कृषिलाई प्रविधिसँग जोड्न अनुदानमा पावरटेलर
गोरक्ष समाचारदाता
तुलसीपुर, २२ असार । कृषिलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन बृद्धिका लागि स्थानीय सरकार प्रतिबद्ध भएर लागेको नगर प्रमुख घनश्याम पाण्डेले बताएका छन् । जीविकोपार्जनसँग मात्रै जोडिएको कृषिलाई व्यवसायीकरणसँग पनि जोड्नका लागि नयाँ प्रविधिमा जोड दिइएको उनको भनाई थियो ।
उपमहानगरपालिकाले समूह र सहकारीमार्फत् ठूलो परिमाणमा कृषि गर्नेहरुलाई अनुदानमा पावरटेलर वितरण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले प्रविधिको उपयोगिता र आवश्यकतालाई मध्यनजर गरेर थप कार्यक्रम अगाडि बढाइने बताए । प्रविधिको प्रयोगले खाद्यान्न उत्पादनमा अहम्भूमिका खेल्ने उनको विश्वास थियो ।
कृषिमा आत्मनिर्भर हुनुका साथै निर्यात बढाउनका लागि स्थानीय सरकारले कृषि लक्षित कार्यक्रम अगाडि बढाएको उनको भनाई थियो । ‘किसानको सुविधालाई ध्यानमा राखेर हरेक वडामा कृषि ईकाईहरु गठन गर्न थालेका छौँ’ नगर प्रमुख पाण्डेले भने । उनले अनुदानमा दिएको सामग्रीको सही सदुपयोग हुने विश्वास समेत व्यक्त गरे । उपमहानगरपालिकाले ठूलो परिमाणमा कृषि गर्ने समूह र सहकारीका लागि ५० प्रतिशत अनुदानमा पावरटेलर वितरण गरेको हो ।
उपमहानगरपालिकाले प्रतिपावरटेलर ९७ हजार ५ सय अनुदान दिएको हो । यसरी अनुदान पाउँनेहरुमा वडा नं. ३ को सिद्धबाबा कृषि सहकारी संस्था, वडा नं. ८ को थर्कोट कृषि सहकारी संस्था, वडा नं. १८ को बिजौरी साना किसान कृषि सहकारी संस्था, वडा नं. ७ को नमुना सहकारी संस्था र सोमनाथ कृषि सहकारी संस्था रहेका छन् ।
कार्यक्रममा अर्थ समिति सदस्य माधव वलीले कृषि क्षेत्रको उत्पादन बृद्धिका लागि कार्यक्रमले सहयोग गर्ने बताए । कार्यक्रममा कृषि विकास शाखा प्रमुख धनराज गौतमले अन्य अनुदानका कार्यक्रम पनि सञ्चालन भइरहेको बताए । कार्यक्रमको सहजीकरण कुलराज चौधरीले गरेका थिए ।
