Goraksha

National Daily

प्रतिष्ठानको पिसिआर मेसिन ठप्प

दाङ,२२ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षणको लागि राखिएको मेसिन दुई दिनदेखि ठप्प रहेको छ । प्रतिष्ठानले कोरोना परीक्षणका लागि शुल्क लाग्ने बताएपछि स्थानीय तहहरुले प्रतिष्ठानमा स्वाब पठाउन छोडेका छन् ।

प्रतिष्ठानमा कोरोना परीक्षणका स्वाब आउन छोडेपछि प्रतिष्ठानमा रहेका दुईवटा पिसिआर मेसिन बन्द रहेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।
तर प्रतिष्ठानले भने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार ल्याइएका स्वाबलाई मात्र परीक्षण गर्ने जनाएको छ ।

‘स्वास्थ्य मन्त्रालयले निर्दिष्ट गरेका पूर्वाधार अनुरुप आएका स्वाब परीक्षण भइरहेको छ, यो र त्यो व्यक्तिको सिफारिसमा आएका स्वाब परीक्षण गरिने छैन’–प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले भने–‘नियमसंगत आउने स्वाबको परीक्षण हुन्छ ।’