लकडाउनसँगै सितलिएको बजारमा चहलपहल

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, २१ असार । ‘सामान किन्दा पनि समयको ख्याल गर्नुपर्ने वाध्यता थियो, कहिले आधा सामान त कहिले रित्तो हात घर फर्कनुपर्ने वाध्यता थियो भने आज सबै सामान किनमेल भयो’ –उपभोक्ता मनकुमारी घर्तीले भनिन् । उनीजस्तै अर्का उभोक्ता चन्द्रबहादुर वलीले पनि कोरोनाको कहरसँगै १२ बजेको समय सीमामा बाँधिनुपर्ने वाध्यता आइतवार नभएको बताए । उनीहरुजस्तै बजारमा किनमेलका लागि आउने सबै उपभोक्ताहरुले कोरोनाको त्रास कायमै भए पनि अन्य त्रास भने आइतवार नरहेको अभिव्यक्ति थियो ।

‘आज विहानदेखि ढुक्कसँग व्यापार गर्न पाइएको छ, प्रशासनको भनाई खानुपरेको छैन, भ्यान देखेपछि झस्कने अवस्था छैन’ –बजारका चोकमा मकै विक्रीका लागि बसिरहेकी एक महिलाले भनिन् । उनले विहानदेखि साँझ ५ बजेसम्म ढुकसँग बसेर व्यापार गर्न पाएको भन्दै खुशी व्यक्त गरिन् । त्यस्तै समय हेरेर सटर तान्नुपर्ने त्रास पनि कम भएको व्यवसायीहरु बताउँछन् । ‘१२ बजेपछि केही बेर सटर खुल्ला हुँदा पक्राउ गर्ला भन्ने चिन्ता आज रहेन, कोरोनाको जोखिम भए तापनि अन्य त्रास भने छैन्’– एकजना व्यसायीले भने ।

तुलसीपुरमा आइतवारदेखि दैनिक ५ बजेसम्म बजार खोल्ने निर्णयसँगै बजारमा चहल पहल बढ्नुका साथै व्यापार व्यवसाय पनि बृद्धि भएको छ । चैत ११ गतेदेखि लकडाउनका कारण ठप्पै भएको तुलसीपुर बजार केही समय पहिले विहानदेखि दिउँसो १२ बजेसम्म खुल्दै आएको थियो । तर आइतवारदेखि ५ बजेसम्म बजार खोल्ने निर्णयसँगै चोकमा डालोमा व्यापार गर्नेदेखि अन्य व्यवसायीहरुको व्यापारमा पनि बृद्धि भएको बताएका छन् ।

आइतवारदेखि होटललगायत अन्य भीडभाड हुने व्यवसायी बन्द भए पनि अन्य व्यापार व्यवसाय भने खुलेका थिए । बजारमा १२ बजेसम्म पसलहरु खुल्ला धेरै भीड हुने गरे पनि आइतवार भने वित्तीय संस्थाहरु वाहेक अन्य पसलहरुमा भने त्यत्ति भीड देखिएको थिएन । ५ बजेसम्म पसलहरु खुल्ला पहिलेभन्दा आइतवार व्यापार राम्रो भएको व्यवसायी प्रकाश श्रेष्ठले बताए । ‘कोरोनाको जोखिम त कायमै छ, तर ५ बजेसम्म पसल खोल्दा व्यापार भने राम्रो भएको छ’–उनले भने । उनले काम गर्दागर्दै १२ बज्ने भएका कारण पहिले समस्या भएको भन्दै आइतवारदेखि भने सहज भएको बताए ।

त्यस्तै आइएमईका सञ्चालक किरण पुनले पनि ५ बजेसम्म बजार खुल्दा आफूहरुलाई धेरै सहज भएको बताए । उनले आइतवार १२ बजेसम्म भीडभाड भए पनि त्यसपछि फाटफुट ग्राहकहरु मात्र आए पनि पहिले भन्दा समय बढेकाले सहज भएको सुनाए । ‘१२ बजे बन्द गर्नुपर्ने वाध्यता टरेको छ, रोगको जोखिमत छ, तर समयको भने वाध्यात्मक अवस्था कम भएको छ’–उनले भने ।

त्यस्तै व्यवसायी रमेश श्रेष्ठले भने १२ बजेसम्म पसल खुल्ला गर्दा पनि र आइतवार ५ बजेसम्म व्यापार खुल्दा त्यति व्यापारमा फरक नपरेको सुनाए । ‘अघिका दिनमाजस्तै आज पनि त्यही छ, व्यापार कुनै फरक भएको छैन्’ –उनले भने । श्रेष्ठले गाउँघरमा खेतीपाती र सार्वजनिक यातायात सञ्चालन नहुँदा यस्तो अवस्था देखिएको बताए । ‘सार्वजनिक यातायात बन्द छन्, यातायात नचलेपछि कसरी हुन्छ व्यापार’–उनले भने । आइतवारदेखि विहानदेखि साँझ ५ बजेसम्म बजार खुले पनि सार्वजनिक यातायात सञ्चालन नहुँदा टाढा–टाढाका उपभोक्ताहरु भने बजारसम्म नआउँदा सोचेजस्तो व्यापार हुन नसकेको कतिपय व्यवसायीहरु बताउँछन् ।

स्वास्थ्य सुरक्षा सजगता भने कम
यसैबीच दैनिक विहानदेखि साँझसम्म बजार खुल्नुका साथै सबै कार्यालयहरु सञ्चालन भए पनि स्वास्थ्य सुरक्षाप्रति धेरै सजगता नअपनाएको पाएको छ । भीडभाड हुने विद्युत, वित्तीय संस्था, यातायातलगायतका क्षेत्रमा आउने सेवाग्राहीहरुले भने सामाजिक दूरी कामय गरेको देखिएन । कोभिड–१९ को जोखिम जिल्लामा बढी रहेको समयमा सेवाग्राहीहरु कार्यालयमा घुइँचो लाग्नुका साथै बजारमा हिड्नेले मास्क नलगाएको देखिएको छ । मास्क कसैले हातमा त कसैले घाँटीमा झुण्ड्याउने गरेका छन् । त्यस्तै कतिपयत मास्क नै नलाएको देखिएको छ । मास्क भएकाले पनि गोजी र झोलामा मास्क हालेर हिड्र्ने र किनमेल गरेको दृश्य आइतवार तुलसीपुर बजारमा थियो । त्यस्तै साना सावारीका सधानहरु पनि भीडभाड भएर यात्रा गर्ने गरेका छन् । यसले गर्दा जोखिम थप निम्तने जानकारहरु बताउँछन् ।