कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, आजमात्रै ७ सय ४० थपिए

  •   
  •  

दाङ, १९ असार । नेपालमा अहिलेसम्मै सबैभन्दा धेरै कोरोना संक्रमित शुक्रवार थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ सय ४० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

नेपालमा यसअघिसम्म उच्च एक दिनमा ६ सय ७१ कोरोना संक्रमित देखिएका थिए । कुल कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार १४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

दाङमा थप ८ जनामा कोरोना पुष्टि

दाङमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितहरु लमही नगरपालिका ६ जना र राजपुर गाउँपालिका २ जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमितहरुमध्ये ४ जना महिला र ४ जना पुरुषहरु रहेका छन् । पछिल्लो २४ घण्टामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जनाको स्वाव परिक्षण गरिएको प्रतिष्ठानका शाखा अधिकृत आचार्यले जानकारी दिएका छन् ।