Goraksha

National Daily

नमुना युवा संसदद्धारा विद्यालयमा वृक्षारोपन

दीप्तिशिखा चौधरी
दंगीशरण, १९ असार । नमुना युवा सांसद दंगीशरण गाउँपालिकाले शुक्रबार वडा न. ६ स्थित सिद्ध पृथ्वी जनता माविको प्राङ्गणमा वृक्षारोपन गरेको छ ।

वृक्षारोपन कार्यक्रममा प्रदेशसभा सदस्य विमला वली र गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले वृक्षारोपन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रदेशसभा सदस्य वलीले युवा बेरोजगार कार्यक्रमका लागि प्रदेशबाट पहल गर्ने बताइन् । हरेक तहमा युवाको महत्वपूर्ण भूमिका रहने भन्दै सांसद वलीले विभिन्न युवामैत्री कार्यक्रमले मात्र सामाजिक कार्यमा टेवा पुग्ने बताइन् ।
गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले दंगीशरणको नयाँ कार्यको थालनी युवा सांसदले गरिरहेको भन्दै युवाले गरेको कार्यको पहिचानका लागि गत बर्षदेखि नै नमुना युवा सांसदलाई सहयोग गरिरहेको बताए ।

सामुदायिक विद्यालयलाई राम्रो बनाउन बगैँचा निर्माण कार्यका लागि मात्र २५ हजार रकम उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताउँदै शिक्षा क्षेत्रमा स्थानीय तहबाटै विद्यालय गुणस्तर कार्यक्रम अघि बढाएको बताए । शिक्षा शाखा प्रमुख विनोद अधिकारीले युवाहरुको सिर्जनशिलता रहेको यो कार्य एकदमै प्रभावकारी तरिकाले अगाडि बढिरहेको भन्दै यसलाई दिगोपन दिनका लागि ग्रेनरी स्कुल बनाउने अभियान लिएर अगाडि बढ्नुपर्ने बताए ।

त्यस अवसरमा विद्यालयका प्रअ हर्कबहादुर बुढाथोकीले नमुना युवा सांसदले गरेको वृक्षारोपन कार्यक्रम विद्यालयका लागि उपयुक्त कार्य भएको भन्दै यसको संरक्षणमा लाग्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का दाङका अध्यक्ष सुरेशकुमार रावत, नमुना युवा सांसद दंगीशरणका चक्रमिलन विकलगायत नमुना युवा सांसदका सत्तापक्ष र प्रतिपक्षका सांसदहरुको सहभागिता रहेको रहेको थियो । सो अवसरमा विभिन्न २५ प्रजातिका फलफूलका विरुवा रोपिएको थियो । प्रतिपक्षका अंकीत आचार्यले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रविन योगीले गरेका थिए ।