रैथाने बालीप्रति कृषकको आकर्षण

  •   
  •  

अमरराज आचार्य
दाङ, २१ असार । जिल्लामा लोपोन्मुख स्थानीय बालीप्रति आकर्षण बढ्दै गएको छ । परम्परागतरुपमा खेती गरिँदै आएका बालीहरुप्रति पछिल्लो समयमा आकर्षण बढेको कृषिका अगुवाहरु बताउँछन् ।

घोराही उपमहानगरपालिका वडा नं. २ मा रहेको जैविक विविधता कृषि सहकारी संस्थाले लिवर्ड संस्थाको सहयोगमा वि.सं. २०६४ सालदेखि यस क्षेत्रमा स्थानीय जात संकलन गर्ने र संरक्षण गर्दै आएको छ ।

त्यसका लागि जिल्ला भरबाट उक्त स्थान छनोट गरिएको जैविक विविधता कृषि सहकारी संस्थामा संस्थापक अध्यक्ष राममणि पाण्डेलले जानकारी दिए । जिल्लाको धेरै स्थानको अध्ययनपछि उपयुक्त स्थानको रुपमा रामपुरलाई छनोट गरेको उनको भनाइ छ । रामपुर भौगोलिक विविधता भएको क्षेत्र रहेको पनि उनले बताए ।

सो स्थान तराईदेखि पहाडी क्षेत्रसम्म रहेको छ । लिवर्ड संस्थाले करिब ६ वर्ष यस कार्यका लागि सहयोग गरेको स्थानीयले बताएका छन् । यसरी लोपोन्मुख स्थानीय बाली संरक्षण र यसका बारेमा जानकारी लिएपछि स्थानीयको यसतर्फ आकर्षण बढेको संस्थापक अध्यक्ष पाण्डले बताए

। ‘संस्थाले स्थानीय जातको महत्वबारे जानकारी दिएपछि अहिले स्थानीय लोपोन्मुख जातप्रति आकर्षण बढेको हो’, संस्थापक अध्यक्ष पाण्डेले भने– ‘यसअघि स्थानीय जातलाई विश्वास नगर्नेहरु पनि विश्वास गरेर खेती गर्न थालेका छन् ।’ स्थानीयले स्थानीय जातको बालीको महत्व बुझेपछि अपनत्व समेत गरेको उनको उनले बताए । अहिले स्थानीयस्तरमा पाइने बाली संकलन गर्ने तथा संरक्षण गर्ने काम भइरहेको पाण्डेले बताए ।

यसैगरेर स्थानीय बाली उत्पादन गरेर बजारसम्म पु¥याउने गरेको पाण्डे बताउँछन् । संस्थाले दाङ जिल्ला तिल्की धानको लागि प्रख्यात रहेको भन्दै यसको संरक्षणसँगै विस्तार पनि गर्न थालेको जनाएको छ ।

संस्थाले तिल्कीका विभिन्न जातहरुलाई मिलाएर एउटा बनाउने काम गरेको अध्यक्ष पाण्डेले बताए । पछिल्लो समयमा तिल्की धान लगाउनेहरुको संख्यामा पनि बृद्धि भएको छ । उत्पादन गरिएको धानको बीउ बजारसम्म पठाइने गरेको छ । ‘दाङ तिल्कीको लागि पूर्वदेखि पश्चिमसम्म परिचित छ’, अध्यक्ष पाण्डेले भने– ‘यसको पहिचान जोगाइराख्न हामी लागिपरेका छौँ ।’

रामपुर जिल्लामा पाइने लोपोन्मुख बालीहरुको संरक्षण हुँदै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत भरत पोख्रेलले बताए । ‘पुराना–पुराना बालीहरुको संरक्षण गर्ने काम भएको छ’, पोख्रेलले भने– ‘धान, गहुँ, मकै, तोरी तथा तरकारीका बाली संरक्षण गरिँदै आएको छ ।’ दाङमा पहिलेदेखि हालसम्म पाइने अधिकांश बालीको संरक्षण गर्ने काम भएको समेत उनले बताए । कृषिकलाई आवश्यक परेमा बीउसमेत संस्थाले उपलब्ध गराउने गरेको छ ।