दाङमा २१६ जना कोरोना संक्रमित डिस्चार्ज

  •   
  •  

गोरक्ष समाचारदाता

दाङ,२२ असार । दाङमा कोरोना रोगलाई जितेर घर फर्कने दुई सय बढी पुगेका छन् । जिल्लामा कोरोना संक्रमण देखिएर उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी तथा पालिकाले निर्माण गरेका आइसोलेशन सेण्टरमा भर्ना भएका ५ सय ९० जनामध्ये असार २१ गते आइतवारसम्म २ सय १६ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट एक सय १७ जना र बाँकी गाउँपालिकाले निर्माण गरेका आइसोलेशन सेण्टरबाट उनीहरु डिस्चार्ज भएका हुन् । कोरोना भाइरस जितेर घर फर्कने १ सय ८५ जना पुरुष र ३१ जना महिलाहरु रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

केन्द्रका अनुसार कोरोना जितेर घर फर्कने सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका ९९ जना रहेका छन् । त्यसैगरी बंगलाचुली गाउँपालिकाका ६९ जना, राप्ती गाउँपालिकाका १४ जना, लमही नगरपालिकाका ११ जना, तुलसीपुर उपमहानगरपालिकाका ९ जना, गढवा गाउँपालिकाका १० जना, बबई गाउँपालिकाका ३ जना र राजपुर गाउँपालिकाका १ जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका विनायक पौडेलले जानकारी दिएका छन् ।

दाङमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित घोराही उपमहानगरपालिकामा २ सय ५८ जना रहेका छन् । उनीहरुमध्ये २ सय २१ जना पुरुष र ३७ जना महिलाहरु रहेका छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ४० जना पुरुष र ७ जना महिला गरी ४७ जना, लमहीमा १४ जना पुरुष र ७ जना महिला गरी २१ जना, गढवामा २९ जना पुरुष र ६ जना महिला गरी ३५ जना, राजपुरमा ९ जना पुरुष र ७ जना महिला गरी १६ जना कोरोना संक्रमितहरु रहेको पौडेलले जानकारी दिए ।

पौडेकाअनुसार बंगलाचुलीमा १ सय ३६ जना पुरुष र २० जना महिला गरी १ सय ५६ जना, राप्ती गाउँपालिकामा १९ जना पुरुष र ८ जना महिला गरी २७ जना, बबई गाउँपालिकामा १४ जना पुरुष र दंगीशरणमा १ जना पुरुष र २ जना महिला गरी ३ जना र शान्तिनगर गाउँपालिकामा १० जना पुरुष र ३ जना महिला गरी १३ जना कोरोना संक्रमितहरु रहेका छन् ।

दाङमा ३ सय ७३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । उनीहरुमध्ये घोराहीका १ सय ५८ जना, तुलसीपुरका ३८ जना, लमहीका १० जना, गढवाका २५ जना, राजपुरका १५ जना, राप्तीका १३ जना, बंगलाचुलीका ८७ जना, दंगीशरणका ३ जना, बबई गाउँपालिकाका ११ जना र शान्तिनगरका १३ जना कोरोना संक्रमित उपचारमा छन् । उपचाररत ६५ जना महिला र ३ सय ८ जना पुरुषहरु रहेका छन् ।