कृषकलाई धान रोप्न चटारो

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, १९ असार । जिल्लाका किसानहरुलाई धान रोप्न चटारो परेको छ । यसपालि जेठको पहिलो सातादेखि नै मौसमले साथ दिएर पानी परेपछि दाङका किसानले समय मै धानको व्याड राखेर असारको पहिलो सातादेखि नै धान रोपाइँ शुरु गरेका छन् । मनसुन शुरु भएसँगै आकाशे खेती गर्नेहरूदेखि कुलोबाट सिचाई हुने किसानलाई अहिले धान खेतीको चटारो छ ।

विगतका वर्षमा वर्षाको अभावमा समयमा रोपाइँ गर्न नपाउने किसानले यसपालि वर्षाले साथ दिएपछि आफ्नो सबै काम छोडेर धानखेतीमै समय दिन थालेका छन् । बिहानदेखि साँझसम्म खेतमै किसानहरुले रोपाइँका साथै अन्य काम गर्ने गरेका छन् । ‘खेतमा धान रोपाइँको चटारोमा सबै किसानहरु छन्’, किसान सुहन चौधरीले भने । गत बर्ष साउन पहिलो सातामा रोपाइँ गरेका चौधरीले यस बर्ष भने असारभित्र नै खेती सकिने बताउँछन् । त्यस्तै अर्का किसान कमला वलीले पनि दैनिक पानी परेका कारण दिनभर खेतमा बिताउने गरेको बताउँछिन् । उनले गत बर्ष साउनमा खेती सके पनि यस बर्ष भने असारभित्र नै खेती सकिने भन्दै खुसी व्यक्त गरिन् । ‘यस बर्ष समयमै बर्षात भएका कारण खेती समयमै सकिने देखिएको छ, तर सलह किरा आएकाले लगाएको खेती भने भित्र्याउन दिँदैन कि भन्ने चिन्ता छ’, वलीले भनिन् ।

जिल्लामा सिचाई हुने खेतमा समयमै धान खेती हुने गरे पनि आकाशे खेतीका लागि भने किसानहरुले समयमै धान रोप्न नसक्ने अवस्था थियो । तर यस बर्ष भने गरा–गरामा आकासको पानी बाँधेर रोपाइँ सकेका छन् । बिहान पानी प¥यो भने दिउँसो खेत बनाएर रोपाइँ साँझसम्म गर्ने गरेका छौं’, किसान धनबहादुर पुनले भने । कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसारक अधिकृत भरत पोख्रेलले जिल्लामा ६० प्रतिशत रोपाइँ सकिएको बताएका छन् । ‘जिल्लामा देउखुरीमा रोपाइँ सकिएको छ, अन्य क्षेत्रमा पनि ५० देखि ६० प्रतिशत रोपाइँ सकिएको जानकारी आएको छ’, उनले भने । साधारणतया असारको पहिलो सातादेखि रोपाइँ शुरु हुने यस क्षेत्रमा समयमै पानी परेका कारण धेरैले खेती सकेका छन् ।

जिल्लाको लमही क्षेत्रमा किसान सबैले धान रोपिसकेका छन् भने घोराही, तुलसीपुरमा रोपाइँ धमाधम भइरहेको उनले जानकारी दिए । गत साल ३५ हजार हेक्टरमा धान खेती गरिएकोमा यो बर्ष खेती बढेकाले ३८ हजार हेक्टरमा धान खेती हुने प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यस बर्ष खेती बढेका कारण उत्पादन पनि बढने अनुमान गरिए पनि सलहले केही भागमा क्षति गरेको उनको भनाइ छ । करिब २० प्रतिशत सलहले खेतीमा क्षति पु¥याएको अनुमान गरिएको पोख्रेलले बताए ।

तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको संम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, ५, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो । ‘शुक्रबार अपरान्हपछि देशको धेरैजसो स्थानमा मनसुनी बादल विकसित भई हल्कादेखि मध्यम वर्षा हुनेछ, मौसमविद् नगरकोटीले बताए । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, प्रदेश ५, बाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.० डिग्री र अधिकतम् तापक्रम ३१.० डिग्री सेल्सियस रहेको छ ।