स्वाब बाहिर पठाउँदै पालिकाहरु

  •   
  •  

लिलाधर वली
दाङ, २१ असार । कोरोना परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुल्क लिन थालेपछि दाङका स्थानीय तहरुले संकलन गरेको स्वाबको नमुना बाहिरी जिल्ला पठाउन थालेका छन् । सरकारले निःशुल्क परीक्षण गर्ने भनेको कोरोना परीक्षण प्रतिष्ठानले एउटा नमुनाको ५ हजार ५ सय रुपैयाँको दरले रकम लिन थालेपछि स्थनीय तहरुले जिल्ला बाहिर पठाउन थालेको जनाएका छन् ।

प्रतिष्ठानले हालसम्म कोरोना परीक्षण गरेको स्वाबको पैसा माग गर्दै पत्र लेखेकाले थप परीक्षणका लागि स्वाब लिन नमानेपछि संकलित स्वाव परीक्षणका लागि भैरहवा पठाएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए ।

स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार प्रतिष्ठानले पहिलेको पैसा नबुझाउँदासम्म स्वाब लिन नमानेपछि प्रदेशसभा सदस्यसँगको समन्वयमा ३१ वटा स्वाबको नमूना भैरहवा पठाएको बताए । ‘गाउँपालिका क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरेर पठाउँदा प्रतिष्ठानले स्वाब लिन मानेन’, प्रमुख चौधरीले भने– ‘प्रतिष्ठानले स्वाब लिन नमानेपछि हामीले भैरहवा पठाएका हौं ।’ उनका अनुसार गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा अझै ४१ जना रहेका छन् ।

त्यसैगरेर प्रतिष्ठानले बंगलाचुली गाउँपालिकाले पठाएका १ हजार ४ सय ६८ जनाको नमुना परीक्षण गरेको भन्दै प्रतिष्ठानले प्रतिनमुना ५ हजार ५ सयको दरले एकमुष्ठ ८० लाख ७४ हजार रुपैयाँ माग गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले बताए ।

अहिलेसम्म निःशुल्करुपमा परीक्षण भइरहेको समयमा प्रतिष्ठानले एकाएक अहिलेसम्म परीक्षण गरेको स्वावको रकम माग गरेपछि समस्यामा परेको बताए । ‘आइसोलेसनमा बसेकाहरुको कोरोना भए÷नभएको परीक्षण गर्नुपर्नेछ, तर प्रतिष्ठानले परीक्षणका लागि प्रतिस्वाब ५ हजार ५ सय माग गरेको छ’, स्वास्थ्य शाखा प्रमुख जिसीले भने–‘एकाएक प्रतिष्ठानले रकम माग गरेपछि संकलन गरेको स्वाब नेपालगञ्ज पठाउने तयारीमा छौ ।’

प्रतिष्ठानले स्वाब परीक्षणका लागि रकम माग्न थालेपछि अहिले घोराहीमा स्वाब संकलन नै बन्द गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ । भारतसहित तेश्रो मुलुकबाट आएका करिब एक सय मानिसहरु क्वारेन्टाइनमा रहे पनि प्रतिष्ठानले परीक्षणका लागि रकम मागेपछि अहिले स्वाब संकलन गर्न नसकिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा इन्चार्ज विकेश रेग्मीले बताए ।

उनका अनुसार घोराहीका प्रतिष्ठानमा परीक्षण गरेका २ हजार ७ सय ८८ जनाको प्रतिस्वाब ५ हजार ५ सयका दरले १ करोड ६७ लाख रुपैयाँ प्रतिष्ठानले माग गरेको छ । ‘अहिले स्वाब परीक्षणको प्रतिव्यक्ति ५ हजार ५ सयका दरले प्रतिष्ठानले रकम माग गरेको छ, उक्त रकम दिन सक्ने अवस्था छैन’, इन्चार्ज रेग्मीले भने– ‘तत्काल स्वाब परीक्षण गर्न समस्या भएपछि अहिले स्वाब संकलन गर्न छोडेका छौं ।’

प्रतिष्ठानले जिल्लाका दशवटै पालिकाहरुलाई पत्र काटेर हालसम्म गरिएको परीक्षणको रकम मागेको छ । तर पालिकाहरुले दिन नसक्ने जनाएका छन् । केही पालिकाले स्वाब संकलन रोकेका छन् भने कुनै पालिकाले स्वाब संकलन गरेर जिल्लाबाहिर नेपालगञ्ज वा भैरहवा पठाउन थालेका छन् ।

प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले हस्ताक्षर गरेको पत्रमा अस्पतालमा नियमित परीक्षण गर्न आउने बिरामी घटेकाले अस्पतालको आम्दानी पनि घटेको, तर खर्च बढेको भन्दै हालसम्म गरिएका परीक्षणको एकमुष्ठ शोधभर्ना माग गरिएको हो । लमहीनगरपालिकालाई पठाइएको पत्रमा सोही अवधिसम्म ४ सय ७१ नमुना परीक्षण गरिएको भन्दै २५ लाख ९० हजार ५ सय रुपैयाँ प्रतिष्ठानले मागेको छ ।

प्रतिष्ठानले हालसम्म गरिएको परीक्षणको शोधभर्ना नभएसम्म नयाँ नमुना नलिने भनेपछि पालिकाहरुले नेपालगञ्ज, भैरहवालगायतका स्थानमा स्वाबका नमुना परीक्षण गर्न पठाउन थालेका छन् । केन्द्र र प्रदेश सरकारको पहलमा पिसिआर मेसिन राखेर प्रतिष्ठानमा कोरोनाको परीक्षण हुँदै आएको थियो ।

स्वाब परीक्षणको चाप बढेपछि केही दिन पहिले प्रतिष्ठानले अर्को पिसिआर मेसिन पनि राखेर स्वाब परीक्षण गर्दै आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्वाव प्रतिष्ठानले लिन नमानेपछि तुलसीपुर उपमहानगरपालिकाको १ सय ७९, बबई गाउँपालिकाको ५३ र शान्तिनगर गाउँपालिकाको ३६ नमुना पिसिआर जाँचको लागि तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्समा राखेर भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ । त्यसैगरी गढवा गाउँपालिकाले ३१ र राप्ती गाउँपालिकाले ३३ जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाएका छन् ।