उस्तै अबस्थामा आज फेरि स्थायी समिति बस्दै

  •   
  •  

गोरक्ष समाचारदाता
काठमाडौं, १९ असार । शनिबारसम्मका लागि आफ्नो स्थायी समितिको चालु बैठक स्थगित गरेको सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचमा शनिबार छलफल भएको छ । छलफले कुनै ठोस मार्ग पहिल्याउन भने सकेको छैन ।

‘नेताहरूले मन माझामाझ गर्नुभयो, अत्यन्त अनौपचारिक र खुलस्त कुरा गर्नुभयो’, बैठकमा सहभागी नेकपाका नेता बिष्णु पौडेलले सञ्चारमाध्यमसँग कुरा गर्दै भने– ‘अर्को बसाई भयो भने अझ सहज हुन्छ ।’ पौडेलले यस्तो प्रतिक्रिया दिए पनि शनिबारको बैठकलाई कसरी अगाडि लैजाने भन्ने बिषयमा भने दुई अध्यक्षका बीचमा सहमति बन्न सकेन । नेताहरू आ–आफ्नै अडानमा रहेका छन् । ‘राजीनामाको माग फिर्ता हुने सम्भावना पनि देखिन्न, राजीनामा दिन छाँटकाट पनि देखिन्न’, नेकपाका एक स्थायी कमिटी सदस्यले गोरक्षसँग कुरा गर्दै भने– ‘अनौपचारिक संवादहरूले सहमतिको मार्ग खोज्न मद्दत त गर्छन् तर शनिबाको बैठकभन्दा अगाडि यस्तो सम्भावना भने देखिँदैन ।’

प्रचण्ड–माधब समूहमा विकल्प खोज्ने र प्राथमिकता निर्धारण गर्ने विषयमा छलफल नहुँदासम्म वर्तमान संकटको निकास सम्भव नहुने उनले बताए । ‘ओलीले सडकमा समर्थनको प्रदर्शन गराउने, अर्को पक्ष विकल्पहरू खोज्नका लागि तयार नै नहुने अबस्थामा बस्ने शनिबारको बैठक पनि अघिल्ला बैठकहरूकै पुनावृत्ति मात्र हुनेछ ।’

संसदको बैठक अन्त्य गरेर अध्यादेशमार्फत दल विभाजनका लागि सहज हुने गरी अध्यादेश आउँछ कि भन्ने आशंका र आफूले राजीनामा माग्दा ‘भारतले मलाई हटाउन खोज्यो’ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अर्का अध्यक्ष बिक्षिप्तझैँ देखिएको पनि स्रोतले बतायो । ‘यी दुई सन्दर्भमा प्रचण्डले निकै पीडा अनुभूति गरिरहनु भएको छ’, ती केन्द्रीय सदस्यले भने– ‘अध्यादेश आउँदैन भनेर प्रधानमन्त्री र राष्ट्रपतिले भन्दा पनि उहाँ आश्वस्त भैसक्नु भएको देखिँदैन ।’

पार्टी एकताका लागि धर्ना
यसैबीच पार्टीभित्र विवाद चुलिँदै गएको र विभाजनसम्मको खतरा आँकलन गरिरहेको समयमा पार्टीका केन्द्रीय सदस्यहरूसहितका नेता कार्यकर्ताहरूले एकता प्रक्रियालाई जोगाउन दबाव दिन भन्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सत्याग्रह शुरु गरेका छन् । शुक्रबार दिउँसो १ बजेबाट शुरु भएको सत्याग्रह ४ बजे समापन गरिएको थियो । उनीहरूले पार्टी नीतिअनुसार चल्नुपर्छ नेतृत्वबाट होइन, पार्टीको सामूहिक निर्णयअनुसार अगाडि बढ्नुपर्छ, पार्टीको एकतालाई थप सुदृढ बनाउनुपर्छ भन्दै सत्याग्रह शुरु गरेका हुन् । शुक्रबारको सत्याग्रहमा केन्द्रीय सदस्यहरु प्रेमलकुमार खनाल, ठाकुर गैरे, रामकुमारी झाँक्री, जनक खतिवडा, रविन कोइराला, हिमाल शर्मा, दिलकुमारी पन्तलगायतका नेताहरुको सहभागिता रहेको थियो । उनीहरूले पार्टीभित्रको विवाद समाधान नभएसम्म आफूहरूको सत्याग्रह निरन्तर हुने समेत बताएका छन् ।