महिला ‘इम्पावरमेण्ट’

विपुल पोख्रेल

नेपालमा चलिरहेको साउथ एसिएन गेम्स् (साग)मा नेपाली चेली अञ्जली चन्दले अचम्मको रेकर्ड बनाइन् । क्रिकेट खेलमा १३ बलमा एक रन पनि नखर्चेर ६ विकेट हासिल गरिन् । विभिन्न रेकर्डहरु खेलका क्रममा निर्माण हुनु स्वाभाविक भए तापनि यो रेकर्ड आफैमा आश्चर्यजनक पनि छ । यो रेकर्ड तोडिएला भनेर हतपत् मान्न पनि सकिँदैन ।

थुप्रै चेलीहरुले यो सागमा आफ्नो लोभलाग्दो प्रस्तुती देखाउँदै छन् । नेपालका लागि गोल्डमेडल र अन्य मेडलहरुको चाङ लगाइराखेका छन् । यता घोराहीको गणतन्त्र चोकमा केही बहिनीहरु मिलेर चिया पसल सञ्चालन गरेका छन् । ५० भन्दा थेरै स्वादका चिया पिलाउन सक्ने दाबी उनीहरुको छ ।

दाङमा महिलाहरुले चलाएका सहकारीहरु व्यवस्थित देखिन्छन् । महिला प्रधानाध्यापक भएका विद्यालयहरुले तुलनात्मक रुपमा बढी फड्को मारेका छन् । महिला ‘इम्पाओरमेण्ट’को रुपमा यी सन्दर्भहरुलाई लिन सकिन्छ । अवसर पाएमा महिलाले राष्ट्रकै नेतृत्व गर्न सक्छन् भन्ने पनि देखिएको छ । राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश एकै पटक महिला भएर पनि देश चलाएका हुन् । न्यायालयहरुमा हाइप्रोफाइलहरुको मुद्दाको संख्या बढ्दै जाँदा ‘सुशीला कार्की यो बेला प्रधानन्यायाधीश भएको भए हुने’ भन्ने प्रतिक्रिया नागरिकस्तरबाट आइरहेका पनि छन् ।

संसद्मा पनि महिलाको संख्या उल्लेख्य गराएको छ, हाम्रो संविधानले । संवैधानिक अधिकार पनि दक्षिण एसियाली देशहरुमा नेपाली महिलाहरुलाई विशेष रुपमा उपलब्ध छ । अधिकारको उपयोग गर्दै अगाडि बढ्ने संस्कृतिको पनि विकास भएको छ ।

नेपालको सन्दर्भमा महिला ‘इम्पाओरमेण्ट’ सन्तोषजनक रुपमा भइरहेको मान्न सकिन्छ । यो भनेर समस्याहरुलाई नजरअन्दाज गर्न खोजिएको भने हैन । क्रमशः ‘इम्पाओरमेण्ट’को दिशामा हाम्रो समाजले योगदान पु¥याइरहेको पनि छ । भर्खरै सम्पन्न चुनावमा बिमला वलीले यहाँबाट चुनाव जितिन् । चुनाव जित्नुका पछाडि धेरै कारणहरु होलान्, तर महिलालाई पनि के भोट दिनु ? भन्ने सोच समाजबाट पूर्णरुपमा खारेज भएको सन्देश पनि त्यो नतिजा हो ।

२० दिन पहिला होला । म माइक्रोबाट आउँदै थिएँ, काठमाडौंदेखि । लमहीमा दुईजना महिलाहरु गाडीमा चढे । म बसेको सिटपछि बसे उनीहरु । अधबैंसे थिए दुबै । उनीहरु आफ्ना गफमा मस्त थिए । ‘नेतृत्व पुरानै राख्नुपर्छ भन्ने भयो यो पालि पनि’ एउटीले भनेको सुनियो । गाडि नचढ्दै देखिको उनीहरुको गफको निरन्तरता थियो यो ।

‘तर, सबै पुरानै त राम्रो हैन, यसरी अरुले अवसर पाउँदैनन्’–अर्कीले भनिन् । ‘सहसचिव र कोषाध्यक्ष त पहिलेका सदस्यहरुबाट बनाउने कुरा भाछ, सदस्यमा नयाँ आउँछन् अब ।’ ‘त्यसो भए त ठीक छ, नयाँलाई एकै पटक पदाधिकारीमा ल्याउँदा काम गर्न नसक्लान, सदस्य भएर सिक्छन्, अर्को पालि माथि आउलान्, त्यही भएर पदाधिकारीमा नल्याएको । फेरि एकै पटक बाहिरबाट ल्याएर पदाधिकारी बनाउँदा अहिले काम गरिरहेकाहरुले नराम्रो मान्न सक्लान ।’

ती महिलाहरुबीच यसप्रकारको सम्वाद जारी रह्यो । मैले खुबै ध्यान दिएर सुने । बबई तरेपछि एकजना ओर्लिइन्, बर्गदुवामा अर्की । मलाई त्यो सम्वादले निकै छोयो । सामाजिक गतिविधिहरुमा महिलाहरुको सहभागिता र चासो ह्वात्तै बढेको महशुस भयो ।

आइमाईका जस्ता गफ भन्ने गरिन्थ्यो । अर्काका कुरा काट्ने, लगाउने खाने कुरामात्र गर्ने, फजुल कुराले दिन बिताइदिने भनेर महिलाहरुका कुरालाई उडाइन्थ्यो । लाग्यो, अब आइमाईका जस्ता गफ भन्ने कुरा हराउँदै गएछ । सामाजिक सुझबुझ र सामाजिक गतिविधिमा महिलाहरु पनि बराबर सहभागी हुन थालेका छन् । उपयुक्त अवसर र वातावरण बन्न सकेमा सबै क्षेत्रमा महिला ‘इम्पाओरमेण्ट’ले अझै गति पकड्ने छ ।

एउटा सोच पनि छ, महिला आन्दोलनमा । आफ्नो उपस्थिति नहुँदा र आफूलाई अवसर नआउञ्जेल केही भएको छैन भन्दै कोकोहोलो गर्ने र अवसर आउनासाथ सबकुछ भयो भन्ने सोच निकै घातक छ । अब महिलासहितको सहभागितामा हरघरमा सामान्य निर्णयहरु हुने संस्कृतिको विकास हुँदैछ । यही संस्कृतिको जगमा नै महिला ‘इम्पाओरमेण्ट’को टावर ठडिने हो । अहिले हामी त्यस्तै टावर ठड्याउने बाटोमा हिडेका छौं भन्ने भान हुन पुगेको छ, माथिका केही दृष्टान्तहरुका आधारमा ।

महिला र पुरुषको सहकार्य नै समाज विकासको एकमात्र सुरक्षित यात्रा हुनसक्छ । त्यसका लागि महिला ‘इम्पाओरमेण्ट’लाई बढावा दिँदै सहकार्यको हात फैलाउन सबै उदार र तयार हुन आवश्यक छ ।