरु हुनेछ’, श्रेष्ठले भने । शुरुका दिनमा संरचना निर्माण गर्दा उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले निर्माण कार्य ढिला भएको प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । घोराही उपमहानगरपालिकाको ल्यान्ड फिल्ड साइडमा फोहरबाट ग्यास निकाल्न थालिएको हो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यबाट फोहरबाट ग्यास उत्पादन गर्न थालिएको श्रेष्ठले बताए । त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते सम्झौता भएको थियो । १ वर्षको म्याद भए पनि काम सम्पन्न हुन नसकेकाले घोराही उपमहानगरपालिकाले गएको चैत महिनासम्मको लागि थप गरिएको थियो । कोरोनाको कारण काम हुन नसकेपछि फेरि कार्तिक मसान्तसम्मका लागि म्याद थप गरिएको उनको भनाइ रहेको छ ।

ग्यास उत्पादन गर्नका लागि करिब २० करोड लगानी लाग्ने श्रेष्ठ बताउँछन् । जसका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने प्लान्ट म्यानेजर श्रेष्ठले बताए । संरचना निर्माणका लागि नगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट २ हजार घन मिटरको रहेकोे प्लान्ट म्यानेजर श्रेष्ठको भनाइ रहेको छ ।

जसबाट दैनिक ७० देखि ८० वटा ग्यास सिलिण्डर उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ रहेको छ भने कम्पोष्ट मलसमेत उत्पादन गरिने प्लान्ट म्यानेजर श्रेष्ठले बताए । ग्यास सिलीण्डर भरेर बजारमा पठाइनेसमेत उनले बताए । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने म्यानेजर श्रेष्ठले बताए ।

२० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने उनले बताए । ‘नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण गर्नेछौं’, म्यानेजर श्रेष्ठले भने । ग्यास उत्पादन हुन थालेपछि उक्त स्थानमा २० देखि २५ जनाले रोजगारीसमेत पाउने उनले बताए । यसलाई प्रभावकारीरुपमा सञ्चालन गर्न सकेमा नगरपालिकाको आम्दानीको स्रोत हुनेछ ।

ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ । जिल्लामा नै ग्यास उत्पादन भएपछि ग्यासको मुल्य पनि कमी हुने नागरिकले अपेक्षा लिएका छन् । यसरी फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो कार्य हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाहरुबाट आउने गरेका छन् ।

फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाले अपेक्षा लिएको छ । ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत हुनेछ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ ।