अपाङ्गहरुलाई सहकारीको सहयोग
दाङ, १९ असार । घोराहीमा रहेको हाम्रो नोवेल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गहरुका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ ।
सहकारी संस्थाको १२औं स्थापना दिवसका अवसरमा अपाङ्ग संघलाई २५ किलो चामल, ५ किलो दाल, ५ लिटर तेल, ५ किलो नून, ५ किलो चिनी, एक प्याकेट चियापत्ती, ढाई केजी च्युरा, ५ केजी आलु, ३ दर्जन केरा र एक प्याकेट भुजा प्रदान गरिएको थियो ।
कोरोना संक्रमणका कारण सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था रहेकाले औपचारिक कार्यक्रम आयोजना नगरी अपाङ्गहरुका लागि सामग्री प्रदान गरिएको हाम्रो नोवेलका अध्यक्ष सुष्मा रेग्मीले जानकारी दिइन् । सञ्चालक समिति र कर्मचारीहरुसमेतको टोली अपाङ्ग संघमा पुगेर ती सामग्री हस्तान्तरण गरिएको थियो ।
नेपाल अपाङ्ग संघका अध्यक्ष शरद अधिकारीले सामग्री बुझ्दै अपाङ्ग संघमा रहेका अपाङ्गता भएकाहरुका लागि सहयोगको खाँचो रहेको बताए । हाल अपाङ्ग संघमा ८ जना अपाङ्ग आवासीयरुपमा बसिरहेका छन् ।
खाद्यान्न सामग्री हस्तान्तरण गर्दै अध्यक्ष रेग्मीले स्थापना दिवसमा औपचारिक कार्यक्रम गर्नुभन्दा सामाजिक सेवा गर्नुपर्छ भनेर अपाङ्गता भएकाहरुलाई सहयोग गरिएको बताइन् । उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन् । सामग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन सचिव बसन्त केसीले गरेका थिए ।
