Goraksha

National Daily

टिमुरको उत्पादन बढाउन ‘टिमुर बर्ष’ कार्यक्रम सुरु

हेमराज शर्मा

दाङ । दाङमा टिमुरको उत्पादन बढाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले ‘टिमुर बर्ष’ कार्यक्रम सुरु गरिएको छ । जिल्लाको उत्तरतर्फ रहेको पहाडी क्षेत्रमा टिमुर बढाउँदै स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले टिमुर र सुगन्ध कोकिला (मालागेडी) रोप्ने कार्यक्रम शुरु गरिएको छ ।

डिभिजन वन कार्याल दाङले चालु आर्थिक बर्षलाई ‘टिमुर बर्ष’ कार्यक्रम शुरु गरेको जनाएको छ । यो कार्यक्रम अन्र्तगत दाङ उपत्यकाको उत्तर पहाडी क्षेत्रमा एक लाख टिमुरका बिरुवा उत्पादन रोपिने भएको छ । मसलाका रुपमा प्रयोग गरिने टिमुर बहुबर्षे जडिवुटी भएको र यसको बजार मूल्य समेत राम्रो हुने भएकाले दाङमा टिमुरको व्यवसायीक खेती बढाउन थालिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन ।
टिमुर रोप्ने कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुलसीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरमा बिरुवा उत्पादन शुरु गरिएको समेत प्रमुख ज्ञवालीले जानकारी दिएका छन ।

तीन वटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा उत्पादन समेत शुरु गरिएको छ । ‘दुवै बहुबर्षीय, बहुउपयोगी जडिवुटी हुन’, डिभिजन वन कार्यालयका प्रमुख ज्ञवालीले भने,‘ केहि बर्षमै हामी दाङको उत्तरी भेगमा ५ लाख टिमुरका बिरुवा पु¥याउने लक्ष्य रहेको छ’, प्रमुख ज्ञवालीले भने,‘त्यही अनुसार यो बर्षलाई टिमुर बर्ष घोषणा गरेर अभियान सुरु गरिएको हो ।’

बिस्तृत अध्ययनपछि टिमुर रोपन कार्यक्रम ल्याइएको डिभिजन वन कार्यालयले जनाएको छ । बिरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा टिमुर रोपिने भएको छ ।

टिमुरका बिरुवा उत्पादन, ढुवानी र रोपनसम्म प्रतिवटा बिरुवाका लागि १८ रुपैया छुट्टाइएको छ । किसानले ठूलो मात्रामा उत्पादन गर्ने टिमुर र मालागेडीको बजार खोज्ने, उचित मूल्य कायम गर्ने र बजारीकरणमा डिभिजन वन कार्यालयले सहजीकरण गर्ने गरी योजना कार्यालयले जनाएको छ ।

दाङ उत्तर भागमा पर्ने बंगलाचुली गाउँपालिका, घोराही र तुल्सीपुर उपमहानगरपालिकाका उत्तरी गाउँमा अहिले पनि किसानले आफ्नो व्यक्तिगत जमिन र वनमा प्राकृतिक रुपमै टिमुर उत्पादन गर्दै आएका छन । माथिल्लो क्षेत्रलाई टिमुरको पकेट क्षेत्र बनाई दिर्घकालिन स्वरोजगारी उत्पादनका लागि काम थालिएको डिभिजन वन कार्यालयको भनाई छ ।