Goraksha

National Daily

बबई गाउँपालिकाको अनुगमन

दाङ, १९ असार । जिल्ला समन्वय समिति दाङले बबई गाउँपालिकाले कोरोना भाइरस उपचार रोकथाम तथा नियन्त्रण बारे गरेका कामहरुको बारेमा अनुगमन गरेको छ ।

बबई गाउँपालिकाले सञ्चालन गरेका क्वारेन्टाइनहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रदेश सभा सदस्य दामा शर्माले कोरोना नियन्त्रणमा पालिकाहरुले गरेको कामको प्रशंसा गरेकी थिइन् ।

उनले पछिल्लो समय बाहिरबाट आउने मानिसहरुको संख्या घटेकाले क्वारेन्टाइनको संख्या घटाउन समेत सुझाव दिएकी थिइन् । शर्माले कोभिड–१९ नियन्त्रणमा पालिकाले गरेको सम्पूर्ण खर्च केन्द्रीय सरकारले व्यहोर्ने बताउँदै कोरोना भाइरस ९८ प्रतिशत बाहिरबाट आएकाहरुमा फैलिएको र समुदायमा जोखिम कम भएको बताएकी थिइन् ।

त्यस अवसरमा प्रदेश सभा सदस्य अर्जुकुमार श्रेष्ठ र विमला बलीले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानले स्वाव परीक्षण गरेको रकम माग विषयमा आफूहरुले पहल गर्ने बताएका थिए । अनुगमनपछि भएको छलफलमा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका बारेमा गाउँपालिकाले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

उनले दाङमा अन्य पालिकाहरुमाभन्दा बबई गाउँपालिकामा कोरोना रोकथामका लागि खर्च कम भएको बताएका थिए । गाउँपालिकाले आफ्नो लगानीमा भिटिएम खरिद गर्दा पनि खर्च कम भएको जानकारी गराए ।

उनका अनुसार बबई गाउँपालिकामा २१ लाखको राहत वितरण गरेको छ । साथै अध्यक्ष पौडेलले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानले स्वाव परीक्षण गर्दा रकम माग्ने गरेको बताउँदै प्रदेश सरकारले उपलब्ध गराएको मेसीन हो भने पालिकाहरुलाई दिएमा त्यसको व्यवस्थापन दाङका सबै पालिकाले मिलेर गर्ने बताएका थिए ।

अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, बबई गाउँपालिका वडा नं. ५ का अध्यक्ष डम्मरबहादुर श्रीस, बबई गाउँपालिका शिक्षा अधिकृत मोहनलाल दाहाल, बबई कोरोना फोकल पर्शन शरदराज गिरी, इलाका प्रहरी कार्यलय हापुरेका प्रहरी नायव निरीक्षक देवराज वली, पत्रकार देवी भण्डारीलगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा गाउँपालिकालाई सर्जिकल माक्स, सेनिटाइजर प्रदान गरिएको थियो ।